२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

कथा : लिफ्ट दिँदा !

ADV
२०८१ भदौ १ गते ०६:३०
कथा : लिफ्ट दिँदा !

–बिदुर दाहाल

उमेरले ३५ नाघे पनि १८/२० कै जोस जाँगर छ । आज ‘ह्यापी मुड’ छ । ३ बज्नासाथ अफिसबाट गाडिलाई पुछपाछ गरेर निस्किए । शुक्रवार भएकोले श्रीमती र छोरासहित घुम्न निस्कियौँ । बेलुका घर आउँदा अलि ढिला भयो । खान पिनको झन्झट नभएकोले सुते म । 

अन्य दिनभन्दा सामान्य जाम थियो सडक आज । शुक्रवार सरकारी कार्यालय ३ बजे बन्द हुन्छन् । त्यसको असर सडकमा देखिन्छ । जाम छिचोल्दै अगाडि बढ्दा एक जना केटीले गाडी रोक्न खोजे जस्तो लाग्यो । आ ...होस् । जान्छु रोक्दिन भन्ने लाग्यो । फेरि के मोड आयो । गाडीलाई साइड लगाएँ । रोके । चिनेको जस्तै मुसुक्क हाँस्दै अगाडि आइन र अनुरोध गरिन्, “मलाई लिफ्ट दिन सक्नु हुन्छ ?” हुन्छ, भन्ने आशयले टाउको हल्लाएँ । मसँगैको अगाडिको देब्रे सिटमा बसिन् । कहाँ जाने हो ? सोधेँ मैले ? अलि अगाडिसम्म भनिन् ।

कति राम्री हो ? भगवानले मेहनत गरेर कुँदेका मोरीलाई । मनले कल्पना गर्‍यो । कुराकानी गर्दै अगाडि बढ्यो । मैले सानो स्वरमा गीत बजाए । गीतको तालमा झुम्दै थिए म । लङ ड्राइभमा जानुपर्छ कि क्या हो ? लोभिए उसँग । घर कहाँ हो र घरमा कोको हुनुहुन्छ भन्ने प्रश्न सोध्न खोज्दै थिए । अचानक वाक गरेको देखेँ । पेट दुखेको संकेत गर्दै कराइन । सामान्य रूपमा बान्ता पनि गरिन् । हत्त पत्त बान्ता गर्न प्लाष्टिकको झोला दिएँ । वाकवाक गर्दै थोरै मात्रामा बान्ता गरिन् । गाडी फोहोर हुनबाट जोगियो । अन्दाजी एक किलोमिटर मात्र अगाडि बढे जस्तो लाग्छ । आपत् आइ लाग्यो मलाई । किन लिफ्ट दिएछु ? भनेर पश्चात्ताप भयो । गल्ती भइन सक्यो । मनमा अनेक कुरा खेले । आफैँसँग मनोसंवाद गरेँ । आफ्नै निर्णयप्रति आफैलाई पछुतो भयो । 

दादा मलाई गाह्रो भो । दुखाई अति भो । सक्नु हुन्छ भने हस्पिटल लगिदिनु न । सकी नसकी बोलिन् उनी । के गरौँ, के गरौँ भो । दोमन भो मन । ‘दुःख पाइस् मङ्गले, आफ्नै ढङ्गले’ भन्ने कुरा सम्झिएँ । मानवीय संवेदनालाई मनन गर्दै हस्पिटल पुर्‍याएँ । हस्पिटलको आकस्मिक कक्षमा पुर्‍याउनासाथ दुखाई बढी भो भनेर झन् कराउन लागिन् । डाक्टरहरूले दुखाई कम गर्ने सुई लगाई दिए । हतार–हतार ल्याब टेस्टका लागि रगत र युरिन जाँचको कागज बनाई दिए डाक्टरले । प्राविधिकले नमुना लिए । बिरामी झन कराइन् । डाक्टरहरूले बिरामीको मान्छे सोधे । देखाइन् मलाई । दुखाईले हो वा केले हो ? टाउको हल्लाइन उनले । ल्याबका प्राविधिकले रिपोर्ट भोलिपल्ट बिहान आउने बताए । रिपोर्ट लिन आउँदा बिल ल्याउन भने । 

बिरामीको अवस्था क्रिटिकल छ । स्ट्यान्ड बाई बस्न भने डाक्टरले । बिरामी होसमा नभएको बताए । घरबाट श्रीमती र छोराले बार–बार फोन गरे । बाबा तपाईँ कहाँ हो ? किन ढिला ? समयमा घर पुग्ने बानी थियो मेरो । ढिला हुने भए अग्रिम जानकारी पठाउँथे म । अफिसमा आर्थिक वर्षको कार्य चाप बढी भएको भनेर ढाँटिदिए । आफूलाई अर्कै तनाव । हे भगवान के दशा आइलाग्यो ? 

मध्य राततिर बिरामीको होस् खुल्यो रे ! डाक्टरले बिरामीको अवस्था सुधार छ सम्म भने । तर, अझै बोल्न सक्दिन रे ! खर्च पनि मेरो । न चिन्नु; न जान्नु । बिरामी कुरुवा समेत म । कस्तो दिनमा लिफ्ट दिएछु ? धिक्कारे आफैलाई । भोलि पल्ट बिहान डाक्टर हँसिलो अनुहारमा बाहिर निस्के र मलाई बधाई दिए । खुसीयाली साट्नुस् । लड्डु खुवाउनुस् भन्दै धाप मारे । म भने जिल्ल परे । अलमल परेँ । केको बधाई ? रातो पिरो भएँ । डाक्टरले बाबु बन्दै हुनु हुन्छ; फेरि पनि बधाई भने । 

बिरामीको अवस्था तीव्र रूपमा सुधार छ । आजै डिस्चार्ज गर्न सकिएला कि भन्ने आशा राखे । अक्क न बक्क परेँ म । होइन, होइन डाक्टर भन्दै कराएँ म । त्यो केटीको श्रीमान् होइन क्या म । अब भने आपत्, आइलाग्यो मलाई । गर्दा गर्दै केश पुलिसकोमा पुग्यो । उनको श्रीमान् होइन भन्ने प्रमाणित गर्न रगत, सिमोन र डि. एन. ए. टेष्ट गर्नै पर्ने भो । गरेँ मैले । नभए फन्दामा पर्ने भएँ । मेरो रिपोर्ट आयो । रिपोर्ट हेरेर डाक्टरले असजिलो मानेको महसुस गरेँ मैले । 

एक प्रति रिपोर्ट डाक्टरले राखे र अर्को प्रति रिपोर्ट पुलिसलाई दिए । त्यो रिपोर्ट पुलिसले हेर्न जान्यो वा जानेन मलाई थाहा भएन । तर, एक जना डाक्टर रिपोर्ट लिएर मेरो सामु आए र माफी मागे । “सरि, विपिन जी । हामी, दुखित छौँ । स्ट्रोङली सरि ।” डाक्टर, ठिकै छ । कहिलेकाहीँ यस्तो हुन्छ, भने मैले । लामो गन्थन गरेर मलाई सान्त्वना दिँदै सम्झाउन थाले फेरि डाक्टर । आजको जमानामा उपाय कति छन् कति । चिन्ता नलिनुस् । हामी सहयोग गर्छौ भन्दै गए । म सुन्दै गए.... । 

अचम्म... । “के हो यो ? म ठिक छु । ममा केही समस्या छैन । के भयो र डाक्टर ?” मलिन स्वरमा डाक्टरले “बाबु बन्न सक्नु हुन्न तपाईँ” भने । म रिसाएँ । म आश्चर्यमा परे । डाक्टर कतै तपाईँ बहुलाउनु त भएन ? बेतुकको तनाव दिन्छन् यार, भनेर जोडले कराउँदा झल्याँस्स भएछु । छ्या, कस्तो झुर सपना । बिहान भई सकेछ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise