
स्पेन : रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै स्पेनको कोस्टाब्लांकामा शोकसभा सम्पन्न भएको छ ।
नेपाल समाज एसोसिएसन कोस्टाब्लांका र गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति कोस्टाब्लांकाको संयुक्त आयोजनामा कोस्टाब्लांकामा शोकसभा गरिएको हो । कार्यक्रममा समाजका अध्यक्ष केशरबहादुर थापाले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे । उनले बेपत्ता नागरिकहरूको तत्काल खोज तथा उद्धार गर्न नेपाल सरकारसँग आग्रह गर्दै प्रभावित परिवारलाई आवश्यक राहत उपलब्ध गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।
शोक मन्तव्यका क्रममा स्पेन भ्रमणमा रहेका गायक श्रीकृष्ण बम मल्ल र गायिका लक्ष्मी मल्लले बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्न सबै नेपालीलाई अपिल गरे ।
शोकसभामा एनआरएनए स्पेनका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र भुजेल थापा, उपाध्यक्ष देबराज सापकोटा, एनआरएनए क्षेत्रीय समिति कोस्टाब्लांकाका अध्यक्ष बिपिन बुढाथोकी, नेपाल समाज एसोसिएसनका संरक्षक मुकुन्द लामिछाने, संरक्षकहरू विनोद शेरचन, स्मृति गौतम र विजय थापा, एनआरएनए स्पेनकी पूर्व महिला उपाध्यक्ष सृजना लामिछाने, समाजकी उपाध्यक्ष डा. सबिता पाठक, एनआरएनए क्षेत्रीय समिति कोस्टाब्लांकाका सहसचिव डा. बृहस्पति पण्डित, गोविन्द पोखरेल, ओजस्वी पण्डित, ब्रीति पण्डित पाठक लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन समाजका कार्यवाहक महासचिव अशिम लोप्चनले गरेका थिए ।
कार्यक्रममा सहभागीहरूले मृतकहरूको सम्झनामा मौनधारण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए । साथै, बेपत्ता नागरिकहरूको सकुशल उद्धार, घाइतेहरूको उपचार तथा बाढीपहिरोबाट प्रभावित परिवारलाई आवश्यक राहत र सहयोग उपलब्ध गराउन सम्बन्धित निकायसँग आग्रह समेत गरेका थिए ।