काठमाडौं : नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले मानव बेचबिखन तथा ओसारपसारको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । ब्यूरोले मानव बेचबिखनको आरोपमा उदयपुरको उदयपुरगढी गाउँपालिका–२ घर भई हाल काठमाडौं टोखा नगरपलिका–३ बस्ने ४४ वर्षीय रवि थापा मगर भन्ने लाल बहादुर मगर र इलाम फाकफोकथुम गाउँपालिका–५ घर भई काठमाडौं महानगरपालिका–९ बस्ने ४१ वर्षीय डम्बर मगर भन्ने डम्बरबहादुर दर्लामीलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूले कुवेतमा रहेको रोयल रेष्टुरेन्टमा वेट्रेसको काममा मासिक १ सय २० कुवेती दिनार तलब हुने प्रलोभन दिँदै सो रेष्टुरेन्टमा राम्रो काम गरेमा पोर्चुगल र अमेरिकामा रहेको रेष्टुरेन्टमा समेत पठाइदिन्छु भनेर नेपाली युवतीलाई भिजिट भिसामा दुबई हुँदै कुवेत लगेर त्यहाँ रहेका अन्य एजेन्टहरुमार्फत १ हजार ३ सय कुवेती दिनारमा बिक्री गरेको दाबी गरेको छ ।
पीडित युवतीलाई दैनिक १८ घण्टासम्म काममा लगाई श्रम शोषण गरेको भन्ने उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरोले कुवेतस्थित नेपाली राजदूतावाससँगको समन्वयमा पीडितलाई कुवेतबाट उद्धार गरी नेपाल ल्याइएको बताएको छ ।
उद्धारपछि माघ १० मा मात्र पीडितले ब्यूरोमा जाहेरी दिएकी थिइन् । प्रहरीले कुवेतमा बस्ने परिचय सार्वजनिक नगरिएका गिरोहका अर्का एक व्यक्तिले पीडितको मोबाइल नियन्त्रणमा लिई फेसबुकलगायतका सामाजिक सञ्जालबाट विभिन्न व्यक्तिहरुसँग अश्लिल कुराकानी गर्ने र उक्त कुराकानीको रेकर्ड पीडितको श्रीमानलगायतका आफन्तलाई पठाइदिनेसहित अन्य विभिन्न धाकधम्की दिएको खुलेको बताएको छ । साथै ‘कुवेतमा आफू राजीखुसी आएको हुँ, बेचबिखनमा परेको छैन’ भन्ने भिडियो बनाई नेपाल फर्केपछि कोही कसैलाई उजुरी गर्दिनँ भन्ने व्यहोराको कागजसमेत गराएको अनुसन्धानबाट खुल्न आएको ब्यूरोले बताएको छ ।
ब्यूरोका प्रवक्ता एसपी दानबहादुर मल्लले घटनामा संलग्न फरार व्यक्तिहरुको खोजीका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies