
काठमाडौं : गत वर्ष भदौ २४ गते आगजनीबाट ध्वस्त भएको भाटभटेनी सुपरमार्केटको धरानस्थित स्टोर एक वर्षपछि पुनः सञ्चालनमा आएको छ । आगजनी भएको ठिक एक वर्षकै दिन स्टोर पुनः सञ्चालनमा ल्याइएको भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले जानकारी दिए ।
भाटभटेनीकी सञ्चालक सावित्री गुरुङले बुधबार धरानस्थित स्टोरको पुनः शुभारम्भ गरिन् । शुभारम्भ कार्यक्रममा उनले ग्राहकलाई आधुनिक सुविधा र गुणस्तरीय सेवा उपलब्ध गराउने कम्पनीको प्रतिबद्धता कायम रहेको बताइन् ।
गत वर्ष भदौ २३ गतेदेखि सुरु भएको जेनजी आन्दोलन भदौ २४ गते हिंसात्मक बनेपछि देशका विभिन्न सरकारी तथा निजी संरचनामा आगजनी, तोडफोड र लुटपाट भएको थियो । त्यस क्रममा भाटभटेनीका देशभर सञ्चालित २७ मध्ये २१ वटा शाखामा क्षति पुगेको थियो ।
काठमाडौं उपत्यकामा टंगालस्थित मुख्य कार्यालय, महाराजगन्ज र कोटेश्वर शाखा तथा बालुवाटारस्थित मुख्य वेयरहाउस र बौद्ध शाखा पूर्ण रूपमा जलेका थिए । उपत्यकाबाहिर पोखरा, चितवन, हेटौंडा, बिर्तामोड, दमक, विराटनगर र धरान शाखामा समेत आगजनी भएको थियो ।
आगजनी नभए पनि कलंकी, राधेराधे, बालाजु, जनकपुर, बुटवल, वीरगन्ज, धनगढी, इटहरी र भैरहवा शाखा लुटपाट तथा तोडफोडमा परेका थिए । यी शाखामा घटनालगत्तै सरसफाइ तथा आवश्यक मर्मतसम्भार गरेर सेवा पुनः सञ्चालन गरिएको थियो ।
टोखा, सातदोबाटो, अनामनगर, पाटन, नेपालगन्ज, वल्र्ड ट्रेड सेन्टर र सानागाउँस्थित शाखा भने ठुलो क्षतिबाट जोगिएका थिए ।
धरान शाखा पुनः सञ्चालनमा आएसँगै भाटभटेनीका २७ मध्ये २४ वटा शाखाबाट नियमित सेवा सञ्चालनमा आएको कम्पनीले जनाएको छ । बाँकी तीन शाखाको पुनर्निर्माण तथा मर्मतसम्भार भइरहेको छ । टंगालस्थित मुख्य कार्यालय भवन, मकवानपुरको हेटौंडा र झापाको दमक शाखा पुनः सञ्चालनमा आउन बाँकी छन् । यी शाखा पनि दसैंअघि सञ्चालनमा ल्याउने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।
कति भएको थियो क्षति ?
भदौ २४ को घटनाबाट भाटभटेनीले कुल १० अर्ब ८५ करोड ६७ लाख ९८ हजार ८५४ रुपैयाँबराबरको क्षति व्यहोरेको जनाएको छ । व्यवस्थापनका अनुसार भवन तथा पूर्वाधारमा आगजनी हुँदा ४ अर्ब ४० करोड ६ लाख ५४ हजार ६०३ रुपैयाँ बराबरको क्षति भएको थियो । पूर्ण रूपमा जलेर नष्ट भएका सामग्रीको मूल्य ५ अर्ब ९६ करोड ३ लाख ६७ हजार ५९६ रुपैयाँ रहेको छ । त्यस्तै, लुटपाट तथा तोडफोडबाट ४९ करोड ५७ लाख ७६ हजार ६५५ रुपैयाँबराबरको क्षति भएको कम्पनीले जनाएको छ ।
पुनर्निर्माणमा क्षति भएको रकमभन्दा थप २० देखि ३० प्रतिशतसम्म खर्च लागेको भाटभटेनीको भनाइ छ । यसअनुसार पुनर्निर्माणमा थप करिब २ अर्ब २० करोडदेखि ३ अर्ब ३० करोड रुपैयाँसम्म खर्च भएको अनुमान छ । क्षति र पुनर्निर्माणको खर्च जोड्दा भाटभटेनीमा भएको कुल आर्थिक भार करिब १४ अर्ब रुपैयाँ पुगेको अनुमान गरिएको छ ।
आगजनीका कारण भाटभटेनीका १२ वटा स्टोर प्रभावित हुँदा १० हजारभन्दा बढी कर्मचारीको व्यवस्थापन कम्पनीका लागि चुनौती बनेको थियो । तर अध्यक्ष गुरुङले कुनै पनि कर्मचारीलाई कामबाट नहटाउने प्रतिबद्धता जनाएका थिए ।
त्यसपछि कम्पनीले पुनर्निर्माणसँगै कर्मचारीलाई रोजगारीमा निरन्तरता दिएको छ । एक वर्षभित्र आगजनीबाट प्रभावित १२ मध्ये नौवटा स्टोर पुनः सञ्चालनमा आइसकेका छन् ।
वार्षिक ३१ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्दै आएको भाटभटेनीले राज्यलाई बर्सेनि ठुलो मात्रामा राजस्व बुझाउँदै आएको छ । कम्पनीका अनुसार देशभरका स्टोरबाट दैनिक औसत १० करोड ६८ लाख रुपैयाँबराबरको कारोबार हुने गरेको थियो ।
भाटभटेनी यसअघि पनि राजनीतिक आन्दोलनको प्रभावमा पर्दै आएको छ । २०८१ चैत १५ गते दुर्गा प्रसाईंको नेतृत्वमा भएको आन्दोलनका क्रममा कोटेश्वरस्थित भाटभटेनीमा तोडफोड तथा चोरी हुँदा करिब ८० लाख रुपैयाँबराबरको क्षति भएको कम्पनीले जनाएको थियो ।
फेरि उठ्यो भाटभटेनी
आन्दोलनपछि खण्डहर बनेका स्टोरहरू पुनः निर्माण गरेर भाटभटेनीले आफ्नो व्यवसायलाई पुरानै अवस्थामा फर्काउने मात्र होइन, नयाँ ढाँचामा विस्तार गर्ने योजना अघि बढाएको छ । कम्पनीले स्टोर सञ्चालनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउने योजना अघि सारेको जनाएको छ । यसैक्रममा भक्तपुरको राधेराधे शाखाबाट रात्रिकालीन सेवा पनि सुरु गरिएको छ ।
भदौ २४ को हिंसात्मक घटनाबाट भाटभटेनी मात्र प्रभावित भएको थिएन । चौधरी ग्रुप, आइएमई ग्रुप, गोल्छा ग्रुप, शंकर ग्रुपलगायत ठुला व्यावसायिक समूहका संरचनामा समेत क्षति पुगेको थियो । नक्सालस्थित हिल्टन होटल र तारागाउँस्थित हायात रिजेन्सी होटलमा पनि आगजनी भएको थियो । यी पनि बिस्तारै लयमा फर्किने कोसिस गर्दै छन् ।
आन्दोलनले उग्र रूप लिँदा राष्ट्रपति भवन शीतलनिवास, सर्वोच्च अदालत, सिंहदरबार, संसद् भवनलगायत देशैभरिका प्रहरी प्रशासन र स्थानीय र प्रदेश तहका संरचना क्षति भएको थियो । कांग्रेस, एमाले, नेकपालगायत पुराना दलका नेताहरूको घर पनि जलाइएको थियो । व्यक्तिगत सम्पतिमाथिको प्रहारबाट नराम्रोसँग थलिएका गुरुङले भने सबैलाई उछिनेर भाटभटेनीका सबै स्टोर लगभग ठड्याइसकेका छन् ।
प्रहरीका प्रशासन भवन बिस्तारै पुनर्निर्माण हुँदै छन् । अहिलेसम्म देशको प्रमुख प्रशासनिक केन्द्रहरू राष्ट्रपति भवन शीतलनिवास, सर्वोच्च अदालत र सिंहदरबारको पुनर्निर्माणका लागि डिजाइन मात्रै सकिएको छ । त्यसमध्ये शीतलनिवास र सिंहदरबारको डिजाइन स्वीकृतिका लागि पुरातत्त्व विभागमा पठाइएको छ । सर्वोच्च अदालतलाई रेट्रोफिटिङ गर्ने र नयाँ प्लास्टर गरेर पुरानै स्वरूपमा ल्याउने तयारी छ । शीतलनिवास र सिंहदरबारमा पनि रेट्रोफिटिङ गरेर पुरानै संरचना जोगाइनेछ ।
रेट्रोफिटिङ गर्ने कुरामै अल्झेको सरकारी संरचनालाई अध्यक्ष गुरुङले ‘काम भनेको यसरी गर्ने हो’ भनेर सिकाएका छन् । ग्राहकले देखाएको अथाह समर्थन र कर्मचारीले कम्पनीप्रति देखाएको अटुट माया र साथले नै एक वर्षमै भाटभटेनी पहिलेभन्दा अझ बलियो भएर उठ्न सकेको अध्यक्ष गुरुङ बताउँछन् ।
भाटभटेनी सुपरमार्केटको सुरुवात काठमाडौंको नक्सालमा रहेको भाटभटेनी मन्दिरनजिकै एउटा सटरबाट भएको थियो । मीनबहादुर गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले सन् १९८४ मा व्यवसाय सुरु गरेका थिए । सुरुवातमा ‘कोल्ड स्टोर’का रूपमा सञ्चालन गरिएको उक्त पसल विस्तार हुँदै सन् १९९२ मा सुपरमार्केटमा परिणत भयो । त्यसपछि विभिन्न स्थानमा शाखा विस्तार गर्दै भाटभटेनी आज देशकै ठुलो खुद्रा व्यापारिक सञ्जालका रूपमा स्थापित भएको छ । राजनीतिक आन्दोलनका क्रममा पटक–पटक क्षति व्यहोरे पनि भाटभटेनीले पुनर्निर्माण र विस्तारलाई निरन्तरता दिँदै आएको छ ।