२०८२ कार्तिक १९ गते बुधवार / Nov 05 , 2025 , Wednesday
२०८२ कार्तिक १९ गते बुधवार
Ads

कांग्रेस राजनीति : परम्परा, चुनौती र रूपान्तरण

shivam cement
नारायणबहादुर बस्नेत
२०८२ कार्तिक १९ गते ०६:००
Shares
कांग्रेस राजनीति : परम्परा, चुनौती र रूपान्तरण

२०४८ देखि २०८२ सम्मको यात्रा, नेपाली कांग्रेसको ऐतिहासिक संघर्षको एक गहिरो दृश्य हो । पार्टीले जनआन्दोलनको संघर्षमा जित हासिल गरेको छ तर जनविश्वासलाई फर्काउन अझै लामो यात्रा तय गर्न बाँकी छ । अहिले प्रश्न यही उठ्छ, गुटको राजनीति अझै जारी रहनेछ कि कांग्रेसले पुस्तान्तरणको बाटो समात्नेछ ?

अमेरिकी राष्ट्रपति अब्राहम लिंकनको भनाइ छ– देशमा हजार जनता मूर्ख भए पनि त्यति ठुलो कुरा छैन तर एक नेता मूर्ख भयो भने देश डुबाउँछ । नेपालका वर्तमान नेताहरूलाई यस वाक्यले गहिरो अर्थ दिन्छ । जब सत्ताको गुमान, स्वार्थ र जनआवाजको दमन हाबी हुन्छ, तब इतिहासले क्रान्ति जन्माउँछ । यही परिप्रेक्ष्य अहिले नेपालको राजनीतिमा देख्न सकिन्छ – पुरानो पुस्ताको गुटीय राजनीति डगमगाउँदै छ भने नयाँ पुस्ता जागृत भइरहेको छ ।

नेपाली कांग्रेसलाई प्रजातन्त्र, संविधान र परिवर्तनको प्रतीक मानिन्छ । २०४६ को ऐतिहासिक जनआन्दोलनपछि पञ्चायतको अन्त्य र जनताको शासन स्थापनाको नयाँ युग सुरु भएको थियो । तर जनताले जितेको आन्दोलनले जति आशा र विश्वास बोकेको थियो, त्यसको समापन पार्टीको गुटीय राजनीति र सत्ता संघर्षमा भएको छ । अब कांग्रेसले ३० वर्षको लामो यात्राको आत्ममूल्यांकन गर्दै नयाँ पुस्तालाई नेतृत्व सुम्पने निर्णायक घडीमा प्रवेश गरेको छ ।

२०४८ को निर्वाचनमा कांग्रेसले १ सय १० सिट जितेर गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार गठन गरेको थियो । शेरबहादुर देउवा, गृहमन्त्रीका रूपमा उदाए तापनि पार्टीभित्रको गुटीय द्वन्द्वले सरकारको नीति र कार्यक्रम पारित गर्न सकेनन् । कोइरालाको निर्णय ‘मध्यावधि निर्वाचनको सिफारिस’ उनको पहिलो गल्ती साबित भयो ।

२०५१ को मध्यावधि निर्वाचनपछि एमालेले बहुमत प्राप्त ग¥यो र मनमोहन अधिकारीको नेतृत्वमा सरकार गठन भयो । त्यसपछि संसदमा खरिद–बिक्री र सत्तासंघर्षको खेल बढ्न थाल्यो । शेरबहादुर देउवा २०५२ मा प्रधानमन्त्री बने तर उनको कार्यकालले अस्थिरता र गुटीय राजनीतिजस्तो स्थायी संस्कृतिमा परिणत गर्‍यो । २०५६ मा कांग्रेस पुनः सत्तामा फर्कियो तर एक वर्ष नपुग्दै गिरिजाप्रसाद कोइरालाले किसुनजीलाई राजीनामा दिन बाध्य पारेर पुनः सत्ता सम्हाले ।

२०६१ मा शेरबहादुर देउवाले चुनाव गराउन नसकेको नाममा राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन सुरु गरे । यसले प्रजातान्त्रिक प्रणालीमा गहिरो चोट पु¥यायो । तर स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको ऐतिहासिक जनआन्दोलनले जनताको शक्ति पुनः उभ्यायो । माओवादी हिंसात्मक संघर्षबाट शान्ति प्रक्रियामा सामेल भए र २०६४ मा संविधानसभा निर्वाचन सम्पन्न भयो ।

संविधान सभा निर्वाचनपछि विभिन्न नेतृत्व परिवर्तन भए तर संविधान निर्माणमा ढिलाइ भइरह्यो । अन्ततः २०७० मंसिरमा नेपालमा संविधान निर्माणको प्रक्रिया सफलतापूर्वक सम्पन्न भयो, जसको प्रमुख श्रेय नेपाली कांग्रेसलाई जान्छ । २०७२ को संविधान एक ऐतिहासिक उपलब्धि मानिन्छ ।

२०७४ मा एमाले र माओवादी मिलेर नेकपा गठन गरे । यो दल दुई तिहाइ बहुमतको साथ सरकार सञ्चालन गर्न सफल भए तर आशा गरिएको स्थिरता र सुशासनको कमी देखियो । सरकारको ढिलाइ, भ्रष्टाचार र गुटीय राजनीति अझै कमजोर बन्दै गएको कांग्रेसको पराजयका कारण बने । २०७९ को चुनावपछि फेरि गठबन्धनको खेल सुरु भयो र सत्ता सस्तो सौदामा परिणत भयो ।

२०८२ सालको जेनेरेसन जेड आन्दोलनले सरकारको ढाँचा तहसनहस पार्‍यो । यस आन्दोलनले एउटा महत्वपूर्ण मोड प्रस्तुत ग¥यो, जहाँ शेरबहादुर देउवा जनताको क्रोधको सामना गर्दै अडिग रहन सफल भए । यो घटनाले देउवाको राजनीतिक कदलाई अझ ठुलो बनायो । जबकि अन्य नेताहरू भागे, उनी आफ्नै घरमै रहे र जनताको सामना गरे ।

शेरबहादुर देउवा अहिले गुटीय राजनीति र स्वार्थका बिचमा सास लिँदै छन् । उनले महसुस गरेका छन् कि गुटीय स्वार्थले कांग्रेसलाई कमजोर बनाएको छ । उनका शब्दहरूमा, ‘यदि मैले विचारको राजनीति गरेको भएँ, यो अवस्था आउने थिएन । गुटको राजनीतिले मलाई विवादको केन्द्र बनायो ।’

गगनकुमार थापा र विश्वप्रकाश शर्माजस्ता नेताहरू, अहिले कांग्रेसको नेतृत्व गर्ने अवस्थामा छन् । यदि पार्टीले पुस्तान्तरणलाई स्वीकार गर्छ भने, कांग्रेसको पुनर्जागरण सम्भव छ । नयाँ सोच, नयाँ पुस्ता र नयाँ विश्वासको आधारमा कांग्रेस पुनः जनताको विश्वास जित्न सक्नेछ । नेपाली कांग्रेसका नेता र कार्यकर्ताहरूले अब आत्ममूल्यांकन गर्नुपर्नेबेला आएको छ । अहिलेको समयमा गुटको राजनीति मात्र पार्टीको अस्तित्वका लागि खतरामा पर्दै छ । यदि शेरबहादुर देउवा गुटभन्दा माथि उठेर युवाहरूसँग सल्लाह गरेर पार्टीलाई एकतामा बाँध्ने निर्णय लिन सक्नुभयो भने, उनको राजनीतिक इतिहास अझ महान् बन्न सक्छ ।

नेपाली कांग्रेसलाई अब आफ्ना ऐतिहासिक योगदानलाई पुनः आत्मस्मरण गर्ने र गुटीय राजनीतिभन्दा माथि उठ्ने आवश्यकता छ । ‘नयाँ सोच, नयाँ पुस्ता, नयाँ विश्वास’ भन्ने अभियानले कांग्रेसलाई एकताबद्ध गर्दै देशको भविष्यलाई उज्यालो बनाउन मद्दत पु¥याउन सक्छ । यदि पार्टी यो अवसरमा आत्ममूल्यांकन गरेर सही कदम चाल्न सफल भयो भने, जनताको विश्वास पुनः जित्न सक्नेछ ।

ADV

सम्बन्धित खबर