–अमृता बुढाथोकी
फागुनको महिना थियो । प्रकृति पनि उजाडिए झैँ देखिन्थ्यो । वनस्पतिले आफ्ना नयाँ पालुवा फेर्नलाई सबै पात झारी सकेको थियो । मानसिक रूपमा विक्षिप्त दीपका बुबा आगनमा बसेर आफ्नै सुरूमा कराउँदै थिए । क्षयरोगले थला परेकी आमा अगेना छेऊको मुल ओछ्यानमा सुतिरहेकी थिइन् । एकाबिहानै दीपको घरमा धेरै मानिस आए । घरमा आगो थिएन । आगो लिन छिमेकीको घरमा पुगेर फर्किदै गर्दा उसको जीवनका सम्पूर्ण खुसीहरू मेटिए । उसको घरमा बज्रपात भयो । एक्कासी आगो लाग्यो । आकाश गड्गडाउँदै, बिजुली चम्केझँै, मेघ गर्जे झैँ, चट्याङ परेझैँ, घरै मास्तिरको भीर वरिपरिबाट बम र गोली बर्साइयो ।
सूर्यका लाली किरणहरूले पूर्वतिरबाट धर्तीलाई भर्खरै आलिंगन सुरू गर्दै थिए । इलामको अन्तु डाँडाँबाट झुलुक्क झुल्किएको सूर्यले जबर्जस्त आफ्ना किरणहरू कन्चनजंघाको शिरमा हुत्याउँदै थियो । चाँदीरूपी हिम च्यादरले शिर ओडेको कन्चनजंघाले मुसुक्क मुस्कुराएर केवल बिहानीलाई स्वागत मात्रै गर्दै थियो । हो, त्यही बेला चाँदीको शिर, हरियो सारी र पहेँला घुँगुरा लगाएकी पृथ्वी एक तमासले रोइन्, धरधरी रोइरहिन् । उनको रूवाइसँगै चिच्याइ–चिच्याइ रून पुग्यो १४ वर्षीय एक अबोध बालक, दीप । उनको त्यो चित्कार विद्रोहीले सुनेन । नत राज्यले नै सुन्यो । सुन्दै सुनेन । दुवै पक्षबाट दिनभर जसो गोली र बम बर्साइए । आखिर जो जताजताका भए पनि दीपको आगनमै १४ जना मानिसका लास तेर्सिए । आठराइको बगालेमा मारिएका ती १४ जनाभित्रै मारियो उसको खुसी, आशा र सम्पूर्ण परिवार पनि ।
हरेक दिन, एकैनासले सूर्यमुखी फूलले पूर्वतर्फ फर्किएर सूर्यलाई स्वागत गर्न कहिल्यै छोडेन । पश्मितर्फ रहेको ह्यात्रुङ झरना र पूर्वमा रहेको तमोर नदीले हरेक दिन साँझ, बिहान, रात नभनी सप्तरंगी इन्द्रेनीको रंगसँगै संगीतको धुन निकाली नै रहे निरन्तर, अविरल रूपमा । तर, बगाले घट्नापछि सप्तरङ्गी इन्द्रेनीमा एउटा रङ्ग थपेर आठौँ रङ्ग र सङ्गीतको एक तमासको बेसुरा धुन बन्न पुग्यो दीपको जिन्दगी ।
सेकेन्ड, मिनेट, घण्टा हुँदै दिनहरू बिते, रातहरू बिते एवम्रीतले हप्ता बित्यो । तर, महिना बित्न नपाउँदै एकाबिहानै दीपको घरमा मैला लुगा, अग्लो कद, हेर्दै जिरिङ परेको राजेशको आकृति उभियो ।
राजेशले उसको मनमा आफ्नी रोगले थलिएकी आमालाई मार्ने, मानसिक रूपमा विक्षिप्त बाबुको छातीमा गोली हान्ने तानाशाहको विरूद्धमा संघर्ष गर्नुपर्छ भन्दै अनेक तरले दीपलाई फकाउँदै गयो । समाजवाद, सामन्तवादको अन्त्य, महिला मुक्ति, समावेशीकरण, बुर्जवा शिक्षाको अन्त्य, जातका आधारमा संघीयता के के हो के के ? उसको कलिलो दिमागले केही बुझ्न सकेन । उसले केवल राजेशको एउटै कुरा सम्झिरह्यो बुबाआमाको हत्यारालाई मार्नुपर्छ ।
राजेशले धेरै कुरा गरिरहयो । दीपको कलिलो मस्तिष्कले सही गलत छुट्याउन सकेन उसले राजेशको एउटै कुरा मात्र सम्झियो प्रतिशोध । यसैका लागि दीप उसैको पछि लागेर हिँड्यो ।
दीपले बिस्तारै युद्धका नियमहरू सिक्यो । कहिले पूर्व त कहिले पश्चिम गर्दै युद्धका अनेक मोर्चाहरूमा सामेल भएको छ । पारिवारिक वियोगपछि पीडाको विशाल समुन्द्र आफ्नै छातीमा लुकाएर ऊ निर्निमेष प्रतिशोधको बाटो हेरिरहेको छ ।
हुन त युद्धको सिपाही तैपनि बाक्ला जुगाँको रेखी बसेछन् । अनि गालामा झुस्स दारी । त्यही चिउँडानिर दायाँ हत्केलो राखेर एकोहोरो हेर्छ । खै किन हो, आज उसको मन एक तमासको भएको छ । अनायासै सोचमग्न भएको छ । ऊ कल्पनाको गहिरो छालमा डुबुल्की मार्छ र भन्छ धर्तीको कोखबाट निस्किएर दुग्धधारा बगाउँदै, लुकामारी खेल्दै नागबेली चालमा बगेकी तमोर पुनस् फर्किएर आउँछिन् ? आफ्ना सुसेलीहरूलाई पुन सुरुकै धारबाट बेधार नभई पुनः बग्न सक्छिन् ? बगरका सबै घाउँ चोट भुलेर पुन शान्त बन्न सक्छिन् र ? ऊ यस्तै कुरा सोचिरहेको छ । सोचाइमा डुबेकै बेला उसलाई कसैले पछाडिबाट ‘दीप’ भनेर बोउँछ । उसले आफ्नो पछाडि राजेश र एक १३–१४ वर्षकी किशोरीलाई देख्छ ।
ती किशोरीको नाम शिखा रहेछ । घर त्यतै जलजलेतिर । उनीसँगको एकैछिनको भेटमा मुख खोल्न नसके पनि आँखाले लाखौँ बेदना पोखेको अनुभूति गर्न पुग्यो दीप । कताकता आफैँसँग उनको कहानी मिले जस्तो लाग्छ उसलाई । उनीहरू एकछिन कुराकानी गरेर आफ्नो सेल्टर ह्वाकुतिर लाग्छन् ।
बाटोमा राजेश भन्दै जान्छ हजारौँ उत्पीडित, शोषितको रगत चुसेर सामन्ती सत्ता लमतन्न सुतिरहेको छ । अन्धकार रातमा बाटोको चित्र जसरी कोर्दै छौँ हामी त्यसरी नै एक दिन नयाँ नेपालको चित्र बनाएरनै छाड्छौँ । ऊ बोलिरहन्छ तर उनीहरू आज्ञाकारी बच्चाले जस्तै उसका कुरामा कुनै प्रतिक्रिया नदिई बाँधेर र्डोयाउँदै गरेको गाई, भैंसी मालिकको पछिपछि लागे जस्तै संक्रान्तिदेखि कहिले अनकन्टार जंगलको बाटो त कहिले बेँसीका फाँट पार गरेर ह्वाकु पुगे ।
त्यसको केही दिनपछि उनीहरूले ह्वाकुका सम्पूर्ण सरकारी कार्यालयहरू आफ्नो कब्जामा लिए । सायद त्यही युद्धले दीपको जिन्दगीलाई अर्कै मोडतिर लगी दियो । त्यहाँ प्रहरी चौकीको घेरा तोड्ने क्रममा उसको देब्रे कुमै छेउमा गोली लाग्यो । मुस्किलले ज्यान जोगाएर भाग्यो ।
शिखा पनि दीपसँगै हरेक युद्ध मोर्चामा सामेल हुन्छिन् । उनी संगठनका विभिन्न जन वर्गीय कमिटीमा आबद्ध भएर कहिले छथर, कहिले फेदाप हुँदै तेह्रथुमका बस्तीबस्तीमा पुिग्छन् । मनमा गम्भीर पीडा लुकाएर रून्चे हाँसो हाँसिरहेकी छिन् । उनको अधरमा हजारौँ पीडा र आँखामा बेदनाको सागर प्रष्टै छचल्किएको देखिन्छ ।
एकदिन औँसी डाडाँको कार्यक्रममा आएकी एक जना नेतृसँग उनको भेट भयो । उनले सोधिन ‘बुइँनी तिमी किन धेरै दुखी देखिन्छौँ । अनुहार फुङ्ग उडेको छ । कपाल पनि कोरेकी छैनौँ’ ?
उनको कुरा सुनेर शिखा झस्किन्, होइन म त ठिकै त छु नि । घरको यादले धेरै सताउँछ त्यसैले यस्ती देखिएकी होला हऊ दिदी ।’ भन्छन् नि माटोको भर ढुंगा, ढंगाको भर माटो । संसार भरैभरमा अडेको छ । यो भरको ताँदो छिन्ने बित्तिकै सबै भताभुंग हुदो रहेछ हऊ दिदी । सोह्र श्रृगारले कुनै महत्व राख्दो रहेन छ ।
‘यस्ता निराश कुरा नगरन हऊ बुइँनी । पुरूष सत्ताले चुसेर बनेका निलडामबाट निस्किएका चित्कारहरूलाई शक्तिमा रूपान्तरण गरूम् । वर्गीय मुक्तिका लागि हामीले बिना स्वार्थ युद्ध गरूम् ।’ भन्दै ती नेतृले शिखाको आत्मावल बढाउन कोसिस गर्छिन् ।
नेतृ शिखालाई सम्झाउन थालिन । बुइँनी, घर परिवार त कसका हुँदैनन् र मलाई पनि त परिवारको माया लाग्छ नि मान्छेलाई माया, ममताले कमजोर बनाउँछ । यी सबै कुरा भावी पुस्ताको सुनौलो भविष्यका लागि बिर्सन बाध्य हुनुपर्छ ।
एकोहोरो कुरा सुनिरहेकी शिखाले धेरै बेरमा मुख खोलिन् ‘हुन त हो दिदी तर मलाई आफू छोरी भएर जन्मेकोमा नै दिक्क लाग्न थालेको छ ।’
शिखाको कुरा सुनेर जोशिँदै, ‘युगैदेखि महिलाको लैंगिकता र यौनिकतामाथि पुरूषले नियन्त्रण गर्ने गरेकाछन् । महिला उत्पीडन भनेको पुरूषले महिलामाथि गर्ने शोषण नै हो । पुँजीवादी समाजमा महिलालाई भोग्या वस्तुको रूपमा हेरिन्छ । यो भोग्या इतिहासको अनुहार फेर्नका लागि हामीले युद्ध गर्नुपर्छ । हेर, बुइँनी पाशविक शक्तिले अहिलेसम्म विश्वमा शासन गरिराखेको छ । त्यसैले विश्वको राजनीतिक अवस्था अहिलेसम्म शैशवावस्थामा नै रहिरहेको छ । नेपालको त झन के कुरा गर्नु । भ्रुण अवस्थामा नै छ । यसलाई परिवर्तन गर्न हामी लड्नु पर्छ ।’ जस्ता धेरै ठूला आर्दशका कुरा गर्छिन् ।
यी कुरा सुनेर शिखालाई खपी नसक्नु भो । आफ्ना पीडालाई लुकाउँदै मलिन स्वरमा मन खोलिन् । होला दिदी, तर मेरो मुटुमा बिझेका काँडाहरू थुप्रैछन् । तिनीहरूले घोचेर म पटक–पटक मुर्छित् हुन्छु ।
शिखाको कुरा सुनेर केही कामेको स्वरमा नेतृले भनिन्, हेर बुइँनी पीडा कसका हुँदैनन् र ? । सबैका हुन्छन् । मेरा पनि छन् । मेरी बुइँनी धनकुटा बहुमुखी क्याम्पसमा बिएड पढ्दै थिई । गत महिना घर फर्कने क्रममा ऊ बेपत्ता भई । कसैले भन्छन्, उसलाई राज्य पक्षले सामूहिक बलात्कार गरे । कसैले के भन्छन् । जसले जे भने पनि ऊ अब आउँदिन बुइँनी । ऊ देशका निम्ति सहिद बनी सकी । यति भन्दा भन्दै नेतृले आफूलाई समाल्न सकिनन् । डाको छाडेर रून थालिन् ।
शिखालाई पनि आफ्ना सारा पीडा उनलाई भनेर त्यहाँबाट भागौँ जस्तो लाग्यो । आफूभित्रै दबाएर राखेको पीडाको आँधीबेहरी पोखौँ–पोखाँै हुन्छ । तर उनलाई त्यही जकडेर राख्ने बाध्यताको जञ्जीरको याद आउँछ । उनी रोकिन्छिन् ।
समयका पखेटाहरू आफ्नै गतिमा उडिरहे । ऋतुहरूले पनि आफ्ना काँचुली फेरिरहे । हरबखत आकाशमा मडारिने कालो बादल बिजुलीको गड्गडाहटसँगै विस्तारै–विस्तारै फाट्दै गयो । सूर्यका किरणहरू पृथ्वीमा पुन नौलो आशा भरेर उदाए ।
युद्ध रोकियो । देशमा पनि शान्ति आयो । गणतन्त्र आयो । आफ्नै पाटीको नेतृत्वमा सरकार बन्यो । दीप–शिखाको मनमा खुसीको सीमा रहेन । उनीहरू अब आफूहरूले कल्पना गरेको जनवाद, समाजवादको स्थापना हुने भयो भन्दै खुबै रमाए ।
त्यसपछि केही दिन उनीहरू मुग्ध भएर त्यो नौलो अनन्तमा छिन छिनमा रूप बदल्ने हावाको झोकसँग यता र उता खेल्ने, कपासको भूवाँहरू छरिए झैँ फाटफुट बादलका टुक्राहरूलाई हेर्ने सफलताको कथाको पात्र जस्तै आफूलाई ठान्न पुगे । पिंजडाबाट छुटेको पंक्षी जस्तै उन्मुक्त भएर आकाशमा उड्न चाहन्थे दीप–शिखा । उनीहरू अनन्तमा रमाउँथेँ तर एकैछिनमा आँसु मिश्रित रोदनमा हराउन पुग्थे । कारण उनीहरूको जीवन बदलिएको थिएन । घाउहरू जस्ताको तस्तै थिए । बदलाको लक्ष्य बाँकी नै थियो ।
अचेल, उनीहरू ह्वाकुको बसाइ छाडेर जिल्ला सदरमुकाम म्याङ्लुङ बस्न थालेका छन् । पार्टीले नै उनीहरूलाई खाने, बस्नेलगायतका सम्पूर्ण जिम्मेवारी पूरा गर्ने गरेको छ ।
हिजोआज दीपको छाती असाध्यै दुख्न थालेको छ । अलि बढी सयम हिँड्यो भने सास फेर्न नै समस्या हुन्छ । समस्या धेरै भएपछि ऊ उपचारका लागि धरानस्थिति घोपा क्याम्प पुग्छ । त्यहाँ पुगेपछि उसले थाहा पाउँछ । आफ्नो कुमछेमा लागेको गोली मासुसँग मिलेर बढ्दै मुटुको छेउमा पुगेको छ । अब पनि शल्यक्रिया नगरे त्यसले मुटुको भल्बमा असर गर्छ । यसका लागि उसलाई आठ–दशलाख रूपैयाँ चाहिन्छ । उपचारका लागि ऊ पार्टीका सबै तहमा अपिल गर्छ । जिल्लादेखि क्षेत्र, केन्द्र कतैबाट साथ र सहयोग पाउँदैन ।
कतिपटक ऊ आफैलाई धिकाक्कार्दै भन्छ तत्कालीन समयको फइदा उठाइ म जस्तै राजनीति के हो नै नबुझेको बालकलाई युद्धमा होमियो । सयौँ आमा, दिदी बुइँनीको इज्जत हुर्मत बाँकी रहेन । यस्ता जघन्य अपराधका पीडक अहिलेसम्म खुलेआम आनन्दपूर्वक उच्चस्तरीय जीवन बिताइरहेका छन् । तर म र ती दिदी बुइनी हरपल मरेर बाँचिरहेका छौँ ।
ऊ विगत सम्झदै भन्छ हाम्री तल्ला घरकी ठूली दिदी द्वन्द्वका समयमा सामूहिक बलात्कार सिकार भइन् । उनले बाँच्नका लागि अहिलेसम्म संघर्ष गर्नु परिरहेको छ । उनलाई आजभोलि भिनाजुले अत्यन्तै यातना दिन्छन् रे । हर क्षण भिनाजु दिदीलाई तँ त्यही बेला मर्नु पथ्र्यो, किन बाँचिस् भन्छन् भनेको सुन्छु । भान्जा भान्जीको पनि बिजोक भएको छ अरे आजभोलि ।
यतिमात्र कहाँ हो र दिदीको नागरिकता नहुँदा भान्जा भान्जीको जन्म दर्तासमेत हुन सकेको छैन रे, यसकारण उनीहरू स्कुलसमेत जान पाएका छैनन् रे, दिदीको नागरिकतासमेत रहेन छ । भिनाजुले छाडीदिनुभयो रे, कस्तो बिडम्बना । दिदीको के गल्ती थियो र ? यस्तो यातना भोग्नु र्पयो उनले ?
यो कस्तो भोग्या समाज दिदीको के गल्ती थियो र ? किन यहाँका मान्छेहरू मेरी दिदी जस्ता हजारौँ नारीको शारीरिक पक्षलाई मात्र हेर्छन् ? किन उनीहरूको इमान्दारिता, कर्तव्यपरायणतालाई मूल्यांकन नगरी उनीहरूको कुमारित्वलाई प्राथमिकता दिन्छन् ।
विगतका हरेक घटना उसको आँखा अगाडि अनायसै आउँछन् । ऊ मनमनै भन्छ, ‘हामीले समानताका नाममा, समावेशिताका नाममा, समाजवादका नाममा युद्ध लड्याँै । तर के पायौँ ? छातीमा गोली बोकेर बाँच्नु परेको छ । सयौँ आमा, दिदी बुइँनीहरू बलात्कृत भएर जीवनमरणको दोसाधमा छन् ।’ भन्दै आफैलाई धिक्कार्न पुग्छ दीप ।
त्यसैबेला शिखा दीपको कोठमा टुपलुक्क आइपुगी । दीप उनलाई सधैभन्दा फरक पाउँछ तर केही भन्न सक्दैन । शिखाले उसको स्वास्थ्यका बारेमा सोद्छ् । कति कर गर्दा पनि ऊ केही बोल्दैन । विस्तारै सानो स्वरमा बोल्यो ‘शिखा किन आयौँ ? बरू उसका कुरा टारी दिन्छ । हुन त उसलाई पनि मनको सबै पीडा खौलौँ जस्तो लागेर आयो । भन्नौ जस्तो लाग्यो । तर, सकेन । लामो श्वास र्फेयो अनि भन्यो । शिखा, अब धेरै दिन छैन म तिमीसँग रहने । तिमीलाई छोडेर जाँदै छु धेरै टाढा । यति भनेपछि उसको गला अबरूद्ध भयो ।
शिखा अलमलमा परी । छक्कपरी । मनमनै सोची सधै पे्रम, विवाह भनेर वाक्क दिक्क पार्ने मान्छेबाट आज कसरी यस्तो निराशाजकन अभिव्यक्ति आउँदैछ । कोठामा अनायसै सन्नाटा छायो । शिखा कोठाको वातावरण परिवर्तन गर्ने सोचमा पुग्छिन, ‘दीप, हामीले कस्तो युद्ध लड्यौँ ? बदला, अपमान, प्रतिशोध वा अनेक नाममा १५ हजारभन्दा बढी दाजुभाइ, दिनीबैनी मारिए । हजारौँ बेपत्ता भए । सयौँ दिदीबैनीको इज्ज्यत लुटियो । हजारौँ आमाबुबाहरू मानसिक रूपमा विक्षिप्त भए । हजारौँको उठीबास भयो ? देश विकासको गति थप ४० वर्ष पछाडि धकेलियो ।’
समय बित्दै गयो । एकदिन शिखाको कोठामा एकजना आइमाइ आइन् । घर त्यतै ओयाक्जुङतिर । उमेर त्यस्तै २७, २८ वर्षकी । पछि थाहा भयो । उनको नाम तारा रहेछ । तारा उनीसँग भन्छिन्, ‘मलाई सधै औँसीको रातले छोप्यो । तिमीहरूको जस्तो जुनेली रातले कहिल्यै देख्न सकेन । असंख्य ताराहरूले देखे । नितीहरूले मलाई आफन्त पनि बनाए तर तिनीहरूले सधै मलाई गिज्याइरहन्छन् । तिमीहरूले सुराकीको नाउँमा मेरो पतिलाई मारीदियौँ । त्यसपछि मलाई अलच्छिनी भनेर आफन्तले घरदेखि निकाली दिए । अब म कहाँ जाउँ ? युद्ध पनि तिमीहरू नै लड्छौ । पीडित पनि तिमीहरू नै । उनी अझै कड्किक्दै भन्छिन्, ‘हेर शिखा तिमीहरू अहिले द्वन्द्व पीडित बनेर राज्यबाट प्राप्त सेवा सुविधा लिन्छौ ? के यसैका लागि तिमीहरूले युद्ध लडेका थियौँ त ?’
रिसले चुर भएकी तारा शिखालाई बीचैमा रोकेर भन्छिन्, ‘हेर शिखा तिमी परिवर्तनका कुरा गर्छौँ, के को परिवर्तन भएको देख्छौँ तिमी यहाँ ? नौ महिने शिशुदेखि लिएर ७५ वर्षीया वृद्ध महिलासमेत बलात्कृत भइरहेका छन् । दैनिक औसतमा चारजना बालिका तथा महिला बलात्कृत हुने गरेका छन् । कतिपय बालिकालाई बलात्कारपछि मारिएको छ भने कतिलाई जीउँदै जलाइएका उदाहरण थुप्रै छन् । खै त तिम्रो परिवर्तनले यस्ता घटना रोक्न सकेको ? खोइ त यस्ता अपराधीलाई कानूनी दायरामा ल्याउन सकेको ? बरू हामीले निर्लज्जतापूर्वक यस्ता अपराधीलाई संरक्षण गरेका छौँ भनन । महंगी बढेर खपसिक्नु छैन । भ्रष्टाचारको जालो जताततै छ्याप्छ्याप्ती फैलिएको छ । यसलाई परिवर्तन भन्छौँ तिमेरु ?’
अरू म जान्दिन शिखा, तिमीहरूले म जस्ता धेरैलाई उठिवास लगायौँ । अहिले पनि कलिला बालिकाको बलात्कारीलाई फासीको सजायँ दिने कानुन बनाउन सकेनौँ । बरू तिमेरु सबै दक्षिणतिर जाउँ र गुप्तवास बस् । अनिखेर योग्य व्यक्तिलाई शासन गर्ने मौका मिल्छ । चाहे त्यो दोस्रो जङ्गबहादुर नै किन नहोस् । कम्तीमा जातिका नाममा साम्प्रदायिकता भड्काउन बन्द गरोस् । क्षेत्रीयताका नाममा एकले अर्कालाई अपमान गर्न रोकोस् ।
यता दीपको स्वास्थ्य दिनप्रतिदिन बिग्रदै गइरहेको छ । उसको छाती हात, खुट्टा असाध्यै दुख्न थालेका छन् । उसलाई छिनछिनमा सास फेर्न गाह्रो हुन थालेको छ । हरबखत उसलाई असह्यै पीडा हुन थालेको छ । उसले राम्ररी बुझेको छ अब ऊ धेरै दिन बाँच्न सक्दैन । शिखालाई भेट्न उसको कोठामा मुस्किलले पुग्छ ।
कोठामा शिखा देखिइनन् । सम्पूर्ण सामान यत्रतत्र छरिएका छन् । खाटमा लुगा फालिएको छ । किताबहरू छरपस्ष्ट देखेर अचम्म मान्दै सबै किताबतिर नजर लगायो । कुन्नि किन हो । किताबहरू एकाएक गर्दै हेर्न थाल्यो । किताबको बीचतिर एउटा बाहिरी गाता च्यातिएको, भित्रका पानाहरू पनि खुम्चिएका, रङ्ग उडेको, डायरी भेट्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies