
काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विपद्मा बेपत्ता भएका व्यक्तिको मृत्यु घोषणा तथा मृत्यु दर्तासम्बन्धी कानूनी व्यवस्था संशोधनको तयारी भइरहेको बताएकी छन् ।
सिंहदरबारमा आयोजित हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा उहाँले अध्यादेशमार्फत मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संसोधन गर्न लागेको बताएकी हुन् ।
संसद्को नियमित अधिवेशन अन्त्य भएकाले आवश्यक कानुनी व्यवस्था अध्यादेशमार्फत छिटो अघि बढाउने तयारी भइरहेको उनले बताइन् । मृत्यु घोषणा र मृत्यु दर्तासम्बन्धी कानूनमा आवश्यक संशोधनका लागि मन्त्रालयले आवश्यक खाका तयार गरिसकेको उनको भनाइ छ । उनले सरकारले अब कानुन निर्माण गर्दा विपद्लाई केन्द्रमा राखेर गर्नुपर्ने आवश्यकता औंल्याइन् ।
विपद् व्यवस्थापन बहुआयामिक र विभिन्न मन्त्रालयसँग सम्बन्धित विषय भएकाले मौसम पूर्वानुमान, राहत प्याकेज, उद्योगी-व्यवसायीलाई सहजीकरण तथा विपद्मा अभिभावक गुमाएका बालबालिकाको संरक्षणलगायत विषयमा सम्बन्धित मन्त्रालयसँग समन्वय गरेर आवश्यक कानुन निर्माण गर्ने काम भइरहेको उनले बताइन् ।