२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

पत्रकार महासंघभित्र मौलाएको बेथिति

ADV
२०८१ जेठ २८ गते ०६:२५
पत्रकार महासंघभित्र मौलाएको बेथिति

–टिकाराम खड्का

नेपाल पत्रकार महासंघ निर्वाचनको अघिल्लो दिनमा पुगेर अहिले चुनाव गर्न सकिन्न है भन्ने अवस्थामा पुगेको छ । पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले एक विज्ञप्ति जारी गर्दै अमूर्त भाषाशैलीमा चुनावको मिति अनिश्चित रहेको जानकारी रात परेपछि सम्प्रेषण गरे । पत्रकारितामा ‘डेटलाइन’ र ‘डेडलाइन’ भन्ने भाषाको प्रयोग खुब हुन्छ । डेटलाइन भनेको तिथि र मिति हो भने डेडलाइन भनेको समयसीमा हो । डेटलाइन कुनैपनि न्यूज कुन मितिमा, कतिबेला भन्ने निर्धारण गर्ने विषय हो भने डेडलाइन भनेको यति समयपछि त्यसको कुनै समाचारीय महत्व हुन्न भन्ने हुन्छ । तर यसमा अर्को शब्द पनि हुन्छ, ‘स्टप द प्रेस’ । यसको अर्थ हो, जरुरी महत्वको सूचना आएमा छपाईका क्रममा रहेको प्रेस नै बन्द गरेर त्यस्तो सामाग्री समावेश गरेर फेरि नयाँ संस्करणको सूचना सर्वसाधारणमा पुर्‍याउनु । तर, पत्रकार महासंघ यी कुनैपनि स्थितिमा छैन । चुनाव रोकिएको छ त केवल टाउको गन्ने विषयमा । 

जेठ २६ गतेका लागि पूर्ववतरूपमै तय भएको महासंघको निर्वाचन त्यसको अघिल्लो रात स्थगित हुनुभन्दा विम्डवना के हुन सक्छ ? पत्रकारिता पेशा मर्यादित, जिम्मेवार र पेशागत दायित्वको सीमामा हुनुपर्छ । यसको अर्थ समाचार कक्षमा मात्रै पत्रकार जिम्मेवार, नैतिकवान्, डेटलाइन र डेडलाइनको फलोअप गर्न बाध्यकारी हुन्छन् भन्ने होइन । लोकतन्त्र र लोकतान्त्रिक मान्यतामाथि प्रश्न उठाइए त्यसको प्रतिवाद गर्ने र सरकारको विपक्षमा प्रतिपक्ष बनेर बस्ने काम पत्रकारको हो ।

प्रतिपक्षी भनेको गलतलाई उजागर गरेर जनतासमक्ष जस्ताको त्यस्तै पठाइदिने र त्यसको परिणामतर्फ ध्यान नदिनेसम्म हुनसक्छ । तर, पत्रकारको छाता संगठन भने यसको विपरित दिशा उन्मुख छ । तोकिएको समयमा निर्वाचन गराउन सक्दैन । शुद्धिकरणको नाममा सक्रिय पत्रकारिता गर्नेहरूको नाम काटिन्छ । जसको पत्रकारितासँग कुनै साइनो छैन, उनीहरू भने मतदाताको सूचीमा अटाउँछन् । यसले कस्तो पत्रकारको छाता संगठन निर्माणमा हाम्रो योगदान पुगेछ भन्ने विषयमा सोच्नुपर्ने ठाउँमा पुर्‍याएको छ । 

राजनीति क्षेत्रमा एउटा भनाई छ, ‘बहुलठ्ठी नेता, बेवकुफ मतदाता’ । यहाँ विद्रोही चेतको विकास गर्ने स्थिति नबनेसम्म तीनै बहुलठ्ठीलाई मूल नेतृत्व मान्नुपर्छ र चेतनास्तरअनुसारकै सामाजिक–राजनीतिक परिवेशको विकास हुन्छ । पत्रकार महासंघमा पनि यही प्रवृत्तिको पुनरावृत्ति हुने खतरा छ । पत्रकार मतदाताले चुनेर पठाएकाहरूले चुनावलाई आफ्नो दलको भातृ संगठनजस्तै निकम्मा बनाउने, संस्थाको गरिमा र ओजमाथि प्रश्न उठाउने काम गरिरहेका छन् । तर, खबरदारी गर्नुपर्ने पत्रकारहरू जागिर र चुल्हो बाल्ने ध्याउन्नमा बिलाएका छन् । जुन विषय आफैविरुद्धको षड्यन्त्र समान छ ।

दलीय दलदलमा महासंघ

पत्रकार महासंघ दलीय दलदलमा फसेको छ । नेपालका कुनै पनि दलहरू भातृ संगठनलाई चुस्त पार्ने र त्यस्ता संस्थाको पब्लिक अडिटमा लैजाने मामलामा उदार छैनन् । त्यस्तै दलका नेता र पार्टीका सह–उत्पादनहरूले महासंघलाई अग्रणी संस्था निर्माण गर्नेमा शंका थियो र अन्ततः त्यही भयो । राजनीतिक दल र नेताहरू जिम्मेवार र लोकतन्त्रप्रति उत्तरदायी बन्न सकेनन् भने त्यसको असर सिंगो राज्य प्रणालीमा पर्छ । त्यो स्वभाविक हो । तर, पत्रकारिता र पत्रकारको धर्म यस्तो हो, जो सही बाटोमा जाने अधिकतम प्रयास गर्ने गर्छ र सकेसम्म गल्ति गर्ने छुट पनि हुन्न । गल्ति भएपनि कारणसहित भूल सुधारका लागि तत्पर हुन्छ । यस्तै, जिम्मेवारी र गहनताले पनि हुनुपर्छ राज्यको चौथो अंग भनियो । तर, नेपालको पत्रकारिता पछिल्लो समय बग्रेल्ती गल्ति र लोकतान्त्रिक पद्धतिबाट विमुख हुन खोजिरहेको छ । जुन भावी सन्तति र नेपालको भविष्यका लागि दुखद विषय हो । 

महासंघको चुनाव प्राविधिक कारण वा मुलुकले गम्भीर संकट व्यहोर्नुपर्ने भएका कारण स्थगित भएको छैन । दलका कार्यकर्तालाई पत्रकारको रूपमा भर्ति गर्ने योजना सफल पार्ने र पार्न नसक्नेबीचको लडाईंका कारण स्थगित भएको छ । जुन महासंघको गरिमा, ओज र महत्वमाथिको यक्ष प्रश्न हो । यो सबै सक्रिय र जिम्मेवार पत्रकारहरूले मनन गर्न जरुरी छ ।

फेरिएको महासंघको चरित्र

पत्रकार महासंघ प्रेस स्वतन्त्रता, पत्रकारको हक हितको रक्षा, सुरक्षा, सम्वद्र्धन र प्रवद्र्धनका लागि हो । समग्रतामा लोकतन्त्रको पहरेदारी गर्न हो । त्यसैले त ‘वाच डग’ भनियो । तर, महासंघकै कारण पत्रकार र पत्रकारिता ‘वाच डग’बाट टाढा पुग्दै ‘ल्याप डग’ बन्न तम्सिएको छ । पत्रकारिता सुखको मित्र र विपत्तिको शत्रु हो पनि भनिन्छ । यस्तो भन्नुको मतलब पत्रकारितामा सफलताका कथाहरू बन्छन् तर गलत वा कानून विपरितका स्वार्थ प्रेरित काम गरि विपत्तिमा परेकाको विपक्षमा नै आवाज उठाइन्छ । तर, महासंघ प्राय आफ्नो भूमिका, नेतृत्व, काम कर्तव्य र अधिकारको प्रयोगमा चुक्ने र साहुजीको पक्षमा तत्काल उभिने गर्नाले पनि महासंघको अस्तित्व संकटमा छ । यसकारण पनि पत्रकार महासंघले आफ्नो भूमिका फेर्नुपर्छ । जिम्मेवार बन्नुपर्छ ।

निर्णायक हस्तक्षेपको आवश्यकता

पत्रकार महासंघमा भइरहेको दलीय राजनीतिलाई परास्त गर्न पत्रकार स्वयम्ले निर्णायक हस्तक्षेप गर्नुपर्ने आवश्यकता छ । सुधारिएको पत्रकार महासंघ निर्माणका लागि पहल थाल्न आवश्यक छ । दलका शीर्ष नेताहरूले उम्मेदवारको अन्तिम किनारा लगाउने, गठबन्धन, महागठबन्धनदेखि सबैखाले हर्कत गर्ने र त्यसलाई अनुमोदन गर्ने काम कम्तिमा सचेत र व्यवसायिक पत्रकारिता गर्नेले अब गर्नुहुन्न । पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले जारी गरेको विज्ञप्तिअनुसार निर्वाचन समिति गठन गर्न बाँकी शाखा समिति, एसोसिएट संस्था र प्रदेश समितिलाई यथाशीघ्र निर्वाचन समिति गठन गरेर निर्वाचन समितिलाई जानकारी गराउनका लागि पनि आग्रह गरिएको छ । तर, निर्वाचन किन स्थगित भयो भन्न सकिएको छैन् । यद्यपि, मतदाता नामावलीका विषयमा विवाद भएपछि विभिन्न पत्रकारका संघ संस्थाले महासंघमा तालाबन्दी गरेपछि चुनाव अनिश्चितकालसम्म स्थगित भएको छ । 

यसरी हेर्दा, पत्रकार महासंघ लुलो बनिरहेको स्थितिमा पुगेको छ । त्यसैले सक्रिय पत्रकारिता गर्नेहरूले अब बोल्न डराउनु हुन्न । पत्रकारिता पेशालाई नै खतरामा पार्ने गरि महासंघमा भइरहेका गतिविधिलाई नजिकबाट नियाल्नुपर्ने आवश्यकता छ । राजनीतिलाई पनि लोकतान्त्रिक पद्धतिमा ल्याउन पहरेदारी गर्नुपर्ने पत्रकारले अब आफ्नो छाता संगठनको बारेमा सोच्नुपर्छ । यसका लागि पत्रकार सबैले निर्णायक हस्तक्षेप गर्नुपर्नेछ ।

पात्र छनोट

पत्रकार महासंघको निर्वाचन स्थगित भएपनि एक दिन अवश्य हुन्छ । चुनाव लामो समय रोकेर रोक्न सकिन्न नै । तर, चुनाव हुने बेलासम्म स्वतन्त्र विवेकको प्रयोग भने अब पत्रकार मतदाताले गर्नुपर्नेछ । पत्रकार मतदाताले पेशागत मर्यादा कायम राख्नसक्ने र उनीहरूको प्रतिबद्धता अनुसार काम गर्न सक्नेलाई छानेर मतदान गर्नुपर्नेछ । दलगतरूपमा देखिने पात्रलाई चयन गर्नुभन्दा पहिले अब केन्द्रिकृत बहस र छलफलमा ध्यान दिनैपर्छ । दलीय दृष्टिकोणको आधारमा देखिने अनुहार र अहिले महासंघ नेतृत्वमा रहेकाहरूले के–के गरे त्यसको हिसाब मागेर मात्रै मतदान गर्ने–नगर्ने निर्णय गर्नुपर्नेछ । श्रमजीवीको पक्षमा अहोरात्र खटिने र निःस्वार्थ मैदानमा देखिने पात्रहरूलाई बिना संकोच मतदान गर्नुपर्नेछ । नभए पत्रकारिताको पेशागत मर्यादा मर्दै जाने र यसको विकल्प खोज्दै विद्रोहको झण्डा गाड्नुपर्ने स्थिति आउने निश्चित छ ।

ADVADV

सम्बन्धित खबर

Advertise