
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत विभिन्न वस्तुगत संघ–संस्थाको प्रतिनिधित्व रहने वस्तुगत परिषद् गठन गरिएको छ । परिषद् गठनसँगै नवनियुक्त सदस्य तथा सल्लाहकारहरूलाई मनोनयन पत्र पनि हस्तान्तरण गरिएको छ ।
महासंघ सचिवालयमा बुधबार आयोजित कार्यक्रममा महासंघका कार्यबाहक अध्यक्ष सुरकृष्ण वैद्यले नवनियुक्त सदस्यहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनले वस्तुगत परिषद्ले निजी क्षेत्रका साझा आवाजलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गर्दै उद्योग–व्यवसायसँग सम्बन्धित नीतिगत सुधार, लगानी प्रवर्धन, उत्पादन तथा निर्यात विस्तार र निजी क्षेत्रका समस्या समाधानमा परिषद्ले सक्रिय तथा परिणाममुखी भूमिका खेल्नुपर्ने बताए ।
उनले निजी क्षेत्र र सरकारबीच प्रभावकारी समन्वय स्थापना गर्दै मुलुकको आर्थिक विकासमा परिषद्को योगदान महत्वपूर्ण रहने धारणा पनि राखे ।
महासंघका जिल्ला–नगर उपाध्यक्ष दीलसुन्दर श्रेष्ठले वस्तुगत परिषद् महासंघको महत्वपूर्ण अंग भएको उल्लेख गर्दै विभिन्न क्षेत्रबाट उठेका समस्या समाधानमा परिषद्ले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
वस्तुगत उपाध्यक्ष तथा वस्तुगत परिषद्का सभापति नरेशलाल श्रेष्ठले महासंघका वस्तुगत सदस्य संघहरू नै निजी क्षेत्रको मेरुदण्ड भएको उल्लेख गर्दै परिषद्ले उद्योग–व्यवसायका साझा एजेन्डालाई एकीकृत रूपमा अघि बढाउने बताए । उनले परिषद्का सदस्यहरूलाई आ–आफ्नो क्षेत्रको अनुभव, सुझाव तथा नीतिगत धारणा महासंघमार्फत प्रभावकारी रूपमा प्रस्तुत गरी निजी क्षेत्रको हित संरक्षण र प्रवर्द्धनमा सक्रिय हुन आग्रह गरे ।
श्रेष्ठले विषयगत समितिहरूले तथ्यांकमा आधारित अध्ययन तथा अनुसन्धान गरी उद्योग–व्यवसायका समस्याको पहिचान र समाधानका लागि पहल गर्नुपर्नेमा पनि जोड दिए ।
एसोसिएट उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रवलजंग पाण्डेले मुलुकको अर्थतन्त्र अझै पूर्ण रूपमा लयमा फर्किन नसकेको र लगानीको वातावरण अपेक्षित रूपमा बन्न नसकेको उल्लेख गर्दै व्यवसायिक गतिविधि विस्तारमार्फत अर्थतन्त्रलाई चलायमान बनाउन वस्तुगत परिषद्को भूमिका महत्वपूर्ण हुने बताए ।
महासंघका कोषाध्यक्ष मनीषलाल प्रधानले परिषद् तथा विभिन्न समितिका गतिविधिले महासंघलाई गतिशील बनाउने भन्दै परिणाममुखी कार्यशैली अपनाएर अर्थतन्त्रलाई चलायमान बनाउने दिशामा काम गर्नुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा कार्यबाहक अध्यक्ष सुरकृष्ण वैद्य तथा वस्तुगत उपाध्यक्ष एवं परिषद्का सभापति नरेशलाल श्रेष्ठले नवनियुक्त सदस्य तथा सल्लाहकारहरूलाई मनोनयन पत्र हस्तान्तरण गरेका थिए ।
यसैबीच, बुधबार बसेको वस्तुगत परिषद्को बैठकले भक्तबहादुर हमाललाई परिषद्को उपसभापतिमा मनोनयन गर्ने निर्णय गरेको छ ।
महासंघमा हाल विभिन्न क्षेत्रका १४२ वटा वस्तुगत सदस्य संघ–संस्था आबद्ध रहेका छन् ।