२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

बिहारमा डुंगा दुर्घटना, १३ बालबालिकाको मृत्यु

Nada
२०८३ असोज २८ गते १३:३०
Shares
बिहारमा डुंगा दुर्घटना, १३ बालबालिकाको मृत्यु

नयाँ दिल्ली : भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट वर्षा सिंहका अनुसार मृत्यु हुने सबै बालबालिका १५ वर्ष वा सोभन्दा कम उमेरका छन् ।

ncell

मंगलबार साँझ करिब ८:३० बजे छिमेकी गाउँमा भोजमा सहभागी हुन जाँदै गरेका करिब १५ देखि २० जना बालबालिका सवार डुंगा पल्टिएर दुर्घटना भएको उनले बताए । 

पत्रकारहरूसँग कुरा गर्दै जिल्ला मजिस्ट्रेट सिंहले घटनालाई अत्यन्त दु:खद् बताए । उनका अनुसार उद्धार गरिएका सात जनालाई उपचारका लागि एनएमसीएच लगिएको छ र उनीहरूको अवस्था स्थिर रहेको छ ।

उनले घटनास्थलमा राज्य विपद् प्रतिक्रिया बल (एसडीआरएफ) को टोली परिचालन गरिएको तथा स्थानीय गोताखोरको सहयोगमा उद्धार कार्य भइरहेको जानकारी दिए । दुर्घटनामा १३ जना बालबालिकाको मृत्यु भएको पुष्टि गर्दै उनले मृतक सबै १५ वर्ष वा सोभन्दा कम उमेरका रहेको बताए । 

दुर्घटनापछि बेपत्ता भएका अन्य व्यक्तिको खोजी गर्न उद्धार टोली परिचालन गरिएको थियो । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

यसैबीच, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा बालबालिकाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले मृतकका आफन्तलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोष(पीएमएनआरएफ) बाट प्रतिपरिवार दुई लाख भारतीय रुपैयाँ र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेका छन् । 

प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको सन्देशमा प्रधानमन्त्री मोदीले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनले प्रभावितलाई स्थानीय प्रशासनले सहयोग गरिरहेको पनि उल्लेख गरेका छन् । 

यसैगरी, बिहारका मुख्यमन्त्री सम्राट चौधरीले दुर्घटनामा ज्यान गुमाएका बालबालिकाका परिवारलाई जनही चार लाख भारतीय रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेका छन् । 

ताजा खबर

सम्बन्धित खबर