जुम्ला : जुम्ला, गुठीचौर ४ धौलपुराकी धनलक्ष्मी देवकोटाले हरेका वर्ष चामल, चिनी, नुन लगायतका खाली बोरा संकलन गर्छिन् । ती बोराहरुमा देवकोटाले वर्षेनी मौसमी तथा बेमौसमी तरकारी लगाउने गर्छिन् ।
देवकोटाको घरको वरिपरि भेन्टा, गोलभेँडा, धनियाँ, साग लगायतका तरकारी खेतीको हरियालीले भरिएको छ । यसअघि उनले बोरामै लगाएको भेन्टा र गोलभेँडा खेतीबाट १५ हजार बराबर आर्जन गरेकी थिइन् । देवकोटाले आफ्ना उनका दुइ छोराको पढाई खर्चपनि यही तरकारी खेतीबाट धान्ने गरेकी छन् ।
उत्पादन गरेको तरकारी देवकोटाले गुठीचौर गाउँपालिकामा लगेर बेच्ने गरेको बताउँछिन् । केही वर्ष अगाडि मात्रै उनले किर्डाक नेपालमार्फत् ३ दिने कृषि सम्बन्धी तालिम लिएकी थिइन् । उनकाअनुसार इच्छा शक्ति भएु आत्मनिर्भर बन्न गाह्रो छैन । उनले मौसमी तथा बेमौसमी तरकारी उत्पादन गरेर बालबच्चाको पढाइसँगै आफ्नो घरव्यवहार चलाउँदै आएकी छन् ।
‘समयको बचत तथा आर्थिक रुपमा लाभ पनी हुन्छ, फुर्सदको समयको सदुपयोग पनी, हामी घरमा अरु खाद्यान्न वस्तु किनेर ल्याएको बोरा जथाभाबी फाल्छाँै, तरकारी उत्पादन गर्दा फोहोरको सदुपयोग पनी हुन्छ, आम्दानी पनि हुन्छ’, देवकोटाले भनिन् ।
उनलाई आफूले नपढेकै कारण अरु केही पेशा गर्न सकिँदैन भन्ने सोच गलत लाग्छ । उनलाई नयाँ प्रविधियुक्त तालिमहरु लिन पाए अझ धेरै उत्पादन गर्न सकिन्छ की भन्ने समेत लागेको छ । ‘यसअघि सबैले गर्दै आएको परम्परागत खेतीले भन्दा सिप सिकेर गरेको आधुनिक खेतीमा धेरै फरक छ’, उनले भनिन् । उनी किडार्क नेपालले संञ्चालन गरेको सिमी उत्पादन समुहमा पनि आवद्ध छिन् ।
उनलाई तरकारी खेतीबाटै आत्मनिर्भर बन्दै जाने, पैसा बचत गर्ने र बचत गर्न सकिने रहेछ भन्ने पनि लागेको छ । ‘घरपरिवारसँगै बसेर व्यावसायिक तरकारी खेती गर्दा राम्रो पनि छ, केही चुनौती पनि छ, किनकी तरकारीले भने जस्तो बजारभाउ नपाउदा र लकडाउनको समयमा तरकारी व्यवसायबाट घाटा व्यहोर्नुपर्दा दुःख लागेको थियो’, उनी भन्छिन्, ‘देवकोटाको परिवारको लागि बाँच्ने आधार भनेकै यहि कृषि पेशा हो, यसैलाई मलजल गरेर अगाडि बढ्ने धोको छ ।’
अबका दिनमा संस्थाले तरकारी व्यवसाय गर्नेहरुलाई नयाँ प्रविधियुक्त तालिम दिए आफूहरु निक्कै आभारी हुने उनको भनाइ छ ।