–रत्नप्रसाद अनामणी
भाद्र शुक्ल अष्टमीलाई कागे अष्टमी भनिन्छ । हरेक वर्ष कागे अष्टमीमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ मा कागेश्वरी महादेव मन्दिरमा ठूलो मेला लाग्दछ । काठमाडौंको उत्तर पूर्वी भेगमा रहेको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको यस स्थान ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले पनि ज्यादै महत्वपूर्ण रहेको छ । यस स्थानलाई हिन्दू मात्र नभई बौद्ध धर्मावलम्बीको पनि महत्वपूर्ण धार्मिक स्थलको रूपमा मान्दै आएका छन् ।
कागे अष्टमीको दिनदेखि नै नेवार समुदायले लाखे पनि निकाल्छन् । विभिन्न स्थानहरूबाट झाँक्रीहरू आई यस स्थानमा नाँची आफ्नो मनोकांक्षा पूरा गर्दछन् । वास्तवमा नेवार समुदायका मानिसहरू जनै पूर्णिमाको दिनमा रसुवा जिल्लाको पवित्र तिर्थस्थल गोसाईकुण्डमा नुहाउन गई त्यहाँबाट ल्याएको जल कागे अष्टमीका दिन कागेश्वरीलाई सेचन गर्ने परम्परा रहेको छ । यसो गर्नाले आफ्नो पाप नाश हुने, सुख शान्ति प्राप्त हुने जनविश्वास रहेको छ ।
काग पन्छीहरूमा चलाख पन्छी मानिन्छ । कागलाई संस्कृतमा काक, तराईमा कौवा भनिन्छ । तिहारमा यस पन्छिलाई बडो सम्मानका गर्दै काग तिहाररूपमा मानिँदै आएको छ । हिन्दू धार्मिक मान्यताअनुसार कागलाई छुनु हुँदैन । कागले हाम्रो शरीरमा बिष्ट्यायो भने अशुभ मानिन्छ । कागले ठुग्यो भने अशुभ अथवा कागको दोष लाग्दछ भन्ने जनविश्वास रहँदै आएको छ । यी सम्पूर्ण अशुभ दोषहरू निवारण गर्न नेवार समुदाय अथवा हिन्दुहरू कागे अष्टमीका दिन कागेश्वरी मनोहरामा गई कागेश्वर महादेवलाई जल चढाई पूजाआजा गर्छन् अनिष्ट निवारणको लागि सुख शान्ति र धन सम्पतिको लागि प्रार्थना गर्दछन् । ज्योतिषशास्त्र अनुसार कागलाई शुभ र अशुभ दुबै संन्देशबाहक पन्छीको रूपमा लिइन्छ ।
कागलाई यमराजको दूतका साथै अजम्बरी पन्छी मानिन्छ । कागबारे अलग–अलग धार्मिक कुरा तथा विभिन्न प्रथा जोडिएका पाइन्छन् । कागले आफ्नो सामान्य आवाज बाहेक पनि अलग भाषामा कुरा गर्न सक्छ भन्ने मान्यता पनि छ । कागले खतराको संकेत दिन सक्छ भन्ने मान्यता धेरै पहिलेदेखि रहँदै आएको छ ।
काग धेरै पुरानो पन्छी हुनुका साथै धेरै देशहरूमा पाइन्छ । एउटा रोचक प्रसङ्ग कागले आफ्नो पूरा जीवनका लागि केवल एक मात्र जीवनसाथी बनाउने गर्छ । स्वीडेनमा कागलाई मृत व्यक्तिको आत्मा मानिन्छ । नेवारहरूले पनि मृत व्यक्तिको आत्माको रूपमा कागलाई मान्दै आएका छन् । कागलाई पर्यावरणसँग पनि जोडेर हेरेको पनि पाइन्छ । कागलाई प्रकृतिको सूचीकारको रूपमा पनि हेर्ने गरिन्छ । कागले आफ्नो वरपरको मानिसको अनुहार चिन्न सक्छ । काग धेरै समयसम्म रिस पालेर राख्न सक्ने पन्छी हो । हाम्रो समाजमा कागलाई पूर्वसूचना दिने पन्क्षीको रूपमा लिने गरेको पाइन्छ ।
कागेश्वर महादेव रहेको स्थान उच्च स्थानमा रहेको छ । उक्त पर्वतलाई सेन पर्वतको रूपमा लिने गरिएको छ । सो पर्वत चढ्नाले १० वटा गाई दान दिए जति फल प्राप्त हुन्छ भने जनविश्वास पनि रहेको छ । किम्वदन्ती अनुसार कुनै समय परापूर्वकालमा कागले गाईको दूध पहरामा रहेको शिवलिंगमा चढाउने गरेको गोठालाहरूले देखेपछि सो मूर्ति फेला परेको भनिन्छ । त्यसपछि कागेश्वर महादेव नामाकरण भई हरेक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मेला लाग्दै आएको आएको छ । स्वस्थानी कथा अनुसार सतीदेवको मुटु पतन त्यस ठाउँमा भएको र सेनपिठ उमादेवी अष्ट बक्रायोगिनी कागेश्वर महादेव उत्पत्ति भएको उल्लेख भएको पाइन्छ । उक्त स्थानमा नवग्रह आई अनेक तरहले पुजा गर्दा ईश्वरी प्रसन्न भई वर माग भन्दा नवग्रहले मानव जातिको जीवनमा हरेक प्रकारका घटनाहरूको उत्तरदायी बन्न सकौ भनी वर मागेकाले महादेवले तथास्तु भनि वरदान दिनुभएको कुरा उल्लेख छ ।
अर्को किम्बदन्तीअनुसार एकदिन महादेवलाई वन विहार गर्न मन लाग्यो । त्यो समय महादेव र पार्वती बन विहार गर्दै हुनुहुन्थ्यो । महादेवले पार्वतीलाई छली सेन पर्वतको गुफामा आई ध्यान गरी बसेको कुरा पनि पाइन्छ । त्यस बखत पार्वतीले जहाँ खोजे पनि नपाउँदा ध्यान दृष्टिले हेरी पत्ता लगाई आफू सेतो कागको रूप धारण गरी आफ्नो चुच्चोले दुनो जस्तो पातमा जल ल्याई चढाई खुशी पारेको पनि उल्लेख छ ।
हाल मन्दिर परिषदमा २२७ किलोको अष्टधातुको कागको मूर्ति बनाइएको छ । यो मूर्ति विश्वको सबैभन्दा ठुलो अष्ट धातुबाट बनेको मूर्ति हो भनी दाबी पनि गरिएको छ ।
कागेश्वरी मेलामा काठमाडौं उपत्यका लगायत रसुवा, काभ्रे रामेछाप, सिन्धुपाल्चोक लगायत देशका विभिन्न भागबाट दर्शन गर्न मानिसहरू यहाँ आउने गर्छन् । यहाँ मानिसहरू आफ्नो भाकल पूरा गर्न आउछन् ,आफ्नो जीवनमा सुख शान्ती प्राप्त होस भनी कागेश्वर महादेवलाई मनैदेखि सम्झी सेन पर्वत चढी जल चढाउन अथवा दर्शन गर्न आउँछन् ।