२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

किशोर किशोरीहरुलाई दौतरी शिक्षा

ADV
सन्तोष पौडेल
२०८१ भदौ ४ गते २१:२१
किशोर किशोरीहरुलाई दौतरी शिक्षा

बर्दिया : बर्दियाको गेरुवा गाउँपालिकाका किशोर किशोरीहरूलाई दौतरी शिक्षा तालिम प्रदान गरिएको छ । वडा नं.२ राजिपुरस्थित खैरावाङ भगवती आधारभूत विद्यालयका किशोर किशोरी तथा विद्यालयले समेटेको समुदायका नवविवाहित किशोरीलाई दौतरी शिक्षा तालिम प्रदान गरिएको हो । 

किशोरकिशोरी यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार परियोजना अन्तर्गत गेरुवा गाउँपालिकाको समन्वय,कोरिया इन्टरनेसनल को–अपरेटिभ एजेन्सी(कोइका)को आर्थिक सहयोग तथा प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारू जनसेवा केन्द्र बर्दियाको सहकार्यमा तालिमको आयोजना गरिएको हो । 

तालिमबाट यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारका सम्बन्धमा किशोर किशोरीहरू जानकार भइ  परिवार र समुदायमा यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारका कुरा राख्न र बहस चलाउन सक्षम हुने परियोजना संयोजक सुरज अर्यालले बताए । 

जसबाट यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार प्रवद्र्धन हुनुका साथै किशोर किशोरीहरू स्वस्थ जीवनशैली अपनाउन सक्षम हुने अर्यालले विश्वास व्यक्त गरे ।

शान्ति बजारस्थित एक होटलमा ५ दिनसम्म सञ्चालित तालिममा सहभागी किशोर किशोरीहरूलाई समुह छलफल, खेल, चित्र, गीत, कवितामार्फत यौन तथा प्रजनन् स्वास्थ्यको परिचय र जीवन चक, शारीरिक बनावट, गर्भावस्था र लिङ्ग निर्धारण, किशोरावस्था, शारीरिक, यौनिक र भावनात्मक परिवर्तन, महिनावारी, सोप्न दोष, हस्तमैथुन, माया, मित्रता र प्रणय सम्बन्धहरू, जीवन र अधिकार, लिङ्ग, लैङ्गिकता र लिङ्गमा आधारित हिंसा, सहमति र यौन हिंसा, सुरक्षित यौन सम्पर्क र यौन, सम्बन्ध तथा लैङ्गिक विभेदीकरण, महिनावारी र व्यवस्थापन, बालविवाह, लागूपदार्थ, यौन रोग र एचआइभि एड्स, किशोर किशोरी मैत्री सेवा, सामाजिक सञ्जाल, परिवार नियोजन तथा सहजकर्ताको भूमिका लगायतका विषय वस्तुमा सहजीकरण गरिएको थियो । तालिमको सहजीकरण अविराज चौधरी र सनिता विष्टले गरेका थिए । 

तालिम पश्चात राधाकृष्ण थारू जनसेवा केन्द्रका अध्यक्ष दिनेश प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा सहभागीहरूले किशोर किशोरीहरूको यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारका बारेमा तालिमले आफूहरुलाई धेरै कुरा सिकाएको बताउँदै प्राप्त गरेको जानकारी विद्यालय तथा समुदायमा गएर कम्तिमा पनि १० जनालाई बाँड्ने प्रतिबद्धता जनाए । 

तालिम समापन कार्यक्रममा प्रमुख अतिथि गेरुवा गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, वडा नं. २ का वडा अध्यक्ष कृष्ण थारू, वडा नं. ३ का वडा अध्यक्ष निर्मल थारू, भगवती आधारभूत विद्यालयका प्रधानाध्यायक कर्ण प्रसाद चौधरीले सहभागीहरु लाई तालिममा सिकेका कुरा व्यवहारमा लागु गर्न आग्रह गरेका थिए । तालिममा भगवती आधारभूत विद्यालयका कक्षा ६ देखि ८ सम्मका किशोर किशोरीहरूको प्रतिनिधित्व गर्दै २०जना र समुदायका ५ जना नवविवाहित किशोरीहरू गरी २५ जना सहभागी थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise