–डा. उद्धव पुरी
नेपालमा पूर्ववत् आन्दोलनहरू झैँ वि.सं.२०८२ साल भाद्र २७ गते रातमा एउटा सम्झौता भयो । जसले जेनजीले चलाएको भ्रष्ट शासक विरुद्धको सफल आन्दोलनलाई विश्राम दिलायो । तर, यो परिवर्तन होइन, सम्झौता हो । यसले जेनजीले सोचेझैँ वा हामी नेपालीले चाहे झैँ परिवर्तन दिन्छ भनी अहिलै विश्वासगरी मान्न सकिँदैन । किनभने यथास्थितिमा व्यक्ति परिवर्तन भएका छन्, व्यवस्था र प्रणाली भत्किएको छैन । विगत यस्तै हो । केवल विगतभन्दा फरक यो आन्दोलन गर्ने माटोको टीका लगाउने नेपाली छन् र देशको हालतमा आफ्नो भविष्य देख्ने आफन्तको स्वार्थ नदेख्ने मृत्युवरणमा होमिएका युवा पुस्ता छन् । यो आन्दोलन कुनै वादको खोल नओढी र कोही कोठामा लुकेर निर्देशन नगरी चलेको देखिन्छ । उनीहरूसँग कुनै वादको बिल्ला छैन । जन्मले नेपाली हुन् कतिले नागरिकता पनि बनाएका छैनन् होला ।
हामीले विगतमा पटक पटक धोका खायौँ । उनीहरू धोका खान चाहँदैनन्, बदला कस्तो हुन्छ करिब ३६ घण्टाभित्रमा देखाइदिए । भन्न त केहीले यसलाई अमेरिकी मोडल पनि भन्दछन् । प्रमाणित भएपछि मानौला । नेपालीको विश्वास टुट्न हुँदैन । सुशीला कार्कीप्रतिको विश्वासको समर्पण स्वरूप एक भाइले नेपाल आमाको माटोमा टेकिएको उनको खुट्टामा सम्पूर्ण जेनजीको शिरको भारी बिसाएका छन्, उनी रोए अनि सुशीला, आमा बनी भक्कानिइन् । यो शीतल निवासभित्रको दृश्य विगतमा झैँ कतै कोठामा भएको सहमति र सम्झौतापछिको नाटक मञ्चन होइन । सबै नेपालीले बुझेको र देखेको एउटै यथार्थता हो । त्यसैले विगत र वर्तमान आफैमा फरक छ । नेतृत्व गर्नेले विगतमा झैँ धर्म र कर्म नबिर्से यो सम्झौता परिवर्तन मार्गमा जान सक्छ र नजाँदा तत्काल ३६ घण्टामा गरिएको भन्दा नराम्रो हाल हुनसक्छ भन्ने अनुमान गर्नै पर्छ । त्यसैले अब नेपालमा नेपालीले नै आफ्नो माटो चुम्न पाउनु पर्छ । जन्म, बाँच्न र मृत्यु भोग्न पाउनु पर्छ । पृथ्वीनारायण शाह, जङ्गबहादुर र महेन्द्रले झैँ अब कोहीले बनेर देखाउने अवसर आएको छ । जसले परिवर्तन र जनविश्वासलाई आधुनिक प्रजातन्त्र अनुरूप बनाउन सकोस् । उ देशको लागि महान् हुन्छ ।
विश्व इतिहासलाई हेर्दा, आन्दोलन पछि सम्झौता वा परिवर्तन दुई स्वरूप देखिएको पाइन्छ । सम्झौता भएका ठाउँमा ढिलो चाँडो कि परिवर्तनै हुँदैन वा कि परिवर्तन कछुवा गतिमा भएको हुन्छ । जहाँ परिवर्तन हुन्छ, त्यहाँ केही समय अन्योल भए पनि परिवर्तनले तीव्रता पाउँछ । चाहे सम्झौता होस् वा परिवर्तन कसैको बुई चढेर भएको छ भने त्यहाँ अवसरवादी, अघोषित र कथित प्रजातान्त्रिक तानाशाही हुन्छन् । हाम्रो विगत यही पछिल्लो कोटीमा देखिन्छ । नेपालीले गरेको पहिलो ठूलो आन्दोलन भनेको वि.सं. २००७ सालको क्रान्ति हो । जुन समय राणासँग बदलाको मनसाय राख्नेहरूको नेतृत्व ज्यादा भएको र भारतीय पृष्ठपोषक सम्झौता भएकोले परिवर्तनका लागि सम्भव भएन । आत्म साक्षी राखेर भन्नुपर्छ राजा महेन्द्र नभएको भए नेपाल नाम आजसम्म हुन्थ्यो कि हुँदैन थियो, पूर्वाग्रही नभई इतिहासलाई पढे पुग्छ । त्यसैगरी वि.सं.२०३६ र २०४६ सालका आन्दोलनहरू जनसहभागितामा भएका थिए । तर, पनि अन्तिम अवस्थामा त्यही सरकार र त्यही संविधानमा रहेर सम्झौता गरेर मार्ग खोजियो । सत्तामा केही नयाँ व्यक्ति जोडिए । छिट्टै परिवर्तनको मार्ग मोडियो । वि.सं. २०६२/०६३ को आन्दोलन धेरै प्रकारका तत्व र चाहनाको मिश्रणको उपज बन्न पुग्यो । जनताले नसोचेको परिवर्तनहरू गराइए । धेरै परिवर्तन सबैका लागि अनुकूल भएनन् । त्यसपछि दलहरूको दलीय सिद्धान्त, कार्य र व्यवहार व्यक्तिवादी भए । देश भविष्य विहीन रूपमा अगाडि बढेको झैँ देखिँदै गयो । सरकार परिवर्तन भए देश विकासको मार्गमा लम्कनै सकेन । जसको मूल कारण संविधान हो भन्नेहरू बढ्दै छन् ।
नेता सत्तामा हुँदा र नहुँदाका व्यक्त विचार विश्वास योग्य भएनन् । बिचौलिया र गुण्डागर्दीको हौसला सरकारका तिनै अंगमा पुगेको जस्तो भयो । जनभावना र जनचाहना लत्तिँदै गयो । सरकार गठबन्धनमा तीन/चार जनाको औँलामा परिचालित हुन थाल्यो । तिनै दलहरूका अधिकांश युवा पुस्ता पनि मन्दिरका पुजारी जस्ता भए । कुनै पनि क्षेत्रमा विज्ञको जरुरत भएन, पद र पैसामा विज्ञताको बदनाम बढ्दै गयो । अनुभव र अध्ययनले खारिएको चाहिने पदमा पनि जीवनभर एउटा पनि विषयगत पुस्तक नपढेकाहरूको मनगढन्ते हालीमुहाली भयो । राजा बोक्नेदेखि सहकारी ठोक्नेसम्म र स्वदेश बिर्सेका विदेशीसम्म उचालिन थाले । केहीले सुधारिने मौका नि पाएका थिए, तर सत्तामा पुग्दा उनीहरूको काम गौण रूपमा हेर्दा, देशको लागि अहितमा नै देखियो । सत्ता परिवर्तन जनचासोको विषय बन्न छोडिसकेको थियो । आन्दोलन आवश्यक थियो । नेतृत्व सही र परिमार्जित देखिएन । यो अलमलको स्थितिमा देशको भविष्य मानिने र उनीहरूकै लागि चाहिने युवा पुस्ता जेनजीका नाममा आए ।
आन्दोलनको पहिलो दिनको रातीदेखि भोलिपल्टको तोडफोड, आगजनी र जेल तोड्नेदेखि सरकारी सम्पत्तिको हानी नोक्सानी हेर्दा जेनजी पुस्ताले कति विषयमा आफूहरूको योजना र कार्यक्रम नभएको स्वीकारेका छन् । घुसपैठ र दलीय प्रदेशको विरोध लखेटाइले यसलाई प्रमाणित गरेको देखिन्छ । अचम्मको कुरा दुई दिन सरकार नबन्दा दलका नेता र कार्यकर्ताहरू सत्ता मोहमा निस्किए । आफ्नो र राज्यको नोक्सानमा कुनै मन कुँडिएको महसुस हुँदैन । उनीहरूले चाहेजस्तै वा केही दिनपछि आफैँले सत्ता सम्हाल्ने दाउ वा मनसाय राखेअनुसार त हुन सकेन । तर, पनि आंशिक रूपमा उनीहरू पनि हारेछन् भन्न मिल्दैन । राष्ट्रपतिले राजीनामा नदिएकाले र त्यही संविधानमा रहेर त्यही व्यवस्थाअनुरूप नयाँ प्रधानमन्त्री सुशीला कार्की बन्नु भएको छ । उमेर, न्याय क्षेत्रमा न्याय क्षेत्रकै मानिसहरूको विश्लेषणमा पूर्ण स्वच्छ नभएको, भारत निकट आरोप र परिवार वा उनका श्रीमान् कांग्रेस निकट भएकोले जेनजी पुस्ताको मनोभावनामा केही निराशाजनक अवस्था आउन सक्ने आकलन पनि भएकै छ ।
तर विगतलाई छोडेर हेर्दा, अदालतबाट बाहिर आएपछिको निडर र देश प्रेमको आवाज र शीतल निवासमा संसद विगठनको अडान र परिवर्तनको नेतृत्वका लागि जुरमुराएको देख्दा उहाँमाथि धेरैको विश्वास देखिन्छ । यति भन्ने ठाउँ विगतमा नेताहरूले देखाएको विश्वास घातले नै हो । यहाँ एउटा कथा जोड्न सकिन्छ । भगवान् मानिएका कृष्णको श्रीमती रूकमणी हुन्, राधा श्रीमती हैनन् । उनी कृष्णलाई माया गर्ने मयालु हुन् । कृष्ण बिरामी परेपछि कुनै ज्योतिषीको भनाइमा कृष्णलाई माया गर्ने महिलाको जुत्ताको पानी खान दिए मात्र उनको रोग निको हुने भनियो । कृष्णलाई बचाउन सबैले रूकमणीलाई जुत्ताको पानी खुवाउनभन्दा उनले सात जुनीसम्म कृष्णको साथ चाहिन्छ भन्दै श्रीमानलाई जुत्ताको पानी खान दिएर पाप नगर्ने भनी मान्दै मानिन् । कृष्णलाई मर्न दिन भएन र राधालाई बोलाई सोही कुरा भन्दा राधाले मेरो प्रिय कृष्णलाई बचाउन आफू जस्तोसुकै पाप गर्न पनि तयार भएको बताइन् र जुत्ताको पनि खान दिइन् । उनलाई आफ्नो बारेमा कुनै चिन्ता भएन । त्यही निःस्वार्थ प्रेमको प्रतिफलले नै राधा कृष्ण बने । रूकमणी कृष्ण बनेन । अहिले सुशीलामाथिको विश्वास स्वार्थको हैन देश प्रेम हो । उनले प्रमाणित गर्नुपर्छ ।
देशमा विकास र परिवर्तन देख्न चाहने जेनजी र अन्यका लागि नयाँ सरकार र प्रधानमन्त्री छनौट एउटा सफलता हुन सक्ला । तर, यो व्यवस्था परिवर्तनसँगै आएको हैन । संविधान उही छ । प्रतिनिधि सभा र संघीय सरकारको प्रधानमन्त्री र मन्त्री मात्र फेरिने छन् । प्रदेश र स्थानीय सरकार जस्ताको तस्तै छ । कुनै राजनैतिक दल र नेता प्रतिबन्धित छैनन् । राष्ट्रपतिमा संविधान प्रदत्त विशेष अधिकार समेत रहेकै छन् । बाँकी दुई तहका स्थानीय सरकारमा धेरैजसो यिनै बा र हजुरबाहरूलाई मान्ने र उनीहरूद्वारा बनाइएका उनीहरू जस्तै : प्रवृत्तिका नेता कार्यकर्ता छन् । दल र केही नेता भन्नेहरूले संसदबाटै सरकार बनाउनु पर्नेदेखि सरकार सर्वदलीय हुनुपर्छ भन्ने माग उठाइसकेका छन् । कर्मचारीतन्त्रमा बहुमत उनीहरूसँगै मिली खानेहरू छन् । न्याय क्षेत्रमा पनि अनुभव र अध्ययनभन्दा दलीय भाग मा नियुक्ति भएका धेरै छन् भन्ने आरोप छँदै छ । विदेशी स्वार्थ नमिले भड्काऊ छिमेकी र विदेशी देशहरू पनि छन् । संविधानअनुरूप प्रतिनिधिसभा भंग, संकटकाल र निर्वाचन तिथि तोकिनु सकारात्मक पक्ष हो । एक प्रकारले काम चलाऊ सरकार र त्यसको काम संविधानले तोके अनुरूप हुने र राष्ट्रपति त्यसको पहरेदार बन्दछन्, जो कांग्रेसको तर्फबाट छन् । त्यसैले नयाँ मन्त्रीमण्डले जेनजीको नेतृत्वदायी काम सोचेअनुरूप गर्न सक्दैन ।
धेरै विज्ञ र शुभचिन्तकहरूले देशमा सोचेजस्तो परिवर्तन ल्याउनका लागि शून्य महत्वपूर्ण मानिन्छ भन्ने ठान्दछन् । दलीय चिन्ता र निहित स्वार्थ नभएकाहरू संविधान नै निलम्बन गरी निर्वाचित सबै तहका सरकार विघटन गर्नुपर्ने, संविधान पुनर्लेखन गर्नुपर्ने, पेशागत व्यवसायमा दलीय संगठनको अन्त्य गर्नुपर्ने, राष्ट्रिय दोषीलाई तत्काल कारबाही र निरूत्साहित गर्दै निर्वाचनलाई अलि टाढा सार्नुपर्ने ठान्दछन् । जसले यसपटकको आन्दोलनको मात्र हैन विगतदेखिको नेपालीको नेपाल बनोस् भन्ने सपनालाई सकारात्मक परिवर्तनको मार्गमा लान सक्ला भन्ने लाग्दछ ।