बर्दिया : बर्दियाको गेरुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । निश्चित सूचकहरू पूरा गरेको आधारमा आइतबार एक कार्यक्रमकाबीच गेरुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप पालिका हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथ पालिका स्तरिय खोप समन्वय समितिका अध्यक्ष एवम् गाउँपालिका अध्यक्ष जमान सिंह के.सी.को अध्यक्षतामा भएको घोषणा सभामा प्रमुख अतिथि जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सूर्य बहादुर विष्टले पूर्णखोप सुनिश्चितता दिगोपना गाउँपालिका घोषणा गरेका हुन् ।
घोषण पश्चात जिल्ला समन्वय समिति बर्दियाका प्रमुख विष्ट र प्रमुख जिल्ला अधिकारी रुदादेवी शर्माले संयुक्तरुपमा गाउँपालिका अध्यक्ष जमान सिंह के.सी.र उपाध्यक्ष लक्ष्मीकुमारी चौधरीलाई प्रमाणत्र हस्तान्तरण गरेका थिए ।
घोषणा सभामा जिल्ला समन्वय समिति बर्दियाका प्रमुख विष्ट, प्रमुख जिल्ला अधिकारी शर्मा, जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक प्रविण धिताल र स्वास्थ्यकार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले शुभकामना मन्तव्य राखेका थिए ।
पहिलो चरणमा पालिकाका ६ वटा वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको र हाल सोही तथ्यांक र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख नारायण भण्डारीले बताए । उनका अनुसार गाउँपालिकामा जन्मेदेखि १५ महिनाका ५ सय ७८ र १६ देखि ५९ महिनाका १ हजार ५सय ७८ जना बालबालिकाले १५ महिना भित्र पाउँनु पर्ने सबै प्रकारका खोप लगाएको तथ्यांक रहेको छ । गाउँपालिकामा ६ वटा स्वास्थ्य संस्थाले २३ वटा खोप केन्द्रबाट हरेक महिना तोकिएको मितिमा नियमित रूपमा खोप सेवा प्रदान गर्दै आएको छ ।