–ओम बस्नेत
“म भोली सिलगडी जानु पर्ने भयो, एकजना साथीले फ्लाट किन्ने अरे ! हेर्नु जाऊँ भन्दै छ हौ ।” बेलुकी श्रीमतिलाई भोलिको योजनाबारे बताएँ । मेरो योजनामा उनले खासै असहमति जनाइनन् । बरु केही थपथाप पारिन् । “ए राम्रै भयो । घरमा सब्जिहरू पनि सकिएको छ । एक/दुई वटा काम पनि छ है । फेरी त्यो लाटा जस्तो एक बोरा आलु र प्याज मात्र बोकेर आउनी होइन नी ! सबै किसिमको एक–दुई केजी एक–दुई केजी हरियो सागपात, टमाटर इत्यादि मिलाएर ल्याउँनु ।”
काम थपिन् उनले । “हुन्छ” भने मैंले पनि ।
तर, फेरि थप्दै गईन् “साँची त्यो बिधान मार्केटबाट मिस्चर पनि बनाएर ल्याउनु है । कुन्नी के भाको घुम्छ मात्र केही पिस्दैन ।”
“हुन्छ” थपेँ मैंले ।
तर, उनले भने अरु काम पनि सम्झिँदै गइन् । “ए साँची अस्ति हामीले भेनस मोडमुनि होलसेल मार्केटबाट रेडीमेड ब्लाउज ल्याको थियौं नी, एउटा ब्लाउज अलिक टाइट भयो की त्यही कलरको तर, एक साइज ठुलो साटेर ल्याउनु है ।”
“हुन्छ” फेरि दोहोर्याएँ ।
अझ आउँदै थियो कामहरू तर, मलाई निन्द्राले च्यापी सकेको थियो ।
“सुत्नु भयो की क्या हो ?”, उनले कुराहरु बाँकी रहेको जनाउसहित मलाई भनिन् ।
“सुतेको छुइन” बाध्यताबस भने । तर, मेरो बोली लरबरेको छ ।
“ए अर्को कुरा एउटा राम्रो खाले सनस्क्रीम र एन्टी एजिंग क्रीम होंगकोंग मार्केटबाट ल्याइदिनुस है ।”
“ल ल” भने ।
सुतेको नाटक गर्दा गर्दै, एकैछिनमा साँचै निदाइ हालेछु ।
बिहान साथीको फोन आयो ।
“मेरोमा पैसा कम्ती छ, म जाँन्न साथी” भने ।
“सपिङ्ग गर्न थोडी गएको हो ? मेरो काम त्यस्तै अप्ठ्यारो छ र पो भनेको । फेरी तँ निक्कै बाठ्ठे हूँ भन्छस् । जानु र आउनुको साथी त जत्ति पाउँछु नी । तेरो जरूरी परेर पो भनेको त । छिट्टो रोडमा आइज म पर्खिराको छु” उसले कर गरेरै भन्यो ।
धन्न चिया चै पिउनु पाएँ । श्रीमतिले फेरी डिमान्डहरू नथपुन भनेर हिँड्ने तरखर गरेँ । नेटको झोलामा मिक्चर अघि रेडी राखेको रहेछ । भित्र ब्लाउज होला एउटा कागजमा बेरेको ।
“मैले बिर्सेको कुराहरू वाट्स एप गरेको छु है ।” उफ यो मोबाइल चाहिँ कुनले आविष्कार गरेर मरेछ भन्ने सोचेँ मनमनमा ।
हिँड्ने बितिक्कै एउटा कल आइहाल्यो । हेरेको आमाले गर्नु भएछ ।
“ए .. आमा म त सिलगडी पो जाँदैछु त ।”
श्रीमतिले आमालाई खबर गरिछन् क्यार !
“त्यही सुनेर त फोन गरेको, अस्ति तैले ल्याइदेको हड्डी दुख्दा खाने आयुर्वेदिक दवाई सक्यो है । त्यो पाँच–छह महिना पुग्ने गÞरी ल्याइदे ।”
“ल ल हुन्छ” भने ।
अर्को फोन आयो हेरेको काँन्छो भाई रहेछ ।
“दाजु सिलगडी जानुभाको अरे ?”
“हो” भने ।
“ए त्यसो भए सेवोक रोडको होन्डाको शोरूममा मेरो नयाँ बाइकको कागजपत्र रेडी छ अरे त्यो ल्याइदिनुस है ।”
“ए.. ल ल” भने ।
किन हो कुन्नी हामी पहाडवासीहरू सानोभन्दा सानो चीजदेखि लिएर ठुलोभन्दा ठुलो सामान किन्नलाई सिलगडी पुग्नै पर्ने हुन्छ । किन यसरी भरपर्नु परेको हो, यसको जवाफ खोजी गर्नुतिर नगएर जसरी चल्दैछ त्यो कुरा मात्र उतारेको हो मैले ।
नौं बजी सिलगडी त पुगियो तर, सिलगडी उठेकै रहेनछ । बेलुकी ढिलो सुत्छ ।
साथीले उसले हेरेको फ्लाट देखाउन लग्यो, सालुगडीभित्रको एउटा लथालिङ्ग अपार्टमेन्टमा । पहेलो हेल्मेट लाउनु दिया,े सेल्स मैनेजरले । लिफ्ट जडान गर्न बाँकी नै रहेको २० तले भवनमा तल र माथि गरेकोले राम्रै कसरत भयो । मलाई सोध्यो साथीले “कस्तो लाग्यो ?” भनेर । मलाई दिक्क लागी सकेको थियो र भने, “अन्त फिनिसिङ्ग भएको अरु कुनै फ्लैट छैन र यत्रो अपार्टमेन्टको खानीमा ?“”
उसले भन्यो, “हो त हौ साँच्ची जाँउ न अर्को ठाउँ ।”
अर्को ठाउँ गयौँ । फेरी अर्को हेरेउ । हेर्दा हेर्दै तीन बज्यो । खाना खायौं । मेरो काम शुरू गरेकै छैन । फ्लैटको काम पनि थातीमैं रह्यो ।
त्यही दिन फर्किनु पर्ने थियो । सास नफेरी चक्कर लगायौं । आफ्नो गाडी एक ठाउँ पार्क गरेर घरी अटो, घरी रिक्सा, घरी मैजिक, घरी पैदल गर्दै वाट्सऐपमा र दिमागमा भए जति काम गर्यौं । तर पनि जम्मै काम सकिएन । साथीले बिहान त सपिङ्ग गर्न गएको होइन भनेर फुर्ती लगाउँदै थियो तर, दिउँसो भाउजुको फोन आएदेखि उसको पसिना छुटेको छ । उसको सामानले गाडी भरियो मेरो सामान हाल्ने ठाउँ छैन ।
सबै पारा मिलाऊँदा पनि खाश चीज छोडिएछ । ल्याउन् सकिन मैसेजमा लेखेको थियो । त्यतिकै घर आएँ तर, तीन दिनसम्म घरमा बोलचाल हरायो । त्यो चीज के थियो म बताउँदिन । कतिपय नबताउँदा नै रमाइलो हुन्छ ।