२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

मानव बेचबिखन तथा ओसारपसार रोक्न सबै पक्षको सहकार्य जरुरी : अभियन्ता कार्की

ADV
लेखनाथ सिकारु
२०८१ भदौ २० गते १४:१०
मानव बेचबिखन तथा ओसारपसार रोक्न सबै पक्षको सहकार्य जरुरी : अभियन्ता कार्की

काठमाडौं : सामाजिक अभियन्ता शर्मिला कार्कीले मानव बेचबिखन तथा ओसारपसार शताब्दीकै कलंक भएको बताएकी छन् । मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १८औं दिवसको सन्दर्भमा पत्रकारहरूसँगको कुराकानीमा कार्कीले यस्ता अपराध तथा कलंकको विरुद्धमा सबै पक्षको सहकार्य र समन्वय जरुरी रहेको बताइन् ।

गैरसरकारी संस्था महासंघकी पूर्वअध्यक्ष तथा जागरण नेपालकी संस्थापकसमेत रहेकी कार्कीले कानूनको कार्यान्वयन गरी यस्ता कुकार्यमा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिइन् । 

समयक्रमसँगै मानव बेचबिखन तथा ओसारपसारको प्रकृति, स्वरुप र गन्तव्यमा निरन्तर परिवर्तन भएको भन्दै उनले हिजोका दिनमा महिला तथा बालिकाहरू विशेष गरेर यौनजन्य अपराधसँग जोडिएर हुने गरेको बेचविखन तथा ओसारपसारको रुप अहिले परिवर्तन भएका कारण पुरुषहरू समेत यसको सिकार हुने गरेको बताइन् । उनले राज्यका सबै तह, स्वयं समुदाय र व्यक्ति सचेत नभएसम्म यस्ता कार्य अझ बढेर जाने भएकोले स्वयंले प्रतिबद्धता जाहेर गर्ने मात्र नभइ व्यवहारमा कार्यान्वयनमा ल्याउनुपर्ने बताइन् ।

बनेका कानूनको उचित कार्यान्वयनको अभावमा त्यस्ता अवान्छित समूह तथा व्यक्तिहरू सक्रिय भएको उनले बताइन् । शिक्षित समूह नै बढी त्यस्ता समस्याको सिकार भएको भन्दै उनले वैदेशिक रोजगारीको सन्दर्भसँगै व्यक्तिमा पलाएको बढ्दो महत्वाकांक्षाका कारण पनि यस्ता खालका अपराध मौलाएको बताइन् ।

विश्व बजारमा दलाल पुँजीवादको बढ्दो हस्तक्षेप, व्यक्तिमा देखापरेको महत्वकांक्षी भावना, विज्ञान प्रविधिको बढ्दो प्रयोग, बढ्दो उपभोक्तावादलगायतका कारण पनि अहिले शिक्षित वर्ग र समुदाय बेचविखनको चपेटामा परेको उनको तर्क छ । 

उनले मानव अधिकारको दृष्टिकोणले अपराधजन्य यस्ता क्रियाकलाप खासगरी २१औं शताब्दीकै कलंक भएकाले यसले पार्ने सामाजिक मान मर्यादाको हानी, आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिकरुपमा पर्ने हानी नोक्सानी र क्षतिप्रति सचेत हुन स्वयं र सरोकारवालाहरूको ऐक्यबद्धता जरुरी रहेको बताइन् । यस्का लागि राष्टिय तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौताको कार्यान्वयन राज्यले गर्नुपर्ने र संघ संस्थाले सरकारका ३ वटै निकायलाई सचेत गराउनुपर्ने उनको भनाइ छ ।

यस क्षेत्रमा ठूलो आर्थिक चलखेल भएकै कारण बौद्धिक र माथिल्लो तहका व्यक्ति र समूह नै यस्ता अमर्यादित र अनैतिक क्रियाकलापमा संलग्न हुने गरेको भन्दै उनले मानव बेचबिखन र ओसारपसारविरद्धको अभियानमा निरन्तर लाग्न सरकार, सामाजिक संघ संस्था र सचेत वर्गलाई आग्रहसमेत गरlन् । 

उनले गरिबी, अशिक्षा, बेरोजगारी तथा विभिन्न किसिमका हिंसा, विभेद र समाजमा विद्यमान कुरीतिजन्य अभ्यासका कारण भइरहेको यस किसिमका अपराधिक कार्य पूर्णरुपमा नियन्त्रण गर्न सरकारले निरोधात्मक तथा उपचारात्मक उपाय अवलम्बन गर्दै जानुपर्ने बताइन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise