२०८३ असोज २५ गते आइतवार / Oct 11 , 2026 , Sunday
२०८३ असोज २५ गते आइतवार

बढ्दो असन्तुष्टले दिल्ली अशान्त

Nada
२०८३ असोज २५ गते ०६:२०
Shares
बढ्दो असन्तुष्टले दिल्ली अशान्त

काठमाडौं : शनिबार बिहानैदेखि भारतको नयाँ दिल्लीमा ३५ हजार सुरक्षाकर्मी परिचालन गरियो ।  कक्रोच जनता पार्टी’ (सीजेपी)ले गरेको आन्दोलनलाई दवाउन भारत सरकारले उक्त सुरक्षाकर्मी तैनाथ गरेको थियो । भारतमा केही समयदेखि जनता कक्रोच पार्टीको अगुवाईमा चलिरहेको विशाल विद्रोहले दिल्ली अशान्त बनेको छ । एकातिर नवयुवाहरूको विद्रोह फैलिरहेको छ भने अर्कोतिर विपक्षी दलहरू सरकारविरुद्ध अभियान चलाएका छन् । 

ncell

भारतको निर्वाचन आयोगविरुद्ध आह्वान गरिएको ठूलो विरोध प्रदर्शनअघि शनिबार व्यङ्ग्यात्मक अनलाइन अभियान ‘कक्रोच जनता पार्टी’ (सीजेपी)का प्रमुखसहित नेता र अभियान्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यो आन्दोलनलाई दबाउ गरिएको सरकारी पक्षको दमनले आन्दोलनकारीको असन्तुष्टि थप बढ्दै गएको छ ।

शनिबार प्रसिद्ध युट्युबर ध्रुव राठीलाई दिल्ली प्रहरीले पक्राउ गरेको छ । अक्टोबर ९ को साँझ दिल्ली गेटमा राठीले मोदी सरकारलाई लक्षित गर्दै भिडियो सार्वजनिक गरेका थिए । दिल्लीमा चलिरहेको आन्दोलन दबाउन मोदी सरकारले ध्रुव राठीलाई पक्राउ गरेको आन्दोलनकारीले जनाएका छन् । राठी तिनै व्यक्ति हुन्, जसले सामाजिक जागरणका मुद्दा उठाएर आफ्नो युट्युबमा अपलोड गर्दै आएका छन् । त्यसपछि ‘कक्रोच जनता पार्टी’ का संस्थापक अभिजित दिप्के लगायत एक दर्जन नेताहरूलाई प्रहरीले समातेको थियो । बम्बईबाट दिल्ली आउँदै अभिजितलाई भारतीय प्रहरीले विमानस्थलबाटै धरपकड गरेको सो पार्टीले जनाएको छ । 

शनिबार दिउँसो प्रहरीले आम आदमी पार्टीका संस्थापक अरविन्द केजरीवाललाई पनि पक्राउ ग¥यो । नेताहरूसँगै जन्तरमन्तरतर्फ मार्च गरिरहेका बेला प्रहरीले केजरीवाललाई हिराशतमा राखेको छ ।  त्यसपछि पूर्वमुख्यमन्त्री पिनराई विजयन र भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) का सांसद जोन ब्रिटासलाई पनि भारत सरकारले पक्राउ गरी हिरासतमा राखेको छ । त्यस्तै पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री तथा तृणमूल कांग्रेस (टीएमसी)की प्रमुख ममता बनर्जीलाई पनि दिल्ली प्रहरीले नियन्त्रणमा लिएको टीएमसीका प्रवक्ता साकेत गोखलेले जानकारी दिएका छन् । 

उनले सामाजिक सञ्जाल एक्समार्फत ममता बनर्जीसहित पाँच जनालाई दिल्ली प्रहरी र केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) ले मुख्यमन्त्रीको आवासबाहिरबाट नियन्त्रणमा लिएको बताए । समाचार एजेन्सी पीटीआईका अनुसार ममता बनर्जीसहित टीएमसीका अन्य नेताहरूले साउथ एभिन्यूस्थित बस बिसौनीमा धर्ना दिएका थिए । आन्दोलन रोक्न दिल्लीमा मेट्रो रेल बन्द गर्नेदेखि केही स्थानमा इन्टरनेटसमेत बन्द गरिएको बीबीसी लगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । पक्राउपर्नुअघि ममता बनर्जीले आफूहरू जन्तरमन्तर जान चाहेको तर प्रहरीले जान नदिएको बताएकी थिइन् । उनले भारतको वर्तमान अवस्था आपत्कालीन अवस्थाभन्दा पनि खराब देखिएको टिप्पणी गरेकी छन् । 

विपक्षी दल र आलोचकहरूले मतदाता नामावली पुनरावलोकनका कारण लाखौँ मतदाता मताधिकारबाट वञ्चित हुन सक्ने र प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सत्तारूढ हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा)लाई फाइदा पुग्न सक्ने आरोप लगाएका छन् । तर, निर्वाचन आयोगले भने ‘विशेष सघन पुनरावलोकन’ प्रक्रियामा अनियमितता भएको आरोप अस्वीकार गर्दै दोहोरो नाम भएका तथा अयोग्य मतदाताको नाम हटाउनु यसको मुख्य उद्देश्य रहेको बताएको छ । विपक्षी आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले विज्ञप्ति जारी गर्दै सरकारको कदमको आलोचना गरेका छन् ।  प्रहरीले नियन्त्रणमा लिएपछि केजरीवालले भिडियो जारी गर्दै देशका युवा जागिसकेको बताएका छन् । 

उनले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा तानाशाही भइरहेको आरोप लगाउँदै आफूहरू नडराउने बताएका छन् । ‘अब ज्ञानेश कुमारले राजीनामा दिनैपर्छ । कथित मत चोरीलाई अब जनताले सहने छैनन्,’ उनले भिडियोमा भनेका छन् ।  प्रदर्शनस्थलसम्म पुग्न नदिन शुक्रबारदेखि नै दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । यसका लागि हजारौँ प्रहरी र अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ । दर्जनौँ मेट्रो स्टेसन बन्द गर्नुका साथै दिल्ली आउने विभिन्न रेल सेवा रद्द गरेका छन् । प्रदर्शनस्थल आसपासका क्षेत्रमा अस्थायी रुपमा मोबाइल इन्टरनेट सेवा समेत बन्द गरिएको छ । शनिबार प्रसारित टेलिभिजन दृश्यहरूमा प्रहरीले मध्य दिल्लीका विभिन्न क्षेत्रमा प्रदर्शनकारीलाई लखेट्दै र उनीहरूलाई सवारीसाधनमा राख्दै गरेको देखिएको थियो। स्थानीय सञ्चारमाध्यमका अनुसार, हालसम्म २०० भन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको छ ।  

सम्बन्धित खबर