
काठमाडौं : नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) की प्रबन्ध निर्देशक पदमा संगीता पहाडी अर्याल पुनर्वहाली भएकी छन् । आफूमाथि लागेको आरोपमा विशेष अदालतबाट पूर्ण रूपमा सफाइ पाएपछि उनी पुनः आफ्नो जिम्मेवारीमा फर्किएकी हुन् ।
विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्कापट्टामा भ्रष्टाचार नभएकोभन्दै प्रबन्ध निर्देशक संगीता पहाडीलगायत सबैलाई सफाइ दिएको थियो ।
अदालतले सफाइ दिएपछि सूचना तथा सञ्चार मन्त्रालयको २०८३ असार २६ गतेको मन्त्रीस्तरीय निर्णयले उनको निलम्बन फुकुवा भएको थियो ।
पदबहालीका क्रममा आयोजित कार्यक्रममा कर्मचारीहरूलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक अर्यालले संस्था र देशको हितमा निष्ठापूर्वक काम गर्न कसैसँग डराउनु नपर्ने बताइन् । विगतमा कर्मचारीहरूमाथि लागेको आरोप र भ्रमको बादल हटेर अन्ततः सत्य स्थापित भएको उनको भनाइ थियो ।
आफ्नो अनुपस्थितिमा संस्थालाई कुशल नेतृत्व र सहयोग प्रदान गर्ने सम्पूर्ण टिमलाई धन्यवाद दिँदै उनले आगामी दिनमा कम्पनीमा प्रक्रियागत सुधारको आवश्यकता औंल्याइन् । उनले आन्तरिक मात्र नभई बाह्य दृष्टिकोणलाई समेत ध्यानमा राखेर कार्य गरिने प्रतिबद्धता व्यक्त गरिन् ।