२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

डेंगु नियन्त्रण गर्न स्थानीय तहका जनप्रतिनिधिसँग छलफल

ADV
मध्यान्ह
२०८१ साउन ३१ गते १६:५२
डेंगु नियन्त्रण गर्न स्थानीय तहका जनप्रतिनिधिसँग छलफल

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले काठमाडौं उपत्यकामा डेंगु नियन्त्रण गर्ने विषयमा उपत्यकाका स्थानीय तहका जनप्रतिनिधिहरुसँग छलफल गरेका छन् । काठमाडौं, भक्तपुर र ललितपुरमा डेंगु संक्रमितको संख्या वृद्धि भएसँगै महामारीको रुप लिनसक्ने जोखिम देखिएपछि नियन्त्रणका लागि आवश्यक सहकार्य गर्न मन्त्री पौडेलले स्थानीय तहका जनप्रतिनिधिहरुसँग छलफल गरेका हुन् ।

छलफलमा मन्त्री पौडेलले स्थानीय तहसँग मिलेर काम गर डेंगुे नियन्त्रण गर्न सकिने बताए । उनले नीतिगत निर्णय र थप सहकार्यका लागि मन्त्रालय तयार रहेको उल्लेख गरे । “उपत्यकामा डेंगु नियन्त्रण हामीले प्राथमिकतामा राखेका छौं”, उनले भने, “आम नागरिकलाई जोगाउन सहकार्य जरुरी छ ।”

साउनदेखि फैलिएको डेंगु भदौ र असोजमा थप फैलन सक्ने जोखिम रहेको विज्ञहरुको भनाइ उद्धृत गर्दै मन्त्री पौडेलले भयावह हुन नदिन स्थानीय तहबाट साथ र सहकार्यको अपेक्षा गरेको बताए । उनले सरसफाइको कमीका कारण सङ्क्रमण फैलने भएकाले मन्त्रालयले देशैभर सातामा एक दिन एकै समयमा सफाइ अभियान सञ्चालन गर्न लागेको जानकारी दिए । उक्त सफाइ अभियानमा स्थानीय तह र प्रदेशको साथ मिलेमा देशैभर सफाइ अभियान थालिने बताए ।

हाल मन्त्रालयले डेंगु जोखिमलाई ध्यानमा राखेर सातै प्रदेशका अस्पतालमा बेग्लै डेस्क स्थापना गरी उपचार थालेको छ । अब उपचारसँगै थप संक्रमण हुन नदिन वडा तहसम्म सचेतना विस्तार गर्न उहाँले आग्रह गर्नुभयो । मन्त्रालयले स्थानीय तहलाई हरसम्भव साथ दिने प्रतिबद्धता उनले जनाए ।

मन्त्रालयका अतिरिक्त सचिव दीपेन्द्ररमण सिंहले जमेको पानी मात्र कम गर्न सकिए संक्रमण न्यूनीकरणमा धेरै सहयोग हुने धारणा राखे । छलफलमा सहभागी काठमाडौं, भक्तपुर तथा ललितपुरका स्थानीय तहका प्रमुख तथा उपप्रमुखले आफ्ना तर्फबाट भएका प्रयासहरुको जानकारी गराएका थिए । उनीहरुले डेंगु तथा हैजा नियन्त्रणमा हातेमालो गर्न तयार रहेको प्रतिबद्धता जनाए ।

गाउँपालिका तथा नगरपालिका महासंघका प्रतिनिधिहरुले पनि एक्लाएक्लै काम गर्ने प्रवृत्ति रहेकाले तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise