२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

विषयगत शिक्षकको अभावमा त्रैमासिक परीक्षा नै अवरुद्ध

ADV
सन्तोष पौडेल
२०८१ भदौ ६ गते १८:३९
विषयगत शिक्षकको अभावमा त्रैमासिक परीक्षा नै अवरुद्ध

बर्दिया : विषयगत शिक्षकको अभावमा बर्दियाको राजापुर नगरपालिका वडा नं. ४ मा रहेको दशरथ चन्द माध्यमिक विद्यालयका विद्यार्थीहरूको प्रथम त्रैमासिक परीक्षा अवरुद्ध भएको छ । 

नगरपालिकाले गरेको दरबन्दी मिलानका क्रममा विद्यालयमा अध्यापन गराइरहेका शिक्षकलाई अर्को विद्यालयमा सरुवा गरेपछि सामाजिक विषयको पठन पाठन हुन नसकेकाले परिक्षा अवरुद्ध हुन पुगेको हो । 

विद्यालयमा कार्यरत सामाजिक विषयका विषय शिक्षक केही वर्षअघि निलम्बनमा परेपछि आधारभूत तहका शिक्षकबाट विद्यालयले अध्यापन गराउँदै आएको थियो । नयाँ शैक्षिक सत्र सञ्चालन भएको ४ महिना पुग्नै लाग्दा पनि सामाजिक विषयको अध्यापन हुनै सकेको छैन । 

विद्यालय प्रशासन तथा विद्यालय व्यवस्थापन समितिले पटक-पटक नगरपालिकामा गएर समस्या राख्दासमेत नगरपालिकाले चासो नदिँदा विद्यार्थीले परीक्षा दिन नपाउने वातावरण सिर्जना भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार उपाध्यायले बताए । 

राजापुर नगरपालिका समाजिक विकास समिति संयोजकसहितको टोली अनुगमनमा आएका बेला समस्या दर्साए पनि कुनै सुनुवाइ नभएको विद्यालयका प्रधानाध्यापक सरोज झाको आरोप छ । 

शिक्षा शाखा प्रमुख दलबहादुर चौधरीले भूगोल जनसंख्या, स्वास्थ्यजस्ता विषयमा स्नातकोत्तर गरेका प्रावि, निमावि र मावि तहका अन्य शिक्षकले सामाजिक विषय पढाउन सक्ने भन्दै यसको व्यवस्थापन विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समितिले गर्न सकेको भए समस्या नआउने बताए । उनले भने, ‘४ पिरिएडभन्दा बढी नपढाएका कारण समस्या आएको हो । विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, नगरपालिका बसेर निकास निकाल्छौ,’ उनले भने ।

राजापुर नगरपालिकाका सामाजिक विकास समिति संयोजक रमेश दहितले सबै विद्यालयमा विषय शिक्षक सरकारले पुर्‍याउन नसकेको भन्दै विद्यालयका शिक्षकहरू मिलेरै त्यसको व्यवस्थापन गर्नुपर्ने बताए । उनले आफू बाहिर भएकाले के कति कारणले परीक्षा स्थगित गर्नुपर्‍यो बुझेर तत्काल समस्या समाधान गर्ने प्रतिक्रिया दिए ।

शिक्षा क्षेत्रमा ठूलो लगानी खर्चेर व्यापक सुधार गरेको भन्दै नगरपालिकाका प्रतिनिधिहरूले विभिन्न मञ्चहरूमा कुर्लिए पनि विद्यालयमा यस्तो अवस्था आउनु निकै दुःखदायी भएको अभिभावकहरूले गुनासो गरेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise