रौतहट : राजर्षी जनक विश्व विद्यालयको आंगिकको रुपमा पण्डित मंगल कुमार उपाध्याय बहुमुखी क्याम्पस गौरको एक समारोहकाबीच उद्घाटन गरिएको छ । राजर्षी जनक विश्व विद्यालयका उपकुलपति डा.अमर यादवले क्याम्पस उद्घाटन गरेका हुन् ।
उपकुलपति यादवले राजर्षी जनक विश्व विद्यालय मधेश प्रदेशमा एकमात्र संघीय विश्व विद्यालय रहेको बताउँदै आठ वटै जिल्लामा आंगिक क्याम्पस खोल्ने र देशभरी क्याम्पसलाई सम्बन्धन दिने कार्य भइ रहेको जानकारी गराएका छन् ।
उपकुलपति यादवले पण्डित मंगल कुमार बहुमुखी क्याम्पस गौरका लागि नगरपालिकाले गरेको सहकार्यका लागि धन्यवाद समेत दिएका थिए । यस क्याम्पसमा आगामी वर्षदेखि अन्य प्राविधिक शिक्षाको पढाइ थप्दै जाने उनले विश्वास व्यक्त गरे ।
सो क्याम्पसले यसै शैक्षिक सत्रमा विएससीएजी र बीबीए कोर्षमा भर्ना लिइ रहेको विश्व विद्यालयका डिन सत्यनारायण साहले बताए । गौर नगर प्रमुख शम्भु साहको अध्यक्षतामा भएको उद्घाटन समारोहमा नेकपा एसका केन्द्रीय सदस्य रेवन्त झा, राष्ट्रिय जनमुक्ति मोर्चाका केन्द्रीय सदस्य अनिल कुमार सिंह र पूर्व शिक्षक विजय किशोर झा र विन्दा साहनीसहितकाले क्याम्पस स्थापनामा गौर नगर पालिकाले देखाएको अग्रसरताको सराहना गरेका थिए ।
सो अवसरमा शिक्षा क्षेत्रमा लामो समयसम्म योगदान गर्ने व्यक्तिलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा उपप्रध्यापक डा. दिपक गुप्ता, विजय किशोर झा, विन्दा साहनी र सिताराम चनौ रहेका छन् । उनलाई दोसल्ला ओढाइ सम्मान गरिएको गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुरले बताए ।