२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

तेस्रो देशबाट ओलीको विदेश भ्रमण

ADV
भावना पाठक
२०८१ भदौ २१ गते ०६:४५
तेस्रो देशबाट ओलीको विदेश भ्रमण

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाबाट विदेश भ्रमणको सुरुवात गर्ने भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रसंघको महासभाका लागि प्रधानमन्त्रीको न्यूयोर्क भ्रमण स्वीकृत गरेको छ । यो सँगै प्रधानमन्त्री ओलीको आफ्नो विदेश भ्रमण अमेरिकाबाट सुरुवात हुने भएको छ ।

प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा.आरजु देउवा राणा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्री पत्नी राधिका शाक्य, निजी चिकित्सक लगायत रहेका छन् ।

राष्ट्रसंघको महासभा सेप्टेम्बर १० देखि २८ (२५ भदौदेखि १२ असोज) सम्म न्यूयोर्कमा हुनेछ । त्यस अन्तर्गत समिट अफ द फ्युचर २२–२३ सेप्टेम्बर (६–७ असोज) मा हुने तय भएको छ ।

समिट अफ द फ्युचरमा सम्बोधन गर्ने गरी प्रधानमन्त्री अमेरिका जान लागेका हुन् ।

यसअघि पनि भारत र चीन बाहेकको मुलुकबाट विदेश भ्रमणको सुरुवात गरेका प्रधानमन्त्री ओलीले यसपटक पनि तेस्रो मुलुकबाट विदेश भ्रमणको सुरुवात गर्न लागेका हुन् । 

ओलीले प्रधानमन्त्रीका रुपमा २०७५ असोजमा राष्ट्रसंघ महासभालाई सम्बोधन गरेका थिए । पछिल्लो पटक ३० असार २०८१ मा प्रधानमन्त्री भएका ओली विदेश भ्रमणमा गएका छैनन् । 

दोस्रो पटक प्रधानमन्त्री बन्दा ओलीले आफ्नो पहिलो विदेश भ्रमण भारतबाटै सुरुवात गरेका थिए । पहिलो पटक प्रधानमन्त्री हुँदा नाकाबन्दीका कारण भारतसँग खरो रुपमा प्रस्तुत भएका ओली दोस्रो पटक प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमणका रुपमा भारत नै गएका थिए । तेस्रो पटक भने उनले तेस्रो मुलुकबाट भ्रमणको सुरुवात गरेका हुन् । 

नेपालका प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारतबाटै हुने अभ्यास छ । तर, यदाकदा यो अभ्यास तोडिने समेत गरेको छ । 

२०६५ मा पहिलो पटक प्रधानमन्त्री हुँदा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण चीनबाट सुरु गरेका थिए । त्यति बेला उनको सो भ्रमणप्रति भारतले असन्तुष्टि जनाएको थियो । 

प्रचण्डले चीनबाट फर्केपछि एयरपोर्टमै प्रतिक्रिया दिँदै ‘ओलम्पिक खेलको समापन कार्यक्रममा सहभागी हुन चीन गएको हुनाले चीन भ्रमण अनौपचारिक भएको’ प्रतिक्रिया दिएका थिए । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise