
दोहा, कतार : नेपालका उपराष्ट्रपति रामसहाय प्रसाद यादवले बुधबार लुसैलस्थित लुसैल दरबारमा कतारका अमिर शेख तमीम बिन हमद अल थानीसँग शिष्टाचार भेट गरेका छन् ।
भेटका क्रममा उपराष्ट्रपति यादवले हालै निधन भएका फादर अमिर शेख हमद बिन खलिफा अल थानीप्रति नेपाल सरकार र नेपाली जनताका तर्फबाट गहिरो समवेदना तथा श्रद्धाञ्जली व्यक्त गरेका छन् । दोहास्थित नेपाली दूतावासका अनुसार उपराष्ट्रपति यादवले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गरेको समवेदना पत्र अमिर शेख तमीमलाई हस्तान्तरण गरेका छन् । उक्त पत्रमा फादर अमिरको निधनप्रति नेपाल सरकार र नेपाली जनताका तर्फबाट समवेदना व्यक्त गरिएको उल्लेख छ ।
भेटका क्रममा उपराष्ट्रपति यादवले फादर अमिरको दूरदर्शी नेतृत्वको प्रशंसा गर्दै उनको कार्यकालमा कतारले हासिल गरेको तीव्र विकास, समृद्धि र आधुनिकीकरणको चर्चा गरेको जनाइएको छ । उनले फादर अमिरको नेतृत्वमा नेपाल–कतार सम्बन्ध अझ सुदृढ र बहु आयामिक बनेको उल्लेख गरेका थिए । उपराष्ट्रपति यादवले हालै पश्चिम एसियामा उत्पन्न तनावपूर्ण अवस्थाका बेला कतार सरकारले नेपाली समुदायको सुरक्षा र हितका लागि खेलेको भूमिकाप्रति आभार व्यक्त गरेका थिए । उनले सन् २०२४ को अप्रिलमा कतारका अमिर शेख तमीमको नेपाल भ्रमण स्मरण गर्दै नेपालप्रति अमिरले देखाएकोको सद्भाव, मित्रता र सहयोगको भावनाको प्रशंसा गरेको दुतावासद्धारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

भेटमा अमिर शेख तमीमले नेपाल सरकार र नेपाली जनताप्रति धन्यवाद व्यक्त गर्दै शोकको यस घडीमा समवेदना सन्देश लिएर कतार आएकोमा उपराष्ट्रपति यादव तथा राष्ट्रपति रामचन्द्र पौडेलप्रति कृतज्ञता प्रकट गरेका थिए । अमिरले नेपाल र नेपाली जनताप्रति कतारको सद्भाव र ऐक्यबद्धता निरन्तर रहने विश्वास व्यक्त गरिएको दूतावासले जनाएको छ ।
भेटमा कतारका उप-अमिर शेख अब्दुल्लाह बिन हमद अल थानी, अमिरका व्यक्तिगत प्रतिनिधि शेख जासिम बिन हमद अल थानी, प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जासिम अल थानी, सुरा परिषद्का सभामुख हसन बिन अब्दुल्लाह अल घानिम, स्वर्गीय फादर अमिरका सुपुत्रहरू, शाही परिवारका सदस्यहरू तथा अन्य उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।
उपराष्ट्रपति यादवसँग उपराष्ट्रपतिको कार्यालय, परराष्ट्र मन्त्रालय तथा दोहास्थित नेपाली दूतावासका वरिष्ठ अधिकारीहरू पनि सहभागी थिए । उपराष्ट्रपति यादव बिहीबार काठमाडौं फर्किसकेका छन् ।