
काठमाडौं : रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडितहरूको सहयोगार्थ जापानी कम्पनी डिस्कभरी सपोर्ट कम्पनी लि.ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले बिहीबार अर्थ मन्त्रालयमा आयोजित एक औपचारिक कार्यक्रममा उक्त रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो । ग्लोबल आईएमई बैंकको चेकमार्फत १० लाख रुपैयाँ सहयोग गरिएको कम्पनीले जनाएको छ ।
नेपाली समुदायप्रति आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको डिस्कभरी सपोर्टले विपद्को समयमा बाढीपीडितलाई सहयोग गर्ने उद्देश्यले उक्त रकम प्रदान गरेको हो । डिस्कभरी सपोर्ट कम्पनीका प्रमुख जापानी नागरिक मासुई सोता नेपाली समुदायप्रति उदार भावना राख्ने व्यवसायीका रूपमा चिनिँदै आएका छन् । उनले जापानमा रहेका नेपाली समुदायका विभिन्न सामाजिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक गतिविधिमा निरन्तर आर्थिक तथा अन्य सहयोग गर्दै आएका छन् ।
गत वर्ष मात्रै डिस्कभरी सपोर्टले एभरेस्ट फेस्टिभल, दशैं फेस्टिभल तथा चर्चित नेपाली ब्यान्ड नेपथ्यको जापान कन्सर्ट लगायतका कार्यक्रमलाई सहयोग गरेको थियो । नेपालमा होटल तथा रेष्टुरेन्ट व्यवसायसमेत सञ्चालन गर्दै आएको डिस्कभरी सपोर्टले जापानमा रहेका नेपाली समुदायका विभिन्न सामाजिक तथा सांस्कृतिक गतिविधिमा पनि निरन्तर सहकार्य गर्दै आएको छ । नेपाल र जापान दुवै देशमा व्यवसाय गर्दै आएका मासुई सोताले नेपाली समुदायसँगको सम्बन्धलाई निरन्तरता दिँदै आगामी दिनमा पनि सामाजिक तथा सांस्कृतिक गतिविधिमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् ।
जापानी नागरिक तथा व्यवसायीबाट नेपाली समुदाय र विपद्का समयमा पीडितहरूका लागि प्राप्त यस्तो सहयोगले नेपाल-जापानबीचको जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउन योगदान पुग्ने विश्वास गरिएको छ ।
