नेपालमा टेलरिङ व्यवसायबाट ७ लाख प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा रोजगारी सृजना गरेको छ । विगतमा बालिघरे प्रथाबाट सुरु भएको टेलरिङ क्षेत्र अहिले व्यवसायी हुँदै फेसन डिजाइनको रुपमा काम गरिरहेका छन् । तर नेपालमा रेडिमेड लत्ता–कपडाको आयातले टेलरिङ क्षेत्रमा असर गरेको छ । नेपालमा आयात हुने रेडिमेट कपडा र सिलाई हुने कपडाको भन्सार मुल्य उस्तै हुँदा नेपालको टेलरिङ व्यवसाय आत्मनिर्भर बन्न सकेको छैन । प्रस्तुत छ, टेलरिङ व्यवसायलाई थप प्रतिस्पर्धी बनाउन के गर्नुपर्छ भन्ने सन्दर्भमा नेपाल टेलरिङ व्यवसायी महासंघका अध्यक्ष तथा ४५ वर्षदेखि टेलरिङ व्यवसाय गर्दै आएका मेरो टेलरका संञ्चालक सदिश श्रेष्ठसँग मध्यान्हका छबि सापकोटाले गरेको कुराकानी ।
नेपालको टेलरिङ व्यवसाय कसरी चलिरहेको छ ?
नेपालको टेलरिङ व्यवसायमा पनि अरु क्षेत्रमा जस्तै विगतमा आर्थिक मन्दीका कारण समस्या देखिएको थियो । तर, पछिल्लो समय टेलरिङ क्षेत्र तंग्रिदै गएको छ । विवाह, व्रतबन्ध, पार्टी तथा भोजका कार्यक्रममा टेलरिङबाट सिलाईका कपडा लगाउने प्रचलन बढेको छ । त्यसले टेलरिङ व्यवसायलाई बचाएर राखेको छ । अहिले देशबाट ठूलो संख्यामा युवा जनशक्तिको विदेश पलायनले टेलरिङ व्यापार भने बढ्न सकेको छैन । अर्काे कुरा टेलरिङको भन्दा राम्रो तयारी कपडा बजारमा पाइने भएकाले पनि प्रतिस्पर्धाको अवस्था बढ्दै गएको छ ।
उपभोक्ताहरुलाई तयारी भन्दा टेलरिङको कपडा महँगो पर्ने गुनासो पाइन्छ, यस्तो हुनुको कारण के हो ?
तयारी र थान कपडाको आयातमा भन्सारदर उस्तै छ । त्यसैले थान कपडा ल्याएर सिलाउँदा केही महँगो पर्छ । हामीले तयारी कपडामा भन्दा काँँचो कपडामा भन्सारको दर कम गर्नुपर्छ भनेर सरकारसँग भनिरहेका छौं । अर्काे कुरा नेपाल भारत र चीनको ठूला देशको बिचमा छौं । चीन र भारतबाट युरोप अमेरिका जस्तो देशमा निर्यात गर्न राखेको सबै कपडाजन्य वस्तुहरु निर्यात हुँदैन । क्वालिटी कन्ट्रोल या समयमा दिन नसक्दा सिपमेन्ट हुँदैन । ती कपडाहरु नेपाल जस्तो तेस्रो मुलुकमा सस्तो मुल्यमा लिलाम जस्तै गरेर आउने गरेका छन् । त्यसैले पनि रेडिमेड हाम्रो भन्दा सस्तो हुन जाने गरेको छ । त्यसैले तयारी कपडा किन्ने नागरिक ठगिइरहेका छन् तर, यो विषयमा कसैलाई केही चासो भएको भने पाइँदैन ।
तयारी कपडामा आकर्षित भइरहेका ग्राहकहरुलाई टेलरिङमा सिफ्ट गर्नका लागि के गर्नुपर्छ ?
यसका लागि राज्यको नीति महत्वपूर्ण हुन्छ । सरकारले नेपालमा नै सिलाई गरेको कपडालाई प्रोत्साहन गर्न नीति बनाउने हो भने टेलरिङ क्षेत्रले नेपालबाट निर्यात गर्ने क्षमता समेत राख्छ । नेपालमा सस्तो मूल्यमा आएको तयारी कपडाको कारणले टेलरिङ व्यवसाय माथि उठ्न सकेको छैन । चार्डपर्वमा सिलाएको कपडा भन्दा तयारी कपडा किन्ने प्रचलन बढी छ । तयारी भनेको युज एण्ड थ्रो जस्तै हो, केही समय प्रयोग गर्ने र त्यसपछि फाल्दिने हो । अर्काे कुरा तयारी कपडा छान्न पाइँदैन तर, टेलरिङमा भने व्यक्तिले कपडा छामेर, हेरेर, कपडाको गुणस्तर मन मराएर र सबै कुरा चित्त बुझाएर किन्न सक्छ । तर, आयातित तयारी कपडामा भने जवाफदेहिता हुँदैन । किनेपछि कलर गयो, भुवा आयो भनेपनि जिम्मेवारी लिने व्यवस्था हुँदैन । उपभोक्ता ठगिनुको विकल्प हुँदैन । तर, जुनसुकै टेलरमा गए पनि कलर गयो, भुवा आयो हाम्रो ग्राहकप्रति जवाफदेहिता हुन्छौं । रिप्लेस गर्ने नयाँ बनाउने सम्म जिम्मेवारी हुन्छ । त्यसैले पछिल्लो समय टेलरिङको कपडाप्रति आम ग्राहकको विश्वास बढ्दो छ ।
टेलरिङ व्यवसायलाई प्रर्वद्धन गर्नका लागि के गर्नुपर्छ ?
सिलाई सिकाउने भनेर स्थानीय तहदेखि केन्द्र सरकारले समेत लगानी गरेको देखिन्छ । बजेटमा समेत व्यवस्था गरिएको छ । सिलाई तालिम, सिटीईभिटी, तालिम धेरै ठूलो धनराशी खर्च गरेको छ । तर, यो क्षेत्रकै विकासको लागि तालिम लक्षित भएको देखिँदैन । यो क्षेत्रमा बालिखरे प्रथादेखि पुर्खौली पेसा अगाल्दै आउनुभएकोहरुलाई विकास गर्नका लागि उनीहरुलाई फेसन डिजाइनको तालिम, विश्व बजारमा सिप सिक्नको लागि अनलाइन बजार जस्तो क्षेत्रको ज्ञान दिन सकिरहेको अवस्था छैन । हामीले टेलरिङ व्यवसायलाई आत्मनिर्भरको बाटोमा लैजाने हो भने बाहिरबाट आएको तयारी कपडा भन्दा नेपालमै टेलरिङ हुने कपडाको प्रयोग बढाउने र टेलरिङ कपडामा लाग्ने भन्सार छुट दिने व्यवस्था गर्न आवश्यक छ ।
नेपालको टेलरिङ क्षेत्रले फेसन डिजाइन क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्छ ?
अहिलेको जमनामा टेलरिङ हिजो जस्तो सामान्य छैन । टेलरिङ व्यवसाय सर्ट, पाइन्ट, र कोटमा मात्र सिमित छैन । पहिला जसरी सामान्य कपडा सिलाउने भन्ने मान्यता थियो तर, अहिले ग्राहकको रोजाइअनुसार हुनुपर्छ । विदेशमा भित्रिएको फेसन डिजाइन नेपालमा तत्काल नै आउने गरेको छ । टेलरमा पनि अहिले इन्टरनेटमा भेटेर यस्तो डिजाइन चाहियो भनेर आउनेको संख्या धेरै छ । त्यहिअनुसारको बनाएर दिन सक्ने टेलरिङ व्यवसायी छन्् । अहिले नेपालको टेलरिङ पनि विश्व जगतमा जस्तो फेसन चलेको छ त्यहि अनुरुप लिनसक्ने सक्षम समेत भएका छन् ।
राज्यले समयसापेक्ष तलिम नदिएपनि हामी टेलरिङ व्यवसायी महासंघ संस्थाले फेसन डिजाइन तालिम सञ्चालन गर्ने गरिरहेका छौं । फेसन डिजाइन तालिम, कोट कटिङ, तालिम लेडिज फेसन डिजाइन लगायतका समयसान्दर्भिक तालिम दिएर अपडेट गर्ने काम गरेका छौं । नेपालको टेलरिङ क्षेत्र संसारको जुनसुकै देशको नागरिक आएर लुगा सिलाएपनि उनले विश्वकै उत्कृष्ट सिलाई पाउन सक्छ । नेपालबाट अहिले विश्वका धेरै देशहरुमा नेपाली डिजाइनका कपडा बिक्री भएका छन् । अहिले अनलाइनबाट नाप लिएर बिक्री समेत गरिरहेको अवस्था छ । अझ यसलाई सरकारले समेत साथ दिने हो भने विश्वभरी हाम्रो पोसाक पुग्न सक्छ । विदेशमा रहेका लाखौं नेपालीमा समेत हाम्रो उपस्थिति बन्न सक्छ ।