
दोहा, कतार : साउदी अरबको सर्वोच्च अदालतले श्रीलंकाली आप्रवासी कामदार अनोजन सिवारासालाई सुनाइएको मृत्युदण्डको फैसला उल्ट्याएको छ । सिवारासाले अक्टोबर ११ मा सर्वोच्च अदालतमा पुनरावेदन दिएका थिए । श्रीलंकाली सरकारले उनको पक्षमा कानुनी पैरवी गर्न विशेष टोली साउदी अरब पठाएको थियो। पुनरावेदनपछि सर्वोच्च अदालतले पुनरावेदन अदालतको फैसला उल्ट्याएको हो ।
श्रीलंकाका उपविदेशमन्त्री अरुण हेमचन्द्रले फेसबुकमार्फत फैसलाको पुष्टि गर्दै साउदी सरकार, कूटनीतिक अधिकारी र दुवै देशका कानुनी टोलीप्रति आभार व्यक्त गरेका छन् । साउदी अरबका लागि श्रीलंकाली राजदूत अमिर अजवादले पनि फैसला उल्ट्याउन कूटनीतिक पहल गरेका थिए । सिवारासाको पक्षमा पैरवी गर्न वरिष्ठ अधिवक्ता द्वय आजाद नवावी र फैजर मुस्तफा तथा उपुल कुमारापेरुमा र अधिवक्ता हफिल फारिस साउदी अरब पुगेका थिए ।
फैसला उल्टिएपछि श्रीलंकाली समुदायले राहत महसुस गरेको छ। यसअघि मृत्युदण्डको सजाय सुनाइएकी श्रीलंकाली घरेलु कामदार रिजन नफिकलाई सन् २०१३ मा साउदी अरबमा मृत्युदण्ड दिइएको थियो ।