
काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा अवरुद्ध सडक भदौ महिनाभित्रै सञ्चालनमा ल्याउने गरी सरकारले निर्माण कार्य तीव्र पारेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री वालेन्द्र शाहले भदौ १७ गते प्रतिनिधिसभामा सम्बोधनका क्रममा व्यक्त गरेको प्रतिबद्धताअनुसार भदौ मसान्तसम्म सडक सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको हो ।
कृष्णभीरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी परिचालन गरिएको छ । रातको समयमा समेत काम गर्न सशस्त्र प्रहरी बल, नेपालले निर्माण क्षेत्रमा फ्लडलाइट जडान गरिदिएको छ। त्यसका कारण दैनिक १२ देखि १४ घण्टासम्म निर्माण कार्य भइरहेको कार्यालयले जनाएको छ ।

नयाँ ट्रयाक निर्माणसँगै पहिरो रोकथामका लागि सडकको माथिल्लो र तल्लो दुवैतर्फ पनि काम भइरहेको छ । पृथ्वी राजमार्गका अन्य पाँच स्थानमा गएको पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालन गर्ने कामसमेत सँगसँगै अघि बढाइएको छ ।
भदौ १० गते आएको बाढीका कारण कृष्णभीर क्षेत्रको सडक कमजोर बनेको थियो । त्यसपछि भदौ १४ गते भोटेकोशीमा आएको बाढीले सडक थप भासिएपछि सोही दिन सरकारी टोलीले स्थलगत निरीक्षण गरेको थियो । त्यसक्रममा प्रधानमन्त्री र पूर्वाधारमन्त्रीबीच सडक तत्काल मर्मत गर्ने विषयमा छलफल भएको थियो ।

त्यसपछि सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीका प्राविधिकले चार दिनसम्म द्रुत अध्ययन गरेका थिए । अध्ययनपछि कृष्णभीरको पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्ने विकल्प अघि सारिएको थियो ।
सरकारले सोही विकल्पअनुसार निर्माण अघि बढाएको हो । भदौ मसान्तभित्रै सडक सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।