
रौतहट : रौतहटको सदरमुकाम गौरमा भारतीय बजारबाट तरकारी तथा फलफूल आयातमा सुरक्षाकर्मीले रोक लगाएको र सामान खोसिएको विरोधमा स्थानीय तरकारी व्यापारी तथा किसानहरू सडकमा उत्रिएका छन् । लामो समयदेखि सहज रूपमा हुँदै आएको आपूर्ति प्रणालीमा अचानक रोक लगाइएपछि जीविकोपार्जनमा संकट उत्पन्न भएको भन्दै उनीहरूले कडा विरोध प्रदर्शन गरेका छन् ।
दशकौंदेखि भारतीय बजारबाट तरकारी तथा फलफूल ल्याएर स्थानीय उपभोक्तालाई सहज मूल्यमा आपूर्ति गर्दै आएका किसान तथा व्यापारीहरू प्रशासनको यो कदमपछि आक्रोशित बनेका छन् । गौर भन्सार कार्यालयमा क्वारेन्टाइनको पर्याप्त व्यवस्था नरहेको कारण न त भन्सार काट्ने बाटो छ, न त सामान ल्याउन नै दिने दोहोरो रवैयाका कारण आफूहरू पीडित हुनुपरेको व्यापारीहरूको गुनासो छ ।
व्यापारी तथा किसानहरूको यस आन्दोलनमा ऐक्यबद्धता जनाउँदै गौर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष शिवशंकर यादवले तत्काल समस्याको समाधान नभए नगरभरिका बजार अनिश्चितकालका लागि बन्द गर्ने चेतावनी दिएका छन् । वडा अध्यक्ष यादवसहित पीडित किसान तथा व्यापारीहरूको टोलीले जिल्ला प्रशासन कार्यालयमा पुगी प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाए पनि ठोस सुनुवाइ नभएको गुनासो गरेका छन् ।
प्रमुख जिल्ला अधिकारीबाट यस विषयमा आफूले केही गर्न नसक्ने जवाफ आएपछि व्यापारीहरू थप आन्दोलित भएका छन् । माग सम्बोधन नभए अनिश्चितकालीन बजार बन्द गरी कडा संघर्षमा उत्रिने चेतावनी दिँदै वडा अध्यक्ष यादवले सरकार र सम्बन्धित निकायलाई गम्भीर बन्न माग गरेका छन् ।
यसैबीच गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले पनि व्यापारी तथा किसानहरूको यस संघर्षप्रति आफ्नो पूर्ण समर्थन रहेको स्पष्ट पारे । उनले स्थानीय तहबाट किसान र व्यापारीहरूको हकहितका लागि आवश्यक पर्ने सम्पूर्ण सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।