२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

सुमेरु सहकारीको स्वामित्व लिएर नयाँ समूह आएको राजबहादुरको खुलासा

ADV
मध्यान्ह
२०८१ साउन २८ गते २१:३४
सुमेरु सहकारीको स्वामित्व लिएर नयाँ समूह आएको राजबहादुरको खुलासा

काठमाडौं : सहकारी संस्था बचत दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ राजबहादुर सिंहसँग बयान लिएको छ । ललितपुर पुल्चोकको सुमेरु बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको रकम ठगीबारे समितिले सोमबार सिंहलाई सिंहदरबार बोलाएर बयान लिएको थियो । 

बयानका क्रममा सिंहले उक्त सहकारीको स्वामित्व लिएर आफूले बचतकर्ताको रकम फिर्ताको तयारी थालेको बताए । ‘मेरो निजी सम्पत्तिबाट बचतकर्ताको रकम फिर्ताको व्यवस्था थालनी गर्न लागेको छु,’ उनले समितिसमक्ष भने । समितिका सभापति सूर्य थापाकाअनुसार सिंहले आफ्नो निजी सम्पत्तिबाट बचतकर्ताको रकम फिर्ताको व्यवस्था थालनी गर्न लागेको बताए । 

‘विश्वासको वातावरण सिर्जना गरेर सहकारी संस्थाको पुनः सञ्चालन गर्ने योजनाका साथ नयाँ सञ्चालक समूह आएको उहाँले जानकारी गराउनु भएको छ,’ थापाले मध्यान्हसँग भने, सिंह सोही सहकारी संस्थाका सेयर सदस्यसमेत हुन् ।’ सुमेरु सहकारी ललितपुरका भरत महर्जन तथा उनको परिवारले डुबाएका थिए । सहकारी डुबाएर महर्जन परिवारै बेलायततर्फ फरार छन् । सिंह एक महिनायता उक्त सहकारीसहित बढे–बढाइएको सम्पत्तिको स्वामित्व आफैँ लिनेगरी निक्षेप फिर्ताको पहलमा जुटेका थिए । 

सुमेरु सहकारीको ठगी सम्बन्धी प्रकरणको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गरिरहेको छ । सिंह पुल्चोकस्थित सुमेरु सहकारीका साथै छोरा सचिन महर्जनले सञ्चालन गरेको कालिमाटीस्थित सुमेरु सहकारीका बचतकर्ताको निक्षेप फिर्ता गर्ने भन्दै सक्रिय छन् । ब्युरोका एक अधिकृतकाअनुसार सुमेरुमा वीरेन्द्र महर्जनको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको बुझिएको छ । तर, यसको औपचारिक तथा कानुनी कागजात लिएर सिंह ब्यूरोमा पुगेका भने छैनन् ।

महर्जनको नेतृत्वमा नयाँ कार्यसमिति गठन भए पनि सिंह ‘पर्दा पछाडि’ रहेको दाबी स्रोतले गरेको छ । सिंहका कानून व्यवसायी बलराम सुवेदी सुमेरु सहकारीको डुबेको बचत फिर्ताको प्रस्ताव लिएर एक महिनाअघि ब्यूरोमा पुगेका थिए । ब्यूरोका अधिकृतहरुका अनुसार पुल्चोकको सहकारीको मात्रै साढे सात अर्ब अपचलनको जाहेरी ब्यूरोमा परेको छ । सो सहकारीका कोही पनि पक्राउ परेका छैनन् । प्रमुख सञ्चालक भरत महर्जनविरूद्ध पक्राउ पूर्जी साथै नेपाल प्रहरीले इन्टरपोलमार्फत खोजीका लागि ‘रेड नोटिस’ जारी गरेको छ ।

कालिमाटीको सहकारीबाट १५ करोड रुपैयाँ अपचलन भएको जाहेरी ब्यूरोमा परेको छ । त्यहाँका दुई जना सञ्चालक सदस्य पक्राउ परेका छन् । पुल्चोकको सुमेरु सहकारी बागमती प्रदेश सहकारी रजिष्टारको कार्यालयमा दर्ता छ भने कालिमाटीको सुमेरु काठमाडौं महानगरपालिकामा दर्ता छ ।

भरतले स्थापना गरेको पुल्चोकको सुमेरु सहकारीको हालको अध्यक्ष उनकी श्रीमती राजमाया महर्जन छिन् । कालिमाटीको सहकारीको अध्यक्ष छोरा सचिन महर्जन छन् । यी दुबै सहकारीमा महर्जन परिवारका नातागोता मुख्य हर्ताकर्ता रहेका छन् । पुल्चोकको सुमेरुको धापाखेल र गठ्ठाघरमा शाखा छ । उक्त सहकारीको धापाखेलमा सुमेरु अस्पताल, पुल्चोकमा सुमेरु सिटी अस्पताल, सातदोबाटोमा एसियन कलेज, शंकरापुर एकेडेमी छन् । सुमेरु ग्रुपका नाममा हाउजिङ, मार्ट, मनी एक्सचेन्ज, टुर एण्ड ट्राभल्सलगायत डेढ एक दर्जन कम्पनी रहेका छन् । महर्जनले २०५७ सालबाट ललितपुरको पुल्चोकमा कार्यालय राखेर सुमेरु सहकारी शुरु गरेका थिए ।

महर्जनले २०६८ मा धापाखेलमा ३०० शय्याको सुमेरु सामुदायिक अस्पताल स्थापना गरेका थिए । उनले २०६९ सालमा पुल्चोकमै १०० शय्याको सुमेरु सिटी अस्पताल खोलेका थिए ।

उनले सुमेरु मेडिकल कलेज, एसियन कलेज अफ एडभान्स्ड स्टडिज, शंकरापुर एकेडेमी, रिसोर्ट, कृषि फार्मलगायत काठमाडौं उपत्यकाका साथै बाहिरका जिल्लामा जग्गा खरिद गरेका थिए । कालिमाटीको सुमेरु सहकारीका ५८ निवेदकमध्ये जनामध्ये २६ जनाले बचत फिर्ता भए मिलापत्र गरिदिन भनी ब्यूरोमा निवेदन दिएको प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए । 

‘सबै बचतकर्ताले निवेदन दिए भने र उनीहरूको निक्षेप फिर्ता भएको खण्डमा सरकारी वकिलको कार्यालयमा मिलापत्र गराउन सकिन्छ,’ उनले भने । बचत फिर्ता गरेको खण्डमा मुद्दाबाट पार पाइने हुनाले महर्जन परिवारले नयाँ रणनीतिका रुपमा राजबहादुरलाई अघि सारेको हुनसक्ने आशंका गरिएको छ । यसबारे राजबहादुर र उनका कानून व्यवसायीले प्रतिक्रिया दिएका छैनन् ।

ADVADV

सम्बन्धित खबर

Advertise