काठमाडौं : नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल तीन दिने भ्रमणका लागि बिहीबार नेपाल आइपुगेका छन् । उनी विशेष विमानबाट बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
ताहाचलस्थित सोल्टी होटलमा बसेका गृहमन्त्री इस्माइलले शुक्रबार बिहान १० बजे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालसँग औपचारिक छलफल गर्ने कार्यक्रम तय भएको श्रम मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए ।
मलेसियाका गृहमन्त्री सैफुद्दिन कामदार आपूर्तिको महत्वपूर्ण एजेण्डासहित मलेसियाको श्रोत मुलुकका रूपमा रहेको नेपाल आएका हुन् । नेपाल आउनु अघि उनले उच्चस्तरीय मलेसियाली अधिकारीसहित मलेसियाका विदेशी कामदार आपूर्ति गर्ने प्रमुख श्रोत मुलुक इन्डोनेशियाको भ्रमण गरी कामदार आपूर्ति सम्बन्धमा छलफल गरेका थिए ।
‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेशन प्लान’ नीति लिएको मलेसियाले सेवा, औद्योगिक उत्पादन, कृषि तथा प्लान्टेसन र निर्माण क्षेत्रमा कामदारको अभाव झेलिरहेको छ । मलेसियाले तत्काल ५ लाख विदेशी कामदार लैजाने बताएको छ । उनले नेपालबाट आपूर्ति हुन सक्ने कामदारको सीप तथा संख्याका बारेमा बुझ्ने बताइएको छ ।
मलेसियाका लागि नेपाली राजदूत डिल्लीप्रसाद पौडेलले मलेसियाले नेपाललाई पनि उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
मलेसियाका गृहमन्त्री सैफुद्दिनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि छलफल गर्ने छन् । छलफल तथा भेटवार्तामा निजी क्षेत्रलाई सहभागी गराइएको छैन । सञ्चारकर्मीलाई समाचार संकलनमा समेत अनुमति नरहेको श्रम मन्त्रालयका प्रवक्ता घिमिरेले बताए । भ्रमण सम्पन्न गरी उनी शनिबार बंगलादेश फर्कने कार्यक्रम रहेको बताइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies