२०८३ कार्तिक ८ गते आइतवार / Oct 25 , 2026 , Sunday
२०८३ कार्तिक ८ गते आइतवार

विदेशबाट बाढीपीडितका लागि आउने राहत सामग्रीको हवाई ढुवानी नि:शुल्क

Nada
२०८३ भदौ २४ गते १८:०४
Shares
विदेशबाट बाढीपीडितका लागि आउने राहत सामग्रीको हवाई ढुवानी नि:शुल्क

काठमाडौँ : नेपाल वायुसेवा निगमले बाढी तथा प्राकृतिक विपदबाट प्रभावित नागरिकका लागि विदेशबाट पठाइने राहत सामग्रीको हवाई ढुवानी नि:शुल्क गर्ने निर्णय गरेको छ ।

ncell

निगमले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्ना अन्तर्राष्ट्रिय स्टेसनबाट नेपाल पठाइने राहत सामग्रीमा लाग्ने सम्पूर्ण ढुवानी शुल्क एक महिनाका लागि छुट दिने भएको हो ।

नि:शुल्क ढुवानी सुविधा प्राप्त गर्न राहत सामग्री पठाइने मुलुकस्थित नेपाली दूतावास वा सम्बन्धित दूतावाससँग समन्वय गर्नुपर्ने निगमले जनाएको छ ।

दूतावासको आधिकारिक पत्रका आधारमा बाढीपीडितका लागि पठाइने सामग्रीमा मात्र ढुवानी शुल्क छुट दिइनेछ । यसबाट राहतका नाममा हुन सक्ने दुरुपयोग नियन्त्रण गर्दै वास्तविक सहायता प्रभावित नागरिकसम्म पुर्‍याउन सहज हुने निगमको अपेक्षा छ ।

शुल्क छुटको सुविधाअन्तर्गत खाद्यान्न, औषधि, लत्ताकपडा तथा विपद् प्रभावित समुदायका लागि आवश्यक अन्य राहत सामग्री नेपाल ल्याउन सकिनेछ ।

सम्बन्धित दूतावासबाट राहत प्रयोजन प्रमाणित भएपछि निगमका अन्तर्राष्ट्रिय उडानमार्फत ती सामग्री नि:शुल्क ढुवानी गरिने जनाइएको छ ।

विपद्का बेला विदेशस्थित व्यक्ति, संस्था तथा समुदायबाट प्राप्त हुने मानवीय सहयोगलाई छिटो र प्रभावकारी रूपमा नेपाल भित्र्याउन यो निर्णय गरिएको निगमले जनाएको छ ।

हवाई ढुवानी शुल्क छुटबाट विभिन्न मुलुक तथा सङ्घसंस्थाले पठाउने राहत सामग्री शीघ्र नेपाल ल्याई प्रभावित समुदायसम्म पुर्‍याउन सहयोग पुग्ने निगमको विश्वास छ ।

ताजा खबर

सम्बन्धित खबर