२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

प्रादेशिक अस्पताल गौरमा अख्तियारको छापा

ADV
प्रेमचन्द्र झा
२०८१ भदौ ३१ गते २१:१८
प्रादेशिक अस्पताल गौरमा अख्तियारको छापा

रौतहट : प्रादेशिक अस्पताल गौरमा सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ । सो अस्पतालले खरिद गरेका औषधि तथा उपकरणहरूको परीक्षण गर्न मुचुल्का तयार पारेर लगेका छन् । 

अख्तियारको टोलीले अस्पतालमा रहेका सामग्री तथा औषधिहरू खरिद विवरणसँग मेल खान नसकेपछि अनुसन्धान अघि बढाएको हो ।  टोली बा.एडी ९०६४ नम्बरको गाडीमा आएको थियो । 

जब सञ्चारकर्मीहरूले अख्तियारको टोलीसँग कुराकानी गर्न खोजे उनीहरूले जानकारी दिन अस्वीकार गरेका थिए । समाचार स्रोतका अनुसार अख्तियारको टोलीले आवश्यक परिमाणका औषधि र उपकरण फेला नपरेपछि सोही अनुसार रिपोर्ट तयार गरी फर्किएका थिए । 

यस क्रममा स्टोर किपर राम अश्रेय मुखियासँग केही बेर सोधपुछ समेत गरेका थिए । अस्पतालमा व्यापक भ्रष्टाचार र अनियमितताको आरोप स्थानीयस्तरबाट लागिरहेको छ । 

अस्पताल विकास समितिका अध्यक्ष अनवर हासमी र मेडिकल सुपरिटेन्डेन्ट मुरारी ठाकुरले  गोप्य टेन्डरमार्फत औषधि उपकरण खरिद गरी व्यापक आर्थिक अनियमितता गरेको आरोप लागेको छ ।  

सो अस्पतालमा  टाइल्स र मार्बल जडान,गाडी मर्मत, टिकट काउन्टरको रकम हिनामिना, भवन रङरोगन, इन्धन खर्च, न्यानो झोला खरिद, करार कर्मचारी भर्ना लगायतका प्रक्रियामा अनियमितता भएको  आरोप छ।

स्रोतहरूका अनुसार, निजी क्लिनिक र ल्याबसँग साठगाँठ गरी लाखौं रुपैयाँको भ्रष्टाचार भएको छ । 

यस्ता क्रियाकलापका कारण अस्पतालका चिकित्सकहरू तनावमा काम गर्न बाध्य भएका छन् । उनीहरूलाई अध्यक्ष हासमीले सरुवा गर्ने धम्की दिँदै दबाबमा राख्ने गरेको डा.अमित चौधरीले बताए । स्थानीय बासिन्दाहरूले यस विषयमा बारम्बार सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएपनि ठोस कारबाही नभएको गुनासो गरेका छन् ।  यस विषयमा अध्यक्ष हासमिसँग कुरा गर्दा अनियमितता नभएको दाबी गरे । 

यस घटनाले अस्पतालको साखमा ठूलो धक्का दिएको छ । अबको अनुसन्धानले भ्रष्टाचारमा संलग्न दोषीहरूलाई कारबाही गर्ने अपेक्षा गरिएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise