२०८३ कार्तिक ३ गते सोमवार / Oct 19 , 2026 , Monday
२०८३ कार्तिक ३ गते सोमवार

कतारस्थित नेपाली समुदायद्वारा स्व. फादर अमिर शेख हमदप्रति श्रद्धाञ्जली अर्पण

Nada
तिलु शर्मा पौडेल
२०८३ साउन १ गते १३:४४
Shares
कतारस्थित नेपाली समुदायद्वारा स्व. फादर अमिर शेख हमदप्रति श्रद्धाञ्जली अर्पण

दोहा : कतारस्थित नेपाली समुदायले गत आइतबार दिवंगत भएका कतारका पूर्व अमिर (फादर अमिर) शेख हमद बिन खलिफा अल थानीप्रति सामूहिक रूपमा श्रद्धाञ्जली अर्पण गरेको छ ।

ncell

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसिसी) कतारको आयोजनामा बिहीबार साँझ गोर्खाली रेस्टुरेन्टको सभा हलमा सम्पन्न श्रद्धाञ्जली सभाको अध्यक्षता एनआरएनए एनसिसी कतारका अध्यक्ष कृष्ण पन्थीले गरेका थिए । कार्यक्रममा नेपाली राजदूतावास, कतारका श्रम सहचारी प्रेम पोखरेल प्रमुख अतिथिका रूपमा सहभागी थिए ।

कार्यक्रम मौलाना गुलाम नबी रवजीद्वारा पवित्र कुरआन शरीफको तिलावत तथा स्वर्गीय फादर अमिरको सम्मानमा एक मिनेट मौन धारणपछि सुरु भएको थियो । कार्यक्रममा एनआरएनए एनसिसी कतारका सल्लाहकार प्रो. रमजान अलि मियाँले स्वर्गीय फादर अमिरको व्यक्तित्व, दूरदर्शी नेतृत्व तथा आधुनिक कतार निर्माणमा उनले पुर्‍याएको ऐतिहासिक योगदानबारे विस्तृत रूपमा प्रकाश पारे। उनले शेख हमदको नेतृत्व काललाई कतारको तीव्र आर्थिक विकास, संस्थागत सुदृढीकरण तथा अन्तर्राष्ट्रिय पहिचान विस्तारको स्वर्णिम चरणका रूपमा व्याख्या गरे ।

मियाँले स्वर्गीय फादर अमिरकै नेतृत्वमा कतारले प्राकृतिक ग्यास स्रोतको प्रभावकारी उपयोगमार्फत विश्वकै अग्रणी एलएनजी निर्यातकर्ता राष्ट्रका रूपमा आफ्नो पहिचान स्थापित गरेको उल्लेख गरे । शिक्षा, स्वास्थ्य, अनुसन्धान, प्रविधि, सञ्चार, पूर्वाधार तथा खेलकुद क्षेत्रमा उल्लेखनीय प्रगति हुनुका साथै कतार फाउन्डेसन, एजुकेसन सिटी, कतार इन्भेस्टमेन्ट अथोरिटीको स्थापना, अल जजिराको अन्तर्राष्ट्रिय विस्तार, कतार एयरवेजको विश्वव्यापी विकास तथा आधुनिक पूर्वाधार निर्माण उहाँका दूरदर्शी नेतृत्वका महत्त्वपूर्ण उपलब्धि रहेको उनले बताए ।

उनले शेख हमदको नेतृत्वमा कतारले अन्तर्राष्ट्रिय कूटनीति, शान्ति वार्ता तथा मध्यस्थतामा प्रभावशाली भूमिका निर्वाह गर्दै विश्व समुदायमा आफ्नो प्रभाव विस्तार गरेको उल्लेख गरे । सन् २०२२ को फिफा विश्वकप आयोजना गर्ने अधिकार प्राप्त गर्नु कतारको विश्वव्यापी प्रतिष्ठा अभिवृद्धिको महत्त्वपूर्ण उपलब्धि भएको उनको भनाइ थियो । नेपाल–कतार सम्बन्धलाई थप मजबुत बनाउन पनि उनको योगदान उल्लेखनीय रहेको बताउँदै मियाँले उनकै कार्यकालमा नेपाली श्रमिकका लागि रोजगारीका अवसर विस्तार भएको र द्विपक्षीय सम्बन्ध थप सुदृढ बनेको स्मरण गरे । सन् २०१३ मा शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्दै वर्तमान अमिर शेख तमिम बिन हमद अल थानीलाई नेतृत्व सुम्पिएका स्वर्गीय शेख हमदको विरासत आधुनिक राष्ट्र निर्माण, संस्थागत विकास तथा दीर्घकालीन विकास योजनाका कारण सधैं स्मरणीय रहने उनले बताए ।

श्रद्धाञ्जली सभामा कतारमा क्रियाशील विभिन्न नेपाली संघ–संस्थाका अध्यक्ष, पदाधिकारी तथा प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो । वक्ताहरूले स्वर्गीय फादर अमिरको दूरदर्शी नेतृत्वकै कारण कतार आज समृद्ध, विकसित तथा विश्व मञ्चमा सम्मानित राष्ट्रका रूपमा स्थापित भएको उल्लेख गर्दै नेपाली श्रमिक तथा नेपाली समुदायप्रति उनले देखाएको सद्भाव, रोजगारीका अवसर विस्तार तथा नेपाल–कतार सम्बन्ध सुदृढीकरणमा पुर्‍याएको योगदानको उच्च प्रशंसा गरे ।

कार्यक्रममा धारणा राख्दै प्रमुख अतिथि तथा नेपाली राजदूतावास, कतारका श्रम सहचारी पोखरेलले कतारमा रहेका नेपालीहरू सुख र हर्षका क्षणमा मात्र नभई दुःख र शोकका घडीमा पनि कतार सरकार, शाही परिवार तथा कतारी जनतासँग एकजुट भएर उभिने सन्देश यस श्रद्धाञ्जली सभाले दिएको बताए । उनले सहभागी सम्पूर्णप्रति नेपाली दूतावासका तर्फबाट धन्यवाद तथा आभार व्यक्त गर्दै स्वर्गीय फादर अमिर आधुनिक कतारका निर्माता भएको उल्लेख गरे । साथै, कतारस्थित नेपाली समुदायका तर्फबाट उनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरे ।

पोखरेलले स्वर्गीय फादर अमिरको दूरदर्शी नेतृत्वकै कारण आजको समृद्ध, विकसित तथा विश्वमा सम्मानित कतार निर्माण सम्भव भएको बताउँदै आर्थिक विकास, पूर्वाधार विस्तार, प्रविधिको विकास तथा अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्न उहाँले पुर्‍याएको योगदानको प्रशंसा गरे । उनले नेपाल–कतार सम्बन्धका दृष्टिले पनि फादर अमिरको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गर्दै सन् २००५ मा उनकै कार्यकालमा नेपाल र कतार बिच श्रम सम्झौता सम्पन्न भएको स्मरण गरे । वैदेशिक रोजगारीका क्षेत्रमा नेपालले औपचारिक श्रम सम्झौता गरेको पहिलो मुलुक कतार नै रहेको उल्लेख गर्दै उक्त सम्झौताले दुई देशबिचको सम्बन्धलाई अझ संस्थागत र मजबुत बनाएको बताए ।

 एनसिसी कतारका महासचिव शिव भुजेलले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभाध्यक्ष पन्थीले सम्पूर्ण कतारस्थित नेपाली समुदायका तर्फबाट स्वर्गीय फादर अमिर प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त शाही परिवार, कतार सरकार तथा कतारी जनताप्रति गहिरो समवेदना व्यक्त गरे । उनले स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास तथा विश्वसँगको सम्पर्क विस्तारमार्फत आधुनिक कतार निर्माणमा फादर अमिरले पुर्‍याएको ऐतिहासिक योगदानको प्रशंसा गर्दै नेपाल–कतार सम्बन्धलाई सधैं आत्मीय, विश्वासपूर्ण र सुदृढ बनाउन उहाँको भूमिका अविस्मरणीय रहेको बताए । साथै, उनले स्वर्गीय फादर अमिरको आत्माको चिर शान्तिको कामना गरेका थिए ।

uae

सम्बन्धित खबर