
काठमाडौं : एनआइसी एसिया बैंकले आफ्नो २९औं वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी सामाजिक तथा संस्थागत कार्यक्रम सञ्चालन गर्दै वार्षिकोत्सव मनाइरहेको छ।
बैंकले २९ वर्षको यात्रामा आफूलाई निरन्तर विश्वास र साथ दिने ग्राहक, नियामक निकाय, शेयरधनी, कर्मचारी, व्यावसायिक साझेदार, सरोकारवाला तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ। बैंकले आर्थिक समृद्धि र सामाजिक विकासमा वित्तीय सेवा प्रवाहमार्फत पुर्याएको योगदानको मुख्य श्रेय आफ्ना ग्राहकलाई जाने उल्लेख गर्दै आगामी दिनमा अझ विश्वसनीय, प्रविधिमैत्री, ग्राहकमैत्री र उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
वार्षिकोत्सवको अवसरमा बैंकले देशभर विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गरिरहेको छ। साउन ४ गते परेको पहिलो सोमबार पशुपतिनाथ मन्दिर दर्शनका लागि आएका भक्तजनलाई खानेपानी वितरण गरिएको बैंकले जनाएको छ।
यस्तै, नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय रक्तसञ्चार सेवासँगको सहकार्यमा कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा १०१ जना कर्मचारी तथा ग्राहकले रक्तदान गरेका थिए।
संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत बैंकले सातै प्रदेशका १३ वटा विद्यालय र एक आश्रमलाई विभिन्न सामग्री सहयोग पनि उपलब्ध गराएको छ। कोशी प्रदेशका चार, बागमती प्रदेशका चार तथा अन्य पाँच प्रदेशका एक–एक विद्यालयलाई कम्प्युटर, फर्निचर, स्मार्ट बोर्ड, भवनको छाना ट्रस निर्माण, प्रोजेक्टर, वाटर प्युरिफायर, प्रिन्टर, झोला तथा शैक्षिक सामग्री हस्तान्तरण गरिएको बैंकले जनाएको छ।
यसका साथै सांस्कृतिक सम्पदा, मन्दिर, विद्यालय तथा अन्य सार्वजनिक स्थलहरूको संरक्षण र प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले सातै प्रदेशमा सरसफाइ अभियानसमेत सञ्चालन भइरहेको बैंकले जानकारी दिएको छ।