
काठमाडौँ : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आयुर्वेद तथा वैकल्पिक चिकित्साका विभिन्न विधाले भोग्दै आएका समस्या सम्बोधन हुने गरी आयुर्वेद परिषद् ऐन संशोधनको प्रक्रिया अघि बढाउनुपर्ने बताएकी छन् ।
बुधबार मन्त्रालयमा विभिन्न चिकित्सा विधाका प्रतिनिधि तथा सरोकारवालासँग भएको छलफलमा मन्त्री मेहताले सबै विधाको पहिचान र प्रतिनिधित्व सुनिश्चित गर्ने गरी कानुनी सुधार गर्नुपर्नेमा जोड दिएकी हुन् ।
छलफलमा सहभागी आयुर्वेद, होमियोप्याथी, प्राकृतिक चिकित्सा, योग, अकुपञ्चर तथा चाइनिज मेडिसिनलगायतका प्रतिनिधिले पेसागत सुरक्षा, दर्ता, नियमन र सरकारी सेवामा समावेश हुने विषयमा देखिएका समस्या समाधान गर्न आग्रह गरेका थिए ।
सबै विधालाई एउटै परिषद्अन्तर्गत समेट्दा स्रोतसाधनको उपयोगमा मितव्ययिता कायम हुने र नियमन सहज हुने धारणा पनि छलफलमा व्यक्त भएको थियो । परिषद्को नाम, संस्थागत संरचना, नेतृत्व र निर्णय प्रक्रियामा सबै विधाको पहिचान तथा प्रतिनिधित्व कायम गर्नुपर्ने विषयसमेत उठाइएको थियो ।
आयुर्वेद परिषद्का अध्यक्ष डा. सिद्धार्थ ठाकुरले सरोकारवालाबाट प्राप्त सुझावलाई समावेश गरी ऐन संशोधनको प्रस्ताव तयार गरिने जानकारी दिएका थिए ।
छलफलमा सहभागीहरूले सबै चिकित्सा विधाको अस्तित्व र सहअस्तित्व स्वीकार गर्दै पेसागत समस्या समाधानका लागि साझा समझदारीका आधारमा अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।