२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

गाउँमा विकासको फड्को, तर रोकिएन शहर जानेको लर्को

ADV
सुर्य प्रसाद भुसाल
२०८१ भदौ २१ गते २०:४८
गाउँमा विकासको फड्को, तर रोकिएन शहर जानेको लर्को

सन्धिखर्क : अर्घाखाँचीको पहिलो व्यापारीक केन्द्र सन्धिखर्क साढे एक दशक अगाडिसम्म सुनसान थियो । सीमित घरहरु थिए, जनघनत्व निकै कम थियो । विकासका हिसाबले पहाडी जिल्लामा  अलि पछाडि नै थियो । तर पछिल्लो समय अर्घाखाँचीको सदरमुकाम रहेको सन्धिखर्क  बजारको स्वरुपनै बदलिँएको मात्रै होइन्, चहलपहल पनि निकै बढी छ । 

पहिलेको जस्तो शान्त र व्यवस्थित पनि छैन सन्धिखर्क बजार । कोलाहाल र जनघनत्व पनि सन्धिखर्कमा बढेको छ । बजार गर्न सामान किनबेच गर्न र घुमफिरका लागि गाउँबाट सन्धिखर्क झर्ने मानिसको लर्को लाग्थ्यो, तर अहिले त्यो पुरानो अवस्था फेरिएको यहाँका स्थानीयबासी देवीराम भुसाल बताउँछन् ।

गाउँहरुबाट  बसाइँ सराइ गर्नेको संख्या दैनिक बढ्दै गएपछि अर्घाखाँचीका धेरै गाउँ रित्तिन थाले, अचेल बजारबाट घुम्नका लागि गाउँ जानेको संख्या बढेको भूमिकास्थान  नगरपालिका वडा नम्बर १० धनचौरका तेजुराम भट्टराई बताउँछन् । गाउँमा विकास बढ्दै गएपनि गाउँलेको बजार मोहले गाउँ रित्तिन थालेको भट्टराईको दाबी छ ।

पहिले अर्घाखाँचीका सबै गाउँमा सडक पुगेका थिएनन् । खानेपानीको सुविधा थिएन । गाउँमा मान्छे भने धेरै नै हुन्थे ।

अहिले घरको आँगनमै कालोपत्रे सडक पुगेको छ । आँगन छेउमै पानीका धारा बनेका छन् । तर त्यसको उपभोग गर्ने मान्छे भने सन्धिखर्क बुटबल कपिलवस्तु दाङ गुल्मी पाल्पा लगायतका ठूला बजार पुगेर बस्न थालेपछि अर्घाखाँचीका अधिकांश विकट मानिने बस्तिहरुमा जंगली जनावरको रजाइँ छ । 

गाउँमा मनै लोभ्याउने खालका चिटिक्कका घरहरु मानिस बस्न छोडेपछि मक्किएर जीर्ण बन्दै गएको सन्धिखर्क नगरपालिका वडा नम्बर २ कुरका नारायण भुसालले बताए । सदरमुकाम नजिकका धेरै गाउँहरुमा समेत खेतीयोग्य जमिन वनमाराले ढाकिएपछि  पशुचौपाया चर्ने वन जंगल बाक्लिएर डरलाग्दो बनेको कारण गाउँमा जंगली जनावरले बढी आतंक मच्चाउन थालेको भूमिकास्थान नगरपालिका वडा नम्बर ९ का बीरबहादुर सुनार बताउँछन् ।

पहिले अर्घाखाँची सन्धिखर्क लगायत ६१ वडाका अधिकांश नागरिक पशुपालन र कृषि गरेर जीवन निर्वाह गर्थे । उनीहरुमा बजार मोह त्यत्ति थिएन । जिल्लाका सीमित ठाउँमा स–साना बजार थिए । त्यस बेला साना बजार रहेका ठाउँ अहिले शहरीकरण हुँदै गएका छन् । शालझण्डी ढोरपाटन सडक, पाल्पा अर्घाखाँची गुल्मी अर्घाखाँची सडक, प्युठान अर्घाखाँची सडकका छेउछाउ मध्यपहाडी लोकमार्गले जोडिएका ठाउँमा बजार बन्दै गएको भएपनि गाउँ रित्तिदै गएको शितगंगा नगरपालिका वडा नम्बर ५ जुकेनाका लिलामणी न्यौपानेले बताए ।

डेढ दशक पहिले जिल्ला सदरमुकाम सन्धिखर्कसहित ठाडा नरपानी सितापुर फुदबाङ विहार गच्छेबजार पकले खनदह बागिटारी बजारको रुपमा चर्चामा थिए । अहिले विभिन्न जिल्लाहरु जोड्ने ठूला सडकहरु निर्माण हुन थालेपछि ग्रामीण भेगबाट यी ठूला सडकका छेउछाउमा झरेर केही व्यापार व्यवसाय गरेर बस्न थालेपछि धेरै ठाउँ बजारको रुपमा विकास हुँदै गएको अर्घाखाँचीका समाजसेवी ऋषिराम घिमिरे बताउँछन् । 

अहिले दिनप्रति दिन गाउँ छोडेर बजार झर्नेको लर्को नै लागेको छ । गाउँको कुना कन्दरासम्म सडकले जोडिए पनि स्थानीयको बजार मोहले गाउँ उजाड बन्न थालेको शितगंगा १२ का रेसम बन्जाडेको बुझाइ छ । अहिले सालझन्डि सन्धिखर्क ढोरपाटन सडक गच्छेभालुवाङ सडक, घुम्ती पाल्पा सडक, सन्धिखर्क नुवाकोट प्युठान जाने सडक र सन्धिखर्क गोरुसिंगे मुख्य सडक अन्तर्गत पर्ने विभिन्न ठाउँहरुमा बजार विस्तार हुँदै छन् ।

यता शितगंगा नगरपालिकाको ठाडा अमराइ जुकेना जलुके लामाताल हुँदै भालुवाङ जाने सडक निर्माणकार्य द्रुर्त गतिमा अगाडि बढेपछि त्यस क्षेत्रका मुख्य केन्द्रहरुमा पनि बजार  बन्दै गएका छन् । 

गाउँलेको बजार मोहले ग्रामीण क्षेत्र सुनसान बन्दै गएको शितगंगा नगरपालिका वडा नम्बर १० का स्थानीय हिम्मत पोख्रेलले बताए  ।

आर्थिक अवस्था मजबुद भएकाहरु काठमाडौं, पोखरा, चितवन, भैरवाह र कपिलवस्तु तौलिहवा दाङ घोराही, नेपालगञ्ज पाल्पा जस्ता ठाउँहरुमा  बसाइँ सराइ गर्ने गरेको  भएपनि सामान्य अवस्थाका किसानहरु पनि शितगंगाबाट ठाडा अमराइ गोरुसिंगे पिपरा ४ नम्बर चनौटा सिवपुर इमलिया बैरिया लगायत मुख्य राजमार्गका छेउमा सरको पोख्रेलको भनाइ छ । बसाइँ सराइ धेरैले गरेपछि गाउँठाउँहरुमा बनेका लोभलाग्दो संरचना घरहरु जीर्ण बन्दै गएको पोख्रेलको भनाइ छ । पहिले निकै चहलपहल हुने गाउँ अहिले उराठलाग्दो भएको पोख्रेल बताउँछन् ।

बसाइँ सराइको मुख्य कारण रेमिटान्स भएको उनले दावी गरे । अर्घाखाँचीका ६ स्थानीय तह सन्धिखर्क नगरपालिका शितगंगा नगरपालिका भूमिकास्थान नगरपालिका मालारानी गाउँपालिका छत्रदेव गाउँपालिका पाणिनी गाउँपालिकाका विभिन्न ग्रामीण भेगबाट अधिकांश नागरिकहरु जापान, कोरिया, अष्ट्रेलिया अमेरिका, बेलायत, दुवई कतार, मलेसिया, युरोप गएका छन् । कमाएको पैसाले ठूला शहरमा सम्पत्ति जोडर उतै बसाइँसराइ गर्ने गरेका शितगंगा ४ का युवा नारायण सिंह बेल्वासे बताउँछन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise