सिरहाः सिरहाको धनगढीमाई नगरपालिकाले बालबालिकामा कुपोषणको अवस्थाबारे जाँच शुरु गरेको छ । नगरपालिकाको स्वास्थ्य टोलीले छदेखि पाँच वर्ष मुनीका बालबालिकामा पोषण अवस्थाबारे अभिलेख राख्ने उद्देश्यले कुपोषण जाँच शुरु गरेको हो ।
पाँच हजार ५९ बालबालिकाको पाखुराको नाप लिँदै कुपोषण भए/नभएको जाँच शुरु गरिएको धनगढीमाई नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विशेश्वरप्रसाद यादवले जानकारी दिए । उनका अनुसार कुपोषण जाँचमा पाखुराको नाप लिन प्रयोग गरिएको मुवाक टेपमा हुने तीन वटा रङको सहायताबाट कुपोषण भए/नभएको पत्ता लाग्नेछ ।
“पाखुरा नाप्दा टेपमा भएको हरियो रङ देखिएमा बच्चालाई कुपोषण नभएको, पहेँलो रङ देखिएमा मध्यम अवस्थाको र रातो रङ देखिएमा कडा अवस्थाको कुपोषण हो”, उनले भने ।आमासमूहको सहायतामा घरघरमा गएर कुपोषण जाँच गरिने स्वास्थ्यकर्मी दिवस कार्कीले बताए ।
हालसम्म पाँच सय ५० बालबालिकाको जाँच हुँदा १४ जनामा कडा अवस्थाको र २४ जनामा मध्यम अवस्थाको कुपोषण फेला परेका छन् । मध्यम अवस्थाको कुपोषण भएका बालबालिकालाई बेल्जियम सरकारले उपलब्ध गराएको सुपर सिरयलबाट उपचार गरिनेछ ।
साथै कडा अवस्थाको कुपोषण देखा परेका बालबालिकालाई स्थानीय नैनपुर अस्पताल र विष्णुपुर अस्पतालमा उपचार गरिने स्वास्थ्य शाखा प्रमुख यादवले जानकारी दिए । रासस
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies