२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

इन्सेकद्वारा पाँचथर घटनाको अनुगमन, राज्यलाई जिम्मेवार बन्न आग्रह

ADV
लेखनाथ सिकारु
२०८१ भदौ २० गते १०:३७
इन्सेकद्वारा पाँचथर घटनाको अनुगमन, राज्यलाई जिम्मेवार बन्न आग्रह

पाँचथर : पाँचथरको फालेलुङ गाउँपालिका–५ डाडाँगाउँ,प्राङबुङमा भएको घटनाको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले स्थलगत अनुगमन पश्चात पत्रकार सम्मेलन गरी राज्यलाई थप जिम्मेवार बन्न आग्रह गरेको छ । इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरको टोलीले भदौ १८ र १९ गते घटनाको स्थलगत अनुगमन गरी आज (बिहिवार) फिदिममा पत्रकार सम्मेलन गरी घटनाका विषयमा राज्यलाई थप जिम्मेवार बन्न आग्रह गरेको हो । 

इन्सेकले घटनाका पीडित (घाइते) परिवार, छिमेकीहरू, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, फालेलुङ गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, चिकित्सक, स्वास्थ्यकर्मी, प्रहरी, पत्रकारलगायतसँग घटनाका विषयमा जानकारी लिएर राज्यलाई थप जिम्मेवार बन्न आग्रह गरिएको इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरका प्रलेख अधिकृत पुण्य अधिकारीले बताए ।

घाइते बालकहरूलाई स्थानीय सरकार, अस्पताल र प्रहरी प्रशासनसँग समन्वय र सहकार्य गरी उपचारका लागि कीर्तिपुरस्थित वर्न (जलन) अस्पतालमा भदौ १९ गते भर्ना गरिएको छ । 

नेपालमा २०५२ फागुन १ देखि सुरूआत भएको सशस्त्र द्वन्द्व २०६३ मङ्सिर ५ मा नेपाल सरकार र तत्कालीन विद्रोही पक्षबिच विस्तृत शान्ति सम्झौता भएको १८ वर्ष बितेपनि नागरिकको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकारको अझै सुनिश्चित हुन नसकेको प्रलेख अधिकृत अधिकारीले बताए । 

नेपाल सरकारले २०६८ जेठ ३१ गते बारूदी सुरूङ मुक्त राष्ट्र घोषणा गरेको १३ वर्ष व्यतित भइसकेको अवस्थामा पाँचथरमा हालैको घटना र यसअघिका घटनालाई राज्यले गम्भीरतापूर्वक लिन इन्सेकले आग्रह गरेको छ । 

राज्यले शान्ति सम्झौता गरेको तर, यस अवधिमा द्वन्द्व कालका अवशेषहरू बाँकी रहेकाले नागरिकको जीवनमा खतरा कायमै रहेको तर्फ राज्य जिम्मेवार हुन इन्सेकले आग्रह गरेको छ । 

द्वन्द्वसँग साइनो र सम्बन्ध नै नभएका अबोध बालबालिका मारिने तथा घाइते, अंगभंग हुने क्रम जारी छ । हालैको पाँचथर जिल्ला, फालेलुङ गाउँपालिका–५ प्राङबुङ, डाँडागाउँमा २०८१ भदौ १३ गते भएको विष्फोटको घटनाले बाल अधिकार सुनिश्चिताका लागि धेरै कार्य गर्न बाँकी रहेको इन्सेकले औँल्याएको छ । 

फालेलुङ गाउँपालिका–५ डाडाँगाउँ,प्राङबुङमा घटनामा एकै परिवारका दाजुबहिनी ११ र अढाई वर्षीया बालबालिकाको ज्यान गएको छ । ७ र ११ वर्षीय बालक  उपचारमा छन् । 

बालबालिकाको ज्यान जाने गरी भएको घटनाको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र नेपाल बाल मजदूर सरोकार केन्द्र (सिविन नेपाल) कोशी प्रदेशले स्थलगत अनुमगन गरेको थियो । 

तत्काल पीडित परिवारलाई राज्यको सम्बोधनसहित घाइतेको प्रभावकारी उपचार, मृतक परिवारलाई उचित क्षतिपूर्ति र राहत, बारूदी सुरूङ, विष्फोटक पदार्थको प्रष्ट परिभाषासहित थप नागरिकको जीवन जोखिममा पर्न नदिन विष्फोटक पदार्थको निष्क्रिय र उचित व्यवस्थापनका लागि इन्सेकले प्रेस विज्ञप्तिमार्फत सरकारसँग अपील गरेको छ । 

पाँचथरमा भएका जस्ता घटनाले शान्ति प्रक्रियामा गम्भीर ठेस पु¥याउने निष्कर्ष इन्सेकको छ । घटनाको यथाशीघ्र छानविन गरी न्यायिक दायरामा ल्याउन जोडदार माग इन्सेकले विज्ञप्तिमार्फत गरेको छ । विष्फोटक पदार्थका बारेमा सचेतना अभियान सञ्चालन गर्न इन्सेकले नेपाल सरकारलाई आग्रह गरेको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise