जुम्ला : स्वास्थ्य सेवा प्रवाहमा जुम्लाको सिँजा गाउँपालिका प्रथम भएको छ । जिल्ला जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले गरेको समीक्षा कार्यक्रममा सिँजा गाउँपालिका स्वास्थ्य शाखा प्रथम हुन सफल भएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालयको मूल्यांकन प्रतिवेदनको आधारमा सिँजा गाउँपालिका प्रथम भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाका अनुसार समीक्षा कार्यक्रममा ३२ वटा सूचकहरुको आधारमा सिँजा प्रथम भएको छ । उनका अनुसार सबै स्थानीय तहका स्वास्थ्य शाखाले राम्रो काम गरेका छन्, तर थोरै मूल्यांकनको आधारमा प्रोत्साहन गर्ने उद्देश्यले यो काम भइरहेको छ ।
उनका अनुसार विभिन्न ३२ सूचकको समग्र मूल्यांकनमा सिँजा ८७ प्रतिशत, चन्दननाथ नगरपालिका ८४ प्रतिशत, कनकासुन्दरी गाउँपालिका ८१ प्रतिशत, हिमा गाउँपालिका ७६.५ प्रतिशत, तातोपानी गाउँपालिका ७०.५ प्रतिशत रहेको छ ।
जनस्वास्थ्य कार्यालयका अनुसार आइतबार र सोमबार दुई दिन कार्यालयको वार्षिक प्रगतिसहितको समीक्षा र कार्ययोजना तयार पारिएको छ । पहिलो दिन स्थानीय स्वास्थ्य शाखा प्रमुखहरुले आ–आफ्नो स्थानीय तहमा भएका कामको प्रस्तुतीकरण गरेका छन् ।
समीक्षा कार्यक्रम सम्बन्धी पहिलो दिन प्रस्तुतीकरण सम्बन्धी समस्या चुनौति र समाधानका उपायमा छलफल भएको थियो । यसैगरी पालिकाहरुको गरिरहेका कामको मूल्यांकनमा ३२ वटा सूचकको आधारमा मूल्यांकन तथा आगामी वर्षको कार्ययोजना समेत बनाइएको छ । स्वास्थ्य सेवालाई थप राम्रो गर्ने उद्देश्यका साथ क्रियाशिल रुपमा काम गर्ने प्रयास समेत भएको हो । सिँजा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख ललितबहादुर रोकायाले स्वास्थ्य सेवा प्रवाह, स्वास्थ्य कार्यक्रमहरु सम्पादन तथा व्यवस्थापनमा प्रथम भइ प्रशंसा पत्र समेत प्राप्त भएको बताए ।