२०८१ पुष ७ गते आइतवार / Dec 22 , 2024 , Sunday
२०८१ पुष ७ गते आइतवार

बंगलादेशको घटनालाई कसरी हेर्ने ?

ADV
२०८१ साउन ३० गते ०६:२५
बंगलादेशको घटनालाई कसरी हेर्ने ?

–शम्भू कट्टेल

सन् १९७१ मा पूर्वी पाकिस्तान पश्चिम पाकिस्तानबाट अलग भएर बंगलादेश बनेको थियो । यो अलग हुने घटनामा इन्डियन सेनाले पूर्वी पाकिस्तानमा प्रवेश गरेर सघाएको थियो । कतिपय पूर्वी पाकिस्तानीहरूले यो घटनालाई मुक्ति सङ्ग्राम ठानेर सघाएका थिए भने कतिपय पूर्वी तथा पश्चिमी पाकिस्तानीहरूले यसलाई विदेशीले देश टुक्र्याइदिएको भनेर असन्तुष्टि पनि व्यक्त गरेका थिए । यो पश्चिम पाकिस्तानबाट अलग भएर बंगलादेश बन्ने प्रक्रियामा हालै प्रधानमन्त्रीको पदबाट राजीनामा दिएर देश छोडेकी शेख हसिनाको पिताजीको ठुलो भूमिका रहेकोले उनलाई बंगलादेशको पिता भन्ने गरिएको थियो । त्यो प्रक्रियामा भूमिका खेल्ने नेताहरूका सन्तानलाई शिक्षासहित विशेष सुविधासहितको आरक्षणको व्यवस्था पनि गरिएको थियो । 

बंगलादेश बन्ने प्रक्रियाको विरोध गर्नेहरूले हसिनाको पिताको हत्यासमेत गरेका थिए । यद्यपि, सो प्रक्रियाको समर्थक र विरोधीहरू बिच सुरुदेखि नै अन्तरद्वन्द्व निरन्तर चलिरहेको थियो । पछिल्लो लगभग २० वर्षदेखि हसिना सत्तामा थिइन् । सुरुमा उनी लोकप्रिय पनि देखिन्थिन् । उनको कार्यकालमा बंगलादेशले त्यसअघि नै सुरु गरिएका लघु उद्योगहरू (खासगरी गार्मेन्ट उद्योग)लाई थप अघि बढाउन, रोजगारी बढाउन, र गरिबी घटाउन धेरै हदसम्म सफल भएको पनि बताइन्छ । तर, पछिल्लो कालमा उनी आफ्ना विरोधीहरूप्रति निर्मम बनेकी, धेरैको हत्या भएको र जेल हालिएको समाचारहरू आइरहन्थे र यसले भित्रभित्रै उनको विरोधमा तानाबाना बुनिएको देखिन्छ । त्यसैको परिणाम स्वरूप सो आरक्षण विरोधी विद्यार्थी आन्दोलन चलेको र हसिनाको नेतृत्वको सरकारबाट सो आरक्षणको अन्त्य गर्ने कदम चालिसक्दा पनि सो आन्दोलन नरोकिएको र भौतिक आक्रमणसमेत भए पछि उनले राजीनामा गरेर आफ्नो सुरक्षाको लागि विदेश उडेकी थिइन् । 

अहिलेको घटनामा उनलाई सेनाले सहयोग नगरेको देखिन्छ र सेना आफैले सत्ता हातमा लिएर हसिनाले जेल हालेका प्रतिद्वन्दीहरूलाई जेलमुक्त गरिएको र आन्दोलनकारीहरूद्वारा हसिनाको समर्थक धेरै नेताहरूमाथि भौतिक आक्रमण र हत्या भइरहेको समाचारहरू छन् । हसिनाले विगतमा इन्डियन नेता नरेन्द्र मोदी, चिनियाँ सरकार र अमेरिकी सरकारबिच राम्रै सन्तुलन बनाएको बताइन्छ तर, हालमा आएर उनको सो सन्तुलन नीतिबाट असन्तुष्ट भएर अमेरिकी सरकारसँग सम्बन्ध बिग्रेको र मोदी सरकार पनि खासै खुशी नरहेको समाचारहरू आएका थिए । अमेरिकाले बंगलादेशको विगतको चुनावी परिणामलाई (जसमा उनी विजयी भएकी थिइन) स्वीकार नगरेको र हालको सैनिक शासनको विरोध नगरेको देखिन्छ । उनलाई शरण दिन बेलायत र अमेरिकाले मन्जुरी नदिएको अपुष्ट समाचारहरू पनि छन् । 

आरक्षण हटाइसक्दा पनि र हसिनाबाट जेल हालिएका गैर–सैनिक व्यक्तित्वहरूको नेतृत्वमा सरकार बनिसक्दा पनि आन्दोलन मत्थर भएको देखिँदैन । लुटपाट, हत्या बढेका छन् । वर्तमान सैनिक नेतृत्वको विरोधमा आवाजहरू पनि सुनिएका छन् । यी आक्रमण–प्रत्याक्रमणको चक्र बढ्दै गएमा बंगलादेशमा अशान्ति, अस्थिरता, गृहयुद्ध र विदेशी हस्तक्षेप बढ्न सक्ने देखिन्छ । यसले क्षेत्रीय र अन्ताराष्ट्रिय स्तरमा समेत प्रभाव पार्न सक्छ । बंगलादेशी सैनिक नेतृत्वले छिटोभन्दा छिटो सत्ताको सत्ताको ‘वास्तविक’ बागडोर गैर–सैनिक क्षेत्रलाई छोड्न असफल भएमा देशले ठुलै नोक्सानी व्यहोर्न पर्ने हुनसक्छ र त्यसको प्रभाव छिमेकीलाई समेत पर्न सक्छ ।

गृहयुद्धको रूप लिन सक्ने र विदेशी हस्तक्षेप बढ्न सक्ने सो घटनाले नेपाललगायतका छिमेकीहरूलाई पनि केही असर पार्ने देखिन्छ । बंगलादेशबाट पलायन भएकाहरू इन्डिया हुँदै नेपाल पसेर भुटानी शरणार्थी प्रकरणले दिएको बोझ जस्तै बोझ बन्ने मात्र हैन, पाकिस्तानी जुल्फी कर अलि भुट्टोको हत्या नेपालमा २०३६ सालको आन्दोलनको निमित्त कारण बन्न गए जस्तै लूटतन्त्रले झुरिएको नेपालमा आगो सल्किन सक्ला भन्ने अनुमानहरू पनि गरिएका छन् । 

बंगलादेशको पछिल्लो घटनाले केही पाठहरू सिकाएको छ । निरङ्कुश तरीकाले प्रशासन चलाएका अवस्थामा आर्थिक विकासले मात्र जनता सन्तुष्ट नहुने देखिन्छ । अहिलेको साम्राज्यवादी युगमा देशको आन्तरिक राजनीतिक सन्तुलन बिगार्दा विदेशी÷साम्राज्यवादीहरूले खेल्न सक्ने देखिन्छ । पूरा दलाल नबनेसम्म शक्ति कमजोर भएका अवस्थामा पूर्व सहयोगी वा आंशिक सहयोगी भनेर साम्राज्यवादी शक्तिहरूले मौका पाउँदा बाँकी नराख्ने देखिन आएको छ । 

क्रान्तिकारी सरकार होस् वा सुधारवादी, बलियो जलाधार नभएसम्म सत्ता टिकाउन सकिँदैन । विदेशीको आडमा ल्याइएका परिवर्तनहरूले असन्तोष जन्माउँछ, तुष छोड्छ र सो परिवर्तन टिकाउन गाह्रो हुन्छ । जनताको चाहना गैर–सैनिक जनमुखी शक्तिको नेतृत्वको सरकारप्रति नै हुने, सैनिक सरकारप्रति नहुने देखिन्छ ।

ADVADV

सम्बन्धित खबर

Advertise