२०८३ कार्तिक ४ गते बुधवार / Oct 21 , 2026 , Wednesday
२०८३ कार्तिक ४ गते बुधवार

मिनालाई पिपल्स च्वाइस अवार्ड, एरिका लगातार तेस्रोपटक उत्कृष्ट वर्ष खेलाडी

Nada
२०८३ भदौ १८ गते २१:२५
Shares
मिनालाई पिपल्स च्वाइस अवार्ड, एरिका लगातार तेस्रोपटक उत्कृष्ट वर्ष खेलाडी

काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)द्वारा आयोजित २३औं संस्करणको पल्सर स्पोर्ट्स अवार्ड २०८२ मा विभिन्न विधाका उत्कृष्ट खेलाडी, प्रशिक्षक र प्रतिभाहरू सम्मानित भएका छन् । यस वर्षको पिपल्स च्वाइस अवार्ड भलिबल खेलाडी मिना सुनारले जितेकी छन् ।

ncell

उनले कुल मतको २९.०४ प्रतिशत प्राप्त गर्दै शीर्ष स्थान हासिल गरिन् । मिक्स्ड मार्सल आर्टका रविन्द्र ढाँट २४.५३ प्रतिशत मतसहित दोस्रो भए । अन्य प्रतिस्पर्धीहरूमा करातेकी सानुमाया थिङ (१८.४८ प्रतिशत), फुटबलकी पूजा राना (१४.७५ प्रतिशत) र क्रिकेटका शेर मल्ल (१३.२५ प्रतिशत) रहेका थिए । यस विधामा एसएमएसबाट ५० प्रतिशत, सामाजिक सञ्जालबाट २५ प्रतिशत, राष्ट्रिय प्रशिक्षकबाट १२.५ प्रतिशत र खेलकुद पत्रकारबाट १२.५ प्रतिशत मतभार निर्धारण गरिएको थियो । अवार्डसँगै मिना सुनारले पल्सर मोटरसाइकल प्राप्त गरिन् ।

त्यस्तै, वर्ष उत्कृष्ट महिला खेलाडीको उपाधि करातेकी एरिका गुरुङले लगातार तेस्रो पटक जित्दै आफ्नो प्रभुत्व कायम राखेकी छन् । अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गरेकी एरिकाले मोरक्कोमा सम्पन्न कराते वान प्रिमियर लिगमा कांस्य, टर्की र चीनमा आयोजित सोही स्तरका प्रतियोगितामा रजत तथा मलेसियामा स्वर्ण पदक जितेकी थिइन् । साथै, थाइल्यान्ड ओपनमा व्यक्तिगत र टिम दुवै स्पर्धामा स्वर्ण जित्दै उनले वर्षभर उत्कृष्ट प्रदर्शन गरिन् । यस विधाको मनोनयनमा एरिका गुरुङसँगै साबित्रा भण्डारी, सानुमाया थिङ, सन्तोषी श्रेष्ठ र सबिना श्रेष्ठ परेका थिए ।

वर्ष उत्कृष्ट पुरुष खेलाडीको अवार्ड बक्सिङका चन्द्र थापाले जितेका छन् । उनले दुबईमा सम्पन्न अन्तर्राष्ट्रिय बक्सिङ महासंघ पुरुष विश्व च्याम्पियनसिपमा कास्य पदक जित्दै विश्व स्तरमा पदक जित्ने पहिलो नेपाली मुक्केबाजको इतिहास रचे । उक्त उपलब्धिसँगै उनले ७५ हजार अमेरिकी डलर पुरस्कारसमेत प्राप्त गरेका थिए, जुन नेपाली खेलाडीले व्यक्तिगत रूपमा जितेको अहिलेसम्मकै ठूलो रकम हो । साथै, भुटानमा भएको फोर नेसन्स प्रतियोगितामा उनले रजत पदक जितेका थिए । मनोनयन सूचीमा सोमबहादुर कुमाल, प्रदीप बैजाली मगर, दीपेन्द्रसिंह ऐरी र सद्भाव आचार्य पनि थिए ।

वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड कराते प्रशिक्षक कुशल श्रेष्ठलाई प्रदान गरिएको छ । उनको प्रशिक्षणमा एरिका गुरुङले अन्तर्राष्ट्रिय स्तरमा पदक जित्नुका साथै अन्य खेलाडीहरूले पनि उल्लेखनीय सफलता हासिल गरेका छन् । चीनमा सम्पन्न २३औं क्याडेट, जुनियर तथा यु–२१ च्याम्पियनसिपमा रेहान जाबेद र मनिषाकुमारी बोहोराले कास्य जितेका थिए भने श्रीलंकामा सम्पन्न दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपाली टोलीले स्वर्ण पदक जित्दा पनि श्रेष्ठ प्रशिक्षकको रूपमा रहेका थिए । यस विधामा दीपक महर्जन, मण्डेकाजी श्रेष्ठ, स्टुआर्ट ल र पुरनसिंह खत्री मनोनयनमा परेका थिए ।

युवा वर्ष खेलाडीको अवार्ड करातेकी मनिषाकुमारी बोहोराले जितेकी छन् । उनले चीनमा सम्पन्न यु–२१ च्याम्पियनसिपमा कास्य र श्रीलंकामा भएको दक्षिण एसियाली च्याम्पियनसिपमा स्वर्ण पदक जितिन् । साथै, राष्ट्रिय स्तरमा पनि उत्कृष्ट प्रदर्शन गर्दै ५६औं राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण जितेकी थिइन् । यस विधामा अर्पिल राना, रेहान जाबेद, पुरुषोत्तम दाहाल र रौनक श्रीवास्तव पनि मनोनयनमा थिए ।

यसैगरी, कराते खेलको विकास, खेलाडी उत्पादन र प्रशिक्षणमा दीर्घ योगदान पु¥याएको भन्दै कराते प्रशिक्षक ध्रुवविक्रम मल्ललाई विशेष अवार्ड प्रदान गरिएको छ ।

uae

सम्बन्धित खबर