२०८३ कार्तिक ८ गते आइतवार / Oct 25 , 2026 , Sunday
२०८३ कार्तिक ८ गते आइतवार

सुरुङमा फसेकाको उद्धारमा के हुँदैछ ? अपडेट

Nada
२०८३ भदौ २४ गते १९:५९
Shares
सुरुङमा फसेकाको उद्धारमा के हुँदैछ ? अपडेट

काठमाडौं : रसुवाका विभिन्न जलविद्युत् आयोजनाका सुरुङ तथा पावरहाउसमा फसेका व्यक्तिको खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ । सेनाका अनुसार विभिन्न आयोजनामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोली परिचालन गरिएको छ ।

ncell

रसुवागढी जलविद्युत् आयोजनामा कम्पोजिट क्विक रेस्पोन्स टिम तथा आयोजनाका प्रतिनिधिसहितको संयुक्त खोज तथा उद्धार टोली पावरहाउस, ट्रान्सफर्मर कक्ष र नियन्त्रण कक्षसम्म पुगेर थप खोजी गरिरहेको छ ।

भोटेकोशी जलविद्युत् आयोजनाको सुरुङमा नेपाली सेनाको खोज तथा उद्धार टोली करिब ५० मिटरभित्र पुगेर खोजतलास गर्दा एक शव फेला पारेको छ । घटनास्थलमा थप खोजी कार्य भइरहेको सेनाले जनाएको छ ।

लाङटाङ जलविद्युत् आयोजनामा पनि संयुक्त उद्धार टोलीले खोजी जारी राखेको छ । सुरुङभित्र पानीको मात्रा कम गर्न च्यानल निर्माणको काम भइरहेको छ ।

चिलिमे जलविद्युत् आयोजनामा विदेशी प्राविधिकसहितको संयुक्त टोली सुरुङभित्र करिब १४० मिटर प्रवेश गरेर खोजी गरिरहेको छ । सेनाका अनुसार संयुक्त टोलीले अवाटा ड्रोनमार्फत ४० मिटरसम्म खोजी गर्दा केही फेला परेको छैन । सुरुङसम्म भारी उपकरण लैजान पहुँचमार्ग निर्माण भइरहेको छ । चट्टानी भूभागमा करिब २५ मिटर भाग विस्फोट गरी हटाउनुपर्ने भएकाले सो क्षेत्रमा सडक निर्माणको काम भइरहेको छ ।

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाअन्तर्गत हाकुबेशीस्थित अडिट–३ सुरुङमा विदेशी प्राविधिकसहितको संयुक्त टोली करिब एक हजार दुई सय मिटरभित्र प्रवेश गरी खोजी गरेको छ । अहिलेसम्म केही फेला नपरेको सेनाले जनाएको छ ।

त्रिशूली–३ ए जलविद्युत् आयोजनाको पावरहाउस तथा सुरुङ क्षेत्रमा पनि खोज तथा उद्धार जारी छ । त्यहाँ नेपाली सेनाका ३५, नेपाल प्रहरीका १० र सशस्त्र प्रहरीका १० जनासहित आयोजनाका प्रतिनिधि सम्मिलित संयुक्त टोली परिचालन गरिएको छ ।

त्रिशूली–३ बी आयोजनामा नेपाली सेनाका ८७, नेपाल प्रहरीका चार र सशस्त्र प्रहरीका १० जनासहित आयोजनाका प्रतिनिधि संलग्न संयुक्त टोलीले तीनवटा एक्स्काभेटर प्रयोग गरी खोजी गरिरहेको छ । करिब ११ मिटर गहिराइमा उत्खनन गर्ने क्रममा करिब चार फिटको बीम/पिलर तथा केही इँटा फेला परेको सेनाले जनाएको छ । त्यहाँ पनि थप खोजी जारी छ ।

नेपाली सेनाका अनुसार सबै आयोजनामा उपलब्ध स्रोत, जनशक्ति र उपकरणको प्रयोग गरी खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ ।

ताजा खबर

सम्बन्धित खबर