२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

काज र करारका डाक्टरको भरमा अर्घाखाँचीका अस्पताल

ADV
सुर्य प्रसाद भुसाल
२०८१ भदौ २८ गते २१:२९
काज र करारका डाक्टरको भरमा अर्घाखाँचीका अस्पताल

सन्धिखर्क : जिल्ला अस्पताल अर्घाखाँची अहिलेसम्म काज सरुवा तथा करारमा नियुक्त  गरिएका डाक्टरहरुको भरमा सञ्चालन भएको छ । 

५० वेडको सो अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टसहित १६ जना डाक्टरको दरबन्दी भएपनि ती दरबन्दी सबै खालि रहेको अस्पतालका सूचना अधिकारी निम रानाले जानकारी दिए । रानाका अनुसार जिल्ला अस्पतालमा अहिलेसम्म १० जना विशेषज्ञ डाक्टर, ६ जना मेडिकल अधिकृत डाक्टरको दरबन्दी भएपनि हालसम्म प्रदेश सरकारले दरबन्दी अनुसारका डाक्टरहरु नपठाउँदा अर्घाखाँचीका बिरामीहरु मर्कामा परेका छन् । 

जिल्ला अस्पताल मा मेडिकल अधिकृत ८ औं  तह ६ जनाको दरबन्दी छ, भने  १० जना विशेषज्ञ डाक्टरको दरबन्दी पुरै खालि छ । ५० वेडको अस्पतालमा  जनरल फिजिसियन डाक्टर, हाडजोर्नी रोग विशेषज्ञ, सर्जन चिरफार अपरेसन,  कन्सल्टेन्ट प्याथोलोजिष्ट डाक्टर, कन्सल्ट्रेन्ट डाक्टर, रेडियोलोजिष्ट, स्त्रीरोग विशेषज्ञ डाक्टर, बालरोग विशेषज्ञ, दन्त रोग विशेषज्ञ, मनोचिकित्सक  र   जनरल सर्जन  डाक्टरको दरबन्दी खालि रहेको अस्पतालका सूचना अधिकारी रानाले बताए । 

उनले अस्पतालमा अहिले वरिष्ठ एमडीजीपी डाक्टर जगन्नाथ तिवारीको नेतृत्वमा ७ जना डाक्टरहरु करारमा नियुक्ति गरी अस्पताल सञ्चालन भएको छ । डाक्टर तिवारी संघीय अस्पतालबाट काज सरुवामा अर्घाखाँची आएर यहाँका बिरामीको सेवा गरिरहेका छन् भने अर्का एमडीजीपी डाक्टर अशोक शाह, नेक्स साइमन प्रोजेक्टका डाक्टरले अर्घाखाँचीबासीलाई सेवा दिएका छन् । 

जिल्ला अस्पताल अर्घाखाँचीमा भवनको समस्याले गर्दा भुइँमा  राखेर बिरामीको उपचार हुने गरेको छ । अहिले बदलिँदो मौसम परिवर्तनसँगै जिल्ला अस्पताल अर्घाखाँचीमा डेंगी, स्क्रबटाइफस, ज्वरो, निमुनिया, झाडापखला लगायतका रोगका  बिरामीहरुको चाप अत्यन्तै बढेको छ ।

अस्पतालमा बिरामीको चाप बढेपछि भर्ना भएर बस्नुपर्ने बिरामीलाई वेड अभाव भएको जिल्ला अस्पताल श्रोतको भनाइ छ । 

अस्पतालमा वेड अभाव भएपछि बिरामीले निकै कष्ट सहेर पनि उपचार सेवा लिइरहेको बिरामीको भनाइ छ । भूमिकास्थान नगरपालिका वडा नम्बर ९ का भक्तबहादुर  दमाईले ज्वरो आउने र झाडा पखला लागेपछि ९ वर्षीय नाति रोशनलाई उपचारका लागि जिल्ला अस्पताल ल्याए ।

अस्पतालले चिकित्सकको निगरानीमा उपचार गर्नुपर्ने सल्लाह दिएपछि रोशनलाई अस्पताल भर्ना गरियो । तर, एकै प्रकृतिका धेरै बिरामी भएपछि वेड अभावमा उनलाई बेन्च जोडेर उपचार गरिएको हजुरबुबा भक्तबहादुरले बताए । जिल्ला अस्पताल आउने अधिकांश बिरामीले वेड अभावमा प्यासेजमा बेन्च जोडेर उपचार गर्नुपर्ने बाध्यता छ ।

जिल्ला अस्पताल अर्घाखाँची ५० वेड क्षमताको अस्पताल हो । अर्घाखाँची  र छिमेकी जिल्ला गुल्मी प्युठानको उत्तरी क्षेत्रका बिरामीले अर्घाखाँची अस्पतालबाट सेवा लिन्छन् । यहाँ ओपीडीमा ४ सय र इमरजेन्सीमा ६० बढी दैनिक बिरामी  आएर उपचार सेवा लिने गर्छन् । त्यसमध्ये अधिकांश बिरामीलाई भर्ना गरेर उपचार गर्नुपर्ने अस्पताललाई बाध्यता हुन्छ । सुविधा सम्पन्न भवन निर्माण समयमै शुरु नहुँदा अस्पतालमा भर्ना भएर उपचार गर्नुपर्ने बिरामीलाई प्यासेजमा र बेन्चमा राखेर उपचार हुने गरेको अस्पतालका प्रमुख डा.जगन्नाथ तिवारीले  बताए । अस्पतालले प्यासेजमा उपचारका लागि १५ वटा भन्दा बढी अस्थायी वेड तयार पारेको उनले बताए । यसले बिरामी र कुरुवालाई भने निकै सास्ती भएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise