२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

राष्ट्रिय व्यवसायी महासंघको आह्वान : समृद्ध नेपालका लागि सबै मिलौं, सबै जुटौं

Nada
२०८३ असार ३१ गते १४:५५
Shares
राष्ट्रिय व्यवसायी महासंघको आह्वान : समृद्ध नेपालका लागि सबै मिलौं, सबै जुटौं

काठमाडौं : नेपाल राष्ट्रिय व्यवसायी महासंघले मुलुक आर्थिक समृद्धिको महत्वपूर्ण अवसरमा रहेको उल्लेख गर्दै सरकार, राजनीतिक दल, निजी क्षेत्र तथा सम्पूर्ण नागरिकलाई राष्ट्रिय हितलाई केन्द्रमा राखेर एकताबद्ध हुन सार्वजनिक अपिल गरेको छ ।

ncell

महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठद्वारा जारी अपिलमा दुईतिहाइ बहुमतसहितको अपेक्षाकृत स्थायी सरकार बनेको वर्तमान अवस्थालाई देशलाई उत्पादन, लगानी, रोजगारी र विकासको नयाँ दिशातर्फ अघि बढाउने ऐतिहासिक अवसरका रूपमा उपयोग गर्नुपर्ने उल्लेख गरिएको छ ।

महासंघले उद्योग, व्यापार, कृषि, पर्यटन, सेवा तथा उत्पादनमूलक क्षेत्रलाई राष्ट्रको आर्थिक मेरुदण्डको संज्ञा दिँदै निजी क्षेत्र सबल नभएसम्म मुलुकको अर्थतन्त्र पनि सुदृढ हुन नसक्ने जनाएको छ । उद्योग–व्यवसाय विस्तार भए रोजगारी, उत्पादन, राजस्व र लगानी वृद्धि भई समग्र देशको समृद्धिमा टेवा पुग्ने महासंघको भनाइ छ ।

अपिलमा विगतका वर्षहरूमा विनाशकारी भूकम्प, नाकाबन्दी, कोभिड–१९ महामारी, राजनीतिक अस्थिरता, आन्दोलन, बन्द–हडताल, प्राकृतिक विपत्ति, आर्थिक मन्दी, उच्च ब्याजदर, बजारमा आएको संकुचन तथा नीतिगत अन्योलका कारण निजी क्षेत्रले गम्भीर संकट भोग्नुपरेको उल्लेख गरिएको छ । त्यसबाट हजारौं उद्योग–व्यवसाय प्रभावित भएको, लाखौं नागरिकले रोजगारी गुमाएको तथा विशेषगरी साना तथा मझौला उद्यमहरू सबैभन्दा बढी मारमा परेको महासंघले जनाएको छ ।

यस्तो अवस्थामा अब आरोप–प्रत्यारोप र विभाजनको राजनीतिभन्दा माथि उठेर राष्ट्र निर्माणमा सबै पक्षले साझा जिम्मेवारी निर्वाह गर्नुपर्नेमा महासंघले जोड दिएको छ ।

महासंघले सरकार, सत्तापक्ष, प्रतिपक्ष, निजी क्षेत्र, कर्मचारी संयन्त्र, विकास साझेदार, बुद्धिजीवी, सञ्चारमाध्यम, श्रमिक, युवा तथा सम्पूर्ण नेपालीलाई आर्थिक समृद्धिलाई साझा राष्ट्रिय अभियानका रूपमा अघि बढाउन आह्वान गरेको छ ।

अपिलमा सरकार र निजी क्षेत्रबीच विश्वास, सहकार्य र समन्वयलाई आर्थिक समृद्धिको सबैभन्दा बलियो आधारका रूपमा व्याख्या गर्दै सरकारले निजी क्षेत्रलाई विकासको साझेदारका रूपमा विश्वास गर्नुपर्ने र निजी क्षेत्रले पनि पारदर्शिता, उत्तरदायित्व तथा सामाजिक जिम्मेवारीलाई थप प्रभावकारी रूपमा आत्मसात् गर्नुपर्ने उल्लेख गरिएको छ ।

महासंघले नेपाललाई राजनीतिक विवादको केन्द्र होइन, उत्पादन, उद्यम, नवप्रवर्तन र अवसरको भूमि बनाउनुपर्नेमा जोड दिँदै युवालाई स्वदेशमै सम्मानजनक रोजगारी र उद्यमका अवसर सिर्जना गर्न, लगानी विस्तार गर्न तथा विकासलाई व्यवहारमा उतार्न सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औंल्याएको छ ।

अध्यक्ष श्रेष्ठले समृद्ध नेपाल कुनै एक दल, सरकार वा संस्थाको मात्र सपना नभई सम्पूर्ण नेपालीको साझा लक्ष्य भएको उल्लेख गर्दै व्यक्तिगत स्वार्थभन्दा राष्ट्रिय हितलाई प्राथमिकता दिन र आर्थिक समृद्धिलाई साझा राष्ट्रिय आन्दोलनका रूपमा अघि बढाउन सबै सरोकारवालासँग आग्रह गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर