
काठमाडौं : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्सले बहुप्रतीक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५को बुकिङ खुला गरेको छ भने आधिकारिक रूपमा सार्वजनिक हुनुअगावै ‘गेस एन्ड बुक द अल न्यु इ.मास ५ एट योर प्राइस’ नामक विशेष योजना सुरु गरेको छ ।
कम्पनीका अनुसार यस योजनाअन्तर्गत ग्राहकले नयाँ प्रोटोन इ.मास ५को आधिकारिक बजार मूल्य अनुमान गरी सोही मूल्यमा गाडी खरिद गर्न सक्ने मौका पाउनेछन् । कम्पनीले तोकेकै लन्च मूल्य वा लन्च मूल्यसँग सबैभन्दा नजिकको मूल्य अनुमान गर्ने ग्राहकले आफूले अनुमान गरेकै मूल्यमा सो गाडी किन्न सक्नेछन् ।
मूल्य अनुमानका लागि ‘इ.मास ५ प्राइम’ भेरियन्टको दायरा २९.९९ लाखदेखि ३४.९९ लाखसम्म तोकिएको छ भने ‘प्रिमियम’ भेरियन्टको दायरा ३४.९९ लाखदेखि ३९.९९ लाखसम्म निर्धारण गरिएको छ । कम्पनीले उल्लेख गरेअनुसार, यस योजनामा नियमपूर्वक सहभागी भएकामध्येबाट ‘लक्की ड्र’मार्फत प्रत्येक भेरियन्टबाट ५ जना भाग्यशाली विजेता चयन गरिनेछ । विजेताले यस योजनाका सर्त तथा नियमको अधीनमा रही आफूले अनुमान गरेकै मूल्यमा प्रोटोन इ.मास ५ खरिद गर्न पाउनेछन् ।
यसैबीच जगदम्बा मोटर्सले १ लाख बुकिङ रकम तोकेर प्रोटोन इ.मास ५को बुकिङ समेत खुला गरेको छ । ग्राहकले बैंक अथवा अनलाइनमार्फत भुक्तानी गरी, भुक्तानीको डकुमेन्ट सेल्स कन्सलटेन्टलाई बुझाइ आफ्नो बुकिङ प्रक्रिया पूरा गर्न सक्ने कम्पनीले जनाएको छ अथवा सोही साइटमा गएर भौचर अपलोड गरी बुक गर्न सक्नेछन् । सो साइटमा गएर बुकिङ गरेका ग्राहकको बुकिङलाई आधार मानेर लक्की ग्राहक छानिनेछन् ।
प्रोटोन र जिलीको सहकार्यमा विकास र उत्पादन गरिएको यो गाडीले हालसालै मलेसियाको ‘अलायान्ज डिएसएफ भिहेकल अफ द इअर अवाड्र्स’मा ‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इअर २०२६’को उपाधि हासिल गरेको थियो । कम्पनीका अनुसार इ.मास ५ नेपालमा यसको सेगमेन्टमै पहिलो ‘रियर–ह्विल–ड्राइभ’भएको इलेक्ट्रिक कम्प्याक्ट एसयुभी हुनेछ । यसमा प्रिमियम इलेक्ट्रिक ड्राइभिङ अनुभव प्रदान गर्न पाँचवटा प्रमुख विशेषता समावेश रहने कम्पनीले उल्लेख गरेको छ ।