२०८२ भदौ ३१ गते मङ्गलवार / Sep 16 , 2025 , Tuesday
२०८२ भदौ ३१ गते मङ्गलवार
Ads

आखिर के गर्‍यो त्यो पापी शहरले ?

shivam cement
२०८१ भदौ १ गते ०६:३५
आखिर के गर्‍यो त्यो पापी शहरले ?

–खिमराज गिरी

बेलुकाको करिब पाँच बजिसकेको थियो । सडकमा सधैँ झैँ केही घरायसी लगाउने कपडा पछ्यौरामा पोको पारी सुनधारा नजिकैको सडक पेटीमा जाँदै थिएँ । एक छिनपछि गन्तव्यमा पुगेँ र मेरा सामान त्यहीँ अरूले राख्ने स्टल नजिकै राखेर म पनि सामान बेच्ने तरखरमा लागेँ । त्यो हाम्रो जीवन धान्ने दैनिक दिनचर्या नै थियो र बेलुकी केही समयको लागि भनेर खुल्ला गरिएको थियो । सङ्घीय सरकारको आदेशबमोजिम निश्चित समय र स्थानमा कपडा बेच्न पाइने थियो र सोहीअनुरूप मेरो दिनचर्या सुरु भएको पनि बल्ल एक महिना भएको थियो । घर एक दुर्गम पहाडी जिल्लामा पर्दथ्यो । घरमा वृद्ध सासू आमा मात्र हुनुहुन्थ्यो । धेरै पैसा कमाउने मनसायले श्रीमानले पनि आर्मीको सरकारी जागिर छोडेर विदेश जाने सपना बुन्दै हुनुहुन्थ्यो । पछि दुवै जनाको सल्लाह भयो र बच्चाको भविष्य पनि बन्ने आफू पनि केही पैसा कमाउन सक्ने माध्यम नै शहर र विदेश देखेर नै घरमा ती वृद्ध सासू आमालाई एक्लै थोत्रो घरको जिम्मा लगाएर काठमाडौँ आइयो । शहर आएको पनि करिब एक महिना भएको थियो । हामी दुवै जनाको खासै काम थिएन । तै पनि किन फाल्टु बस्ने भनेर मैले सडक पेटीमा पनि व्यापार गर्छु भन्ने निर्णय गरेँ किनकि हामीसँग सटर भाडामा लिएर व्यापार गर्ने हैसियत थिएन । भोलिपल्टदेखि बेलुकीपख व्यापार गर्न गन्तव्यतिर जान थालेकी थिएँ । 

छोराछोरीलाई एक प्राइभेट स्कुलमा भर्ना गरिदिएँ । श्रीमान् भने रुसी सेनामा जाने मनसाय गरिरहनु भएको थियो । तर, मेरो मनसाय नेपालमा नै बसेर केही व्यापार गरौँ भन्ने थियो । तर, उहाँको जिद्दीको अगाडि मेरो केही सीप चलेन र एक दिन बिचौलियालाई जागिर छोडेको केही रकम बुझाएर रुसतिर जाने निधो गर्नुभयो । रुस र युक्रेनबिचको युद्ध चलिराखेको थियो । दैनिक दुवै तर्फका सेना हताहत भएको खबर आइरहन्थ्यो । तथापि, मेरो आग्रहलाई उहाँले लत्त्याएर एक दिन रुसको गन्तव्य स्थल पुग्न दिल्ली लाग्नुभयो र करिब २८ दिनपछि रसियामा पुगेर काम लागेको खबर आयो । तर, सम्पर्क भने पाँच छ÷दिनमा एक पटक हुन्थ्यो । 

मेरो दिमागमा भने यहाँको सडक व्यापारभन्दा पनि त्यहाँको युद्धमा गुन्जिएको बम वार्डको आवाजले सधैँ नै पिरोलिई रहन्थ्यो । आखिर, गरिब देशमा जन्म लिएपछि हामी जस्ता गरिबको पक्षमा बोल्ने को हुँदो रहेछ र ? दैनिक भगवानको नाम पुकारेर बस्दथेँ । तर, महिना पुगे पनि पैसाको आस भने थिएन मलाई । एक दिन काठमाडौँ महानगरले पनि सडक पेटीमा सामान बेच्ने व्यापारीहरूलाई अब व्यापार गर्न नदिने निर्णय गरेछ तर, एकातिर बिदेसिएका श्रीमान्को अवस्था दयनीय छ भने यता बालबच्चाले बुवा कहिले आउनुहुन्छ भनेर सोधेर हैरान पार्दथे । भएको पैसा बिचौलियालाई बुझाउँदैमा ठिक्क भयो भने अब सडक पेटीमा पनि व्यापार गर्न नपाइने भएपछि यो पापी शहरमा कसरी बाँच्ने र यो पापी पेट पाल्ने चिन्ताले सताउन थाल्यो । एक दिन अचानक व्यापार गर्न लागेको ठाउँमा नगर प्रहरी आए र भएको सामान सबै गाडीमा राखेर लैजाने तरखर गर्दै थिएँ तर, सबै साथीहरू भागे म भने मेरो सामान लेऊ भन्दै उनीहरुकोमा झम्टिन पुगेछु । श्रीमान्सँग फोनमा सम्पर्क नभएको पनि एक महिना भइसकेको थियो । चिन्ता उहाँकै थियो । त्यही आवेशमा आएर म नगर प्रहरीसँग प्रतिकारमा उत्रेँ तर, के गर्न सक्थेँ र ? उल्टो ढाडमा लट्ठी बजार्‍यो । म भाग्न खोज्दा अचानक सडकमा पछारिएँ र बेहोस भएछु । केही दिन पछि थाह पाएँ कि म त अस्पतालको बेडमा पो रहेछु । पछि यसो सम्झेर मेरा बच्चा कहाँ छन् भनेर सोधेको त कोठामा बस्ने छिमेकीले सम्हालेर राखेका रहेछन् । उता घरमा सासू आमा पनि बिरामी हुनुहुन्छ भन्ने खबर आयो । म कोठामा गएँ । बालबालिकाहरू आत्तिएका रहेछन् ! स्कुल पनि कसले लैजाने र ? त्यसपछिका दिनहरूमा बच्चाहरूको स्कुल जाने क्रम बन्द भयो । स्कुल फी पनि बन्द भयो । चुला चौका पनि चिसिए । 

सपनाको संसार बिस्तारै बिरानो हुँदै गयो । विदेशबाट श्रीमानको खबर पनि आउन छोड्यो । खाने गाँसै पनि बन्द होला जस्तो भयो । कतैबाट आउने आशै पनि बन्द भयो । आफन्तबाट पनि टाढिनुपर्ने बाध्यता भयो । यता भने चैतमा बारीमा फालिएको छेस्को जस्तै सडक पेटीबाट फालिएर बचेको थियो मेरो जिन्दगी । आजका दिनमा हामीलाई लखेटेर न त त्यो कुरूप शहरमा सुन्दरता छाएको छ न त हामी जस्ता गरिबलाई गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर नै जुटाइएको छ । देशमा जताततै भ्रष्टाचार व्याप्त छ । जनतालाई भने केही व्यापार गर्न घर–जग्गा, फोहोर, पानी, बिजुली आदिको कर तिर्न स्थानीय र केन्द्रीय सरकारको दोहोरो मारमा परिराखेको अवस्था छ । तर, स्थानीय सरकारले जनताको करको सदुपयोग भने जिम हल बनाउने, धर्मको नाममा पाटी पौवा निर्माण गरी अनावश्यक धार्मिक भ्रमणमा पैसा खर्च गर्ने, आफन्तको नाममा लाइब्रेरी निर्माण गर्ने, जनप्रतिनिधिलाई महँगो गाडी किन्ने, जन्मदिन मनाउन सरकारी रकम खर्च गर्ने, अनावश्यक करारमा आसेपासे कर्मचारीको रूपमा भर्ना गर्ने गरेका छन् भने अर्कोतिर जनताको दैनन्दिन भने हरेक आवश्यकताबाट वञ्चित भएको छ । 

अझै पनि कयौँ जनता गाँस, बास, कपासबाट वञ्चित भएका छन् । शहरको सुन्दरता खोज्ने नाममा परिश्रम गरेर खाने मानिसलाई प्रहरी लगाएर लखेटिन्छ ! आखिर के हामीलाई लखेटेर, हाम्रो गाँस लुटेर शहरको ट्राफिक जाम रोकिएको छ ? हामी जस्ता गरिबको कुनै लेखाजोखा राखेको छ कुनै सरकारले ? आज देशमा प्रजातन्त्र र गणतन्त्रका नाममा धेरे शोषण र अत्याचार भएको छ । धेरै नेताहरूको पालनपोषण गर्दैमा वाक्क दिक्क भएका छन् जनता ! बिचौलियाद्वारा धानिएको देशमा सर्वसाधारण जनताले कहिल्यै पनि स्वतन्त्रता प्राप्त गर्न धेरै कठिन हुन्छ । उता केही स्थानीय जनप्रतिनिधि भने सामाजिक सञ्जालबाट आएको एक/दुई हजारको लाइक र कमेन्टको भरमा ठाउँ बिर्सिसके र आज सडक व्यापारीलाई घर न घाटको बनाएका छन् । न त केही व्यवस्था गर्ने योजना नै छन् । 

आज कयौँ मै हुँ भन्ने सामाजिक अभियन्ताको आवाजलाई त सुनिएको छैन भने हामी जस्ता भूइँ मान्छेको आवाज कसले सुन्ने ? हो, म त्यही आवाजविहीनहरूको आवाजमा रुमल्लिइरहेकी एक बेसहारा महिला हुँ, जुन दिन त्यो सडक पेटीमा नराम्रोसँग पछारिएको थिएँ । दिनहरू जसोतसो बित्दै गए । एक दिन श्रीमानले फोन गर्नुभयो र भन्नुभयो “सबै सन्चै छौ ? म यहाँ युद्ध बन्दीको रूपमा रहेको छु, तैपनि सुरक्षित छु, घरमा आमा र बालबच्चालाई सोधेको छ भनिदिनु, राम्रोसँग बस्नु, मेरो पिर नगर्नु, गाउँ तिरै गएर बस्नु, अब हामी जस्ता गरिबको लागि होइन त्यो शहर, बाँचे भेटौँला कुनै दिन” फोन राख्नुभयो । मन झन् भक्कानिएर आयो । भगवानको नाम पुकार्नुबाहेक अरू उपाय केही देखिन मैले । यस्तो गरिब देशभन्दा पनि लुटेरा नेताहरूको देशमा जन्मेको फल हामीजस्ता गरिबले बाध्यताले झेल्दै छौँ आज । तथापि मन सम्हालेर राखेँ र गाउँ जाने निधो गरेँ । 

भोलिपल्ट भएका सामानहरू लिएर दुई बालबच्चाहरूको साथमा गाउँ फर्के । गाउँमा केही दिन बित्दै गए । सासू–आमाको अवस्था चिन्ताजनक थियो । अर्कोतिर विदेशबाट श्रीमानको पनि फोन आउन छोड्यो । बच्चाहरुलाई गाउँको विद्यालयमा भर्ना गरेँ । दिनहरू बित्दै थिए । एक दिन अचानक फोन आयो । अपरिचित नम्बर थियो तै पनि मनमा त्रास लिएर फोन उठाएँ । र, एक जना नेपालीले भने “तपाई श्यामकुमारको वाइफ हुनुहुन्छ ?” “हो म उहाँकै वाइफ बोल्दै छु, किन र उहाँलाई कस्तो छ सन्चै हुनुहुन्छ ?” उ अक्मकियो, र भन्यो “उहाँको युद्धमा परेर निधन भयो । तर ! तर ! लास भने हामीले फेला पार्न सकेनौँ !” फोन राखिदियो । 

जीवनमा यहाँभन्दा बज्रपात अरु के हुन सक्छ र ? भगवानले पनि सायद मलाई मात्र होला यो संसारमा सहन सक्ने शक्ति दिएका भनेर मन सम्हाल्ने कोसिस गरेँ । यता बालबच्चाले बाबा कहिले आउनुहुन्छ भनेर सोधिराखेका छन् भने उता बिरामी सासूआमाले पनि छोराको खबर के छ भनेर सोधिरहँदा जवाफमा ठिकै छ भनेँ तर, आखिर युद्ध मैदानमा लड्दा लड्दै जीवनको अन्त्य भयो श्रीमान्को । आखिर ढाँटेको कुरा र फाटेको टोपी लुकाएर कहाँ लुक्थ्यो र एक दिन सबैले थाहा पाइहाल्ने कुरा थियो । यसरी सुन्दर भविष्य देखेर लोभ्याएको त्यो पापी शहरले एकातिर सडक पेटीमा नै पछार्‍यो भने अर्कोतिर सधैँको लागि श्रीमान्सँगको बिछोड भयो ।

ADV

सम्बन्धित खबर

Advertise