
काठमाडौँ : आम जनता पार्टी (आजपा)ले शिक्षा र स्वास्थ्य सेवामा लगाइएको कर फिर्ता लिने सरकारी निर्णयको स्वागत गर्दै राइड सेयरिङ सेवा तथा विद्युत् महसुलमा लगाइएको करसमेत खारेज गर्न सरकारसँग आग्रह गरेको छ ।
पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सामाजिक सञ्जालमार्फत शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत कर नलिने सरकारको घोषणालाई सकारात्मक कदमका रूपमा उल्लेख गर्दै त्यसका लागि सरकारप्रति धन्यवाद व्यक्त गरेका छन् ।
साहले संविधानले मौलिक हकका रूपमा सुनिश्चित गरेका शिक्षा र स्वास्थ्यजस्ता आधारभूत क्षेत्रमा कर लगाउने व्यवस्था उपयुक्त नभएको धारणा व्यक्त गरेका छन् । नागरिकको भावना र सार्वजनिक चासोलाई सम्बोधन गर्दै सरकारले उक्त निर्णय लिनु स्वागतयोग्य भएको उनको भनाइ छ ।
यसैक्रममा उनले राइड सेयरिङ सेवा र विद्युत् महसुलमा कायम गरिएको करसमेत पुनर्विचार गरी हटाउन सरकारसँग माग गरेका छन् ।सरकारले हाल राइड सेयरिङ (सवारी साझेदारी) सेवा र विद्युत् महसुलमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेको छ ।