२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

एनसीसी कतारको समन्वयमा ट्राफिक महानिर्देशनालयमा सचेतना कार्यक्रम सम्पन्न

ADV
तिलु शर्मा पौडेल
२०८१ भदौ ६ गते २०:५४
एनसीसी कतारको समन्वयमा ट्राफिक महानिर्देशनालयमा सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार : कतारको गृह मन्त्रालय मातहत रहेको ट्राफिक महानिर्देशनालयले नेपाली समुदायका लागि ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको समन्वयमा बुधबार साँझ उक्त कार्यक्रम सम्पन्न भएको हो । करिब एक सय जना नेपालीहरूको उपस्थिति रहेको सचेतना कार्यक्रममा प्रतिनिधिहरूले ट्राफिक नियम मात्र बुझाएनन्, उनीहरूले गाडीको कसरी सुरक्षा गर्न सकिन्छ भन्ने बारेमा समेत प्रष्ट पारे ।

प्रतिनिधिहरुले हरेक दिन गाडी स्टार्ट गरेर हिँड्नु पूर्व गाडीको पानी, तेल, टायरको हावा र गाडी मुनि केही छ कि चेक गर्नुपर्ने बताए । बाटोमा आफ्नो गतिलाई नियन्त्रण गर्दै आफू कुन लेनमा हिँड्ने र लेन फेर्दा गर्दा होस् या दायाँबायाँ मोड्दा समेत ट्राफिक साइन प्रदान गर्नुपर्ने र यदि त्यसो नगरेमा जरिवाना लाग्ने उनीहरुले जानकारी गराए । एक असल चालकले ५ देखि ८ सेकेन्डमा गाडीको सिसा हेर्नुपर्ने अधिकारीहरुको भनाइ थियो । सवारी साधन चलाउँदा फोनमा बोल्दा लाग्ने जरिवानाबाट बच्न आग्रह गर्दै उनले अधिकतम दुर्घटना हुने प्रमुख कारण फोनको प्रयोग रहेको हुँदा सचेत रहन प्रतिनिधिहरुले सुझाव दिए । कतार सरकारले कुनै पनि कामदार ट्राफिकको कारबाहीमा परोस् भनेर नचाहेको हुँदा नियमहरू पालना गर्न उनीहरुले आग्रह गरे ।

आफ्ना सवारी साधन लाइसेन्स नभएका साथीहरूलाई चलाउन दिनु पनि गैरकानूनी हुने हुँदा आगामी महिना सेप्टेम्बर १ देखि ट्राफिक जरिवाना परेका गाडीका मालिकहरू जरिवाना नतिरे कतारबाट हवाई तथा स्थल मार्गबाट बाहिरिन नसक्ने प्रतिनिधिहरुले जानकारी दिए । नो पार्किङमा पार्क गरेमा, गाडीमा फोन चलाउँदा गलत बाटोबाट ओभरटेक या क्रस गरेमा ट्राफिक जरिवानामा छुट नहुने समेत स्पष्ट पारिएको थियो । आफ्नो पार्किङमा अरूले गाडी पार्क गरेमा, गलत बाटो बाट गाडी चलाएमा फोटो खिचेर मेट्रास २ बाट रिपोर्ट गरिदिन सकिने समेत जानकारी दिइयो ।

फरक क्षमता भएका मानिसहरूको लागि छुट्टाइएको पार्किङमा समेत अरूले पार्क गरे जरिवाना लाग्ने हुँदा सचेत सुझाव दिए । ट्राफिक प्रहरी बाटोमा छैन भनेर जथाभावी सवारी चलाउँदा सीसीटीभी र हाइ डेफिनेसन क्यामेराको निगरानीमार्फत कारबाहीमा पर्ने गरेको बताए । साना सवारीभित्र रहेका सबैले बेल्ट लगाउँदा दुर्घटना हुँदा पनि बच्न सकिने र बेल्ट लगाएमा ६० प्रतिशतभन्दा बढी मृत्युदर घट्ने बताए ।

रेड लाइट बलेको बेला ट्राफिक सिग्नल क्रस गर्दा दुर्घटना भइ कसैको मृत्यु भएमा २ लाख रियाल, रातो बत्ती बलेको बेला क्रस गरेर ट्राफिक सिग्नल या पोल भाँचेमा ३ लाख रियाल जरिवाना लाग्नेछ । साथै  एम्बुलेन्सलाई छोडेको लाइनमा पछि-पछि हिँडेमा पनि जरिवाना लाग्नेछ । अधिकारीहरुले 'मिस्टेक इफ अदर ड्राइभर इज मेन रिजन अफ एक्सिडेन्ट अफ कतार' रहेको हुँदा चनाखो हुन आवश्यक रहेको बताए ।  दुर्घटनाको फोटो, भिडियो बनाएर सञ्जालमा पोस्ट गरेमा १० हजार रियाल, लाइसेन्स नभइ चलाएमा १ महिनादेखि ३ वर्षसम्म जेल र १० देखि ५० हजारसम्म जरिवाना हुने जनाइयो । गाडीभित्र चुम्मा गरेमा, मदिरा या लागुऔषध सेवन गरेमा, खाना खाएमा या खाँदै, पिउँदै सवारी साधन हाँकेमा पनि जरिवाना लाग्ने जनाइयो । अत्यधिक गर्मीका कारण गाडीमा मोबाइलको चार्जर निकालेर छोड्न प्रतिनिधिहरुले आग्रह गरे ।

कार्यक्रममा ट्राफिक हेड तथा फस्ट लेफ्टिनेन्ट मेस आल अल मारीले उपस्थितहरूको जिज्ञासाको सम्बोधन गरेका थिए भने वृत्तचित्रसहित फैसला अल हुवादिले उपस्थितलाई सहजीकरण गरेका थिए । नेपाली समुदायका तर्फबाट नेपाली नियोगका प्रथम सचिव कृष्ण पौडेल, परिषद्का कार्यवाहक अध्यक्ष कृष्ण पन्थी, एनआरएनए आईसीसीका उपाध्यक्ष राज रेग्मी, प्रोफेसर रमजान अलि मियाँलगायतको उपस्थिति रहेको थियो । नेपाली नियोगका तर्फबाट पौडेल र नेपाली समुदायका तर्फबाट पन्थीले कतार सरकार र ट्राफिक महानिर्देशनालयलाई आभार व्यक्त गरेका थिए भने पन्थीले एनसीसीले सचेतना कार्यक्रममा सिकेका कुरा कतारमा रहेका संघ संस्थामार्फत श्रमिकहरूसमक्ष पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे । 

ADVADV

सम्बन्धित खबर

Advertise