२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

विद्यालय शिक्षामा सूचना प्रविधिको प्रयोग बढाउन कार्यविधि तयार

ADV
सत्यराज सिंह
२०८१ भदौ २ गते २१:०५
विद्यालय शिक्षामा सूचना प्रविधिको प्रयोग बढाउन कार्यविधि तयार

बझाङ : बझाङमा सञ्चालित गैरसरकारी संस्था प्रगतिशील युवा समाजको आयोजनामा विद्यालय शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोग सम्बन्धी कार्यविधि निर्माण तथा छलफल कार्यक्रम चैनपुरमा सम्पन्न भएको छ । 

वर्ल्डभिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा जयपृथ्वी नगरपालिकामा सञ्चालित ‘विद्यार्थीहरुका लागि प्रविधि मैत्री शिक्षा सिक्ने अवसर’ (टेलस) परियोजना अन्र्तगत विद्यालयमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग सम्बन्धी कार्यविधि निर्माण तथा छलफल भएको हो ।

कार्यक्रममा जयपृथ्वी नगरपालिकाका शिक्षा शाखा प्रमुख निरज प्रसाद रेग्मीले टेलस परियोजनाले नगरपालिकाका ८ वटा विद्यालयमा स्थापना गर्दै गरेको आइसिटी ल्याबले विद्यार्थी लगायत शिक्षक तथा अभिभावकलाई प्रविधिसँग नजिक गराउने बताए । साथै उनले नगरपालिकाबाट पनि आवश्यक सहयोग उपलब्ध गराउने बताए ।

कार्यक्रममा प्रगतिशिल युवा समाजका अध्यक्ष रमेश केसीले सञ्चार र प्रविधिको युगमा विद्यार्थी तथा आम नागरिकले प्रविधिमा अगाडि बढ्न जरुरी भएको बताए । उनले भने,‘खासगरी दूरदराजका ग्रामीण सामुदायिक विद्यालयले कम्प्युटर तथा इन्टरनेटको पहुँच पुर्‍यनउन सकेका छैनन् । इन्टरनेट जोडेकामा पनि सेवाको निरन्तरता छैन् । कतिपय विद्यालयमा ‘राउटर’ बिग्रिएपछि मर्मत नै नभइ थन्किएको छ, भने कतिले ‘वाइफाइ’ को मासिक महसुल नतिरेको अवस्था छ । कतिपय विद्यालयमा शिक्षकले ‘फेसबुक’, ‘म्यासेन्जर’ चलाउँछन् भनेर जोडिएको इन्टरनेट पनि काटिएको सुन्नमा आउँछ ।’

‘विद्यालयहरुमा विभिन्न स्रोतबाट कम्प्युटर किनिन्छन् । ती किनिएका कम्प्युटर एउटा कोठामा सजाएर राखिन्छ । केही दिन तामझाम जस्तो हुन्छ । केही दिनपछि कुनै कम्प्युटरका ‘माउस’ हुँदैनन्, कुनैका ‘किबोर्ड’ हुँदैनन्, कुनै बिग्रेका हुन्छन्, कुनैका तार मुसाले खाएका अवस्थामा भेटिन्छन् यस्तो अवस्था नआउन दिनको लागि उचित जनशक्ती व्यवस्थापन गर्न पनि जरुरी रहेको अध्यक्ष केसीको भनाइ छ ।

कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै वर्ल्डभिजन इन्टरनेशनल नेपालका जमुना श्रेष्ठले जयपृथ्वी नगरपालिकाका आठ वटा विद्यालयमा लागु भइरहेको टेलस परियोजनाले विद्यालयमा बन्दै गरेको आइसिटी ल्याबको सञ्चालन तथा व्यवस्थापनका लागि कार्यविधि निर्माण गर्न कार्यक्रमको आयोजना गरिएको बताइन् ।

कार्यक्रममा जयपृथ्वी नगरपालिकाका पाण्डु माध्यामिक विद्यालय, भवानी माध्यामिक विध्यालय, निलकट्टी माध्यामिक विद्यालय, सुनिपिपलचौर माध्यामिक विद्यालय, बालविकास माध्यामिक विध्यालय, सुर्मा आधारभूत विद्यालय, नारायण माध्यामिक विद्यालय र शिशु आधारभुत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, शिक्षक अभिभावक संघका अध्यक्ष तथा प्रतिनिधि, कम्प्यूटर शिक्षक, बाल क्लबका अध्यक्ष लगायत प्रतिनिधिहरु गरी ६० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यालय शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोग सम्बन्धी कार्यविधि निर्माण गरिएको हो । 

सामुदायिक विद्यालय शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोगले शिक्षण सिकाइलाई प्रभावकारी बनाउन, विद्यार्थीहरूको रुची बढाउन र शैक्षिक गुणस्तर सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने कार्यक्रममा सहभागी भवानी माध्यामिक विद्यालय नौराका शिक्षक श्याम परियारले बताए । उनले भने, ‘आइसिटी सामुदायिक विद्यालय शिक्षामा सुधार ल्याउन सक्ने एक शक्तिशाली उपकरण हो । आजको बालक जन्मेदेखिनै प्रविधिमैत्री आचारण र दिमाग लिएर जन्मेको हुन्छ । जुन उसको खाना खुवाउँदादेखि अन्य क्रियाकलापबाट सहजै अनुमान गर्न सकिन्छ । यसले शिक्षण सिकाइलाई प्रभावकारी बनाउन, विद्यार्थीहरूको रुची बढाउन र शैक्षिक गुणस्तर सुधार गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।’

कार्यक्रममा बोल्दै जयपृथ्वी नगरपालिका–६ का वडाअध्यक्ष नरेन्द्र बहादुर सिंहले भने,‘आज पनि विद्यालयमा विद्यार्थीले शुल्क बुझाउन जाँदा उही पुरानो तरिकाको रसिद काटेर दिने प्रचलन छ । विद्यार्थीलाई ‘मार्कसिट’ वा ‘चारित्रिक प्रमाणपत्र’ वा अन्य कागजात बनाउँदा पनि कम्प्युटर तथा इन्टरनेटको प्रयोग भएको पाइँदैन । शिक्षा मन्त्रालयले तयार गरेका कतिपय सप्टवेयर पनि विद्यालयमा चलाउन नसकेको अवस्था छ । विद्यार्थी मूल्याकंनको क्षेत्रमा त झन् प्रविधिको प्रयोग धेरै प्रभावकारी हुनेतर्फ हाम्रो ध्यान गएको थिएन् यसका लागि अब वडाबाट हुने सहयोग म प्रतिबद्ध छु ।’

संस्थाले टेलस परियोजना लागु भएका जयपृथ्वी नगरपालिका अन्तर्गत पाण्डु माध्यामिक विद्यालय, बालविकास माध्यामिक विद्यालय सुनिपिपलचौर माध्यामिक विध्यालय र निखट्टी माध्यामिक विद्यालयमा गरी ४ वटा विद्यालयमा २१–२१ वटा कम्युटर दिने भएको छ । भवानी माध्यामिक विद्यालय र नारायण माध्यामिक विद्यालय १७ –१७ वटा, सुर्मा आधारभूत विद्यालय र शिशु आधारभूत विद्यालयमा १३–१३ वटा गरी १४४ वटा कम्प्युटर सहयोग गर्ने सामाजिक परिचालक उमेश विष्टले जानकारी दिए । 

ADVADV

सम्बन्धित खबर

Advertise